धरान: साउनको पहिलो सोमबार आज धरान १४ स्थित पिण्डेश्वर महादेवको मन्दिरमा बोलबम भक्तजनहरुको घुँइचो लागेको छ ।
पिण्डेश्वर बाबाधाम समितिका अनुसार पहिलो सोमबार भएपनि आइतबार रातीदेखि नै भक्तजनहरु आउन थालेका थिए । जल चढाउने भक्तजनहरुको अत्यधिक भिडको कारण बिहान करिब २ बजेतिर नै मन्दिरको ढोका खोलिएको बाबाधाम समितिका अध्यक्ष विकास वनेपालीले जानकारी दिए । उनका अनुसार आज ५० हजार हाराहारीमा भक्तजनहरुले जल चढाउने अनुमान गरिएको छ ।
पहिलो सोमबार नै भक्तजनहरुको घुँइचो भएपछि बाँकी रहेको सोमबार झनै बढ्ने अपेक्षा गरिएको छ । पिण्डेश्वरमा जल चढाउन धरानका स्थानीय भक्तजन र बाहिरका विभिन्न जिल्लाहरुबाट बोलबम तीर्थयात्रीहरु आएका छन् । पहिलो दिन अर्चना बाबाका भक्तजनहरु पनि ठुलो संख्यामा आएका थिए ।
भिडियो:
भक्तजनहरुलाई धरानका विभिन्न संघसंस्थाहरुले निःशुल्क पानी, स्वास्थ्य शिविर, फलफुल वितरण र खाजा पनि वितरण गरिरहेका छन् । यस्तै, मन्दिर परिसरमा सरसफाई पनि गरिरहेका छन् । वडा नं १४ का अध्यक्ष कृष्णप्रसाद भट्टराईले भक्तजनहरुलाई सहजरुपमा जल चढाउन पाउने गरि व्यवस्थित गर्न निरन्तर पहल गरिरहेको बताए । आउदो सोमबार अझ व्यवस्थित हुने उनले बताए ।
हिन्दु धर्मावलम्बीहरुका आराध्य देव शिवको प्रिय महिना, बार साउन र सोमबारलाई मानिन्छ । साउनमा पवित्र जल चढाउदा मनोकांक्षा पुरा हुने विश्वास छ । विगतमा आइतबार साँझ चतरा जाने र कोशीको पवित्र जल लिएर मध्यराती धरान पदमार्गबाट आउने बोलबम तीर्थयात्रीहरुको घुँइचो हुन्थ्यो । अचेल भने तीर्थयात्रीहरु सवारीसाधनमा नै आउने गरेका छन् ।