धरान: सुनसरी र धनकुटाको सिमानामा पर्ने सागुरीगढी गाउँपालिकामा अवस्थित भेडेटार कोशी प्रदेशकै चर्चित पर्यटकीय गन्तव्य हो । यहाँको मौषममा रमाउन आन्तरिक र बाह्य पर्यटकहरु आकर्षित हुन्छन् ।

यही भेडेटारमा पर्यटकहरुको लागि शुक्रबारदेखि अर्को आकर्षण थपिएको छ, भेडेटार स्काई वाक परियोजना । उक्त स्काई वाकको शुक्रबार एक भव्य समारोहबीच प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, धरानका मेयर हर्क साम्पाङ र साँगुरीगढीका अध्यक्ष जितेन्द्र रुम्दालीले रिबन काटेर उद्घाटन गरेका थिए ।

यो परियोजना वन्डर्स अम्युजमन्ट पार्कस् एण्ड अट्राक्सन्स प्रालिको लगानीमा निर्माण भएको हो । प्रदेश सरकारको प्रदेश लगानी प्राधिकरण, धरान उपमहानगरपालिका र साँगुरीगढी गाउँपालिकाबीच समन्वयमा स्काई वाक बनेको हो । यसको करबाट हुने आम्दानी प्रदेश सरकार, धरान र साँगुरीगढीबीच बाँडफाड हुने सम्झौता पनि छ ।

sky walk3

उद्घाटन पश्चात मुख्यमन्त्री कार्कीले उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको महशुस गरेको बताए । उनले प्रदेशकै र नेपालकै गहना भएको प्रतिक्रिया दिदै सहिरुपमा सदुपयोग गर्दा पर्यटन क्षेत्रलाई माथि उठाउन कोसेढुंगा हुने बताए । ‘उत्कृष्ट छ, सुरक्षित छ, सबै आउनुहोला, घुम्नु होला,’मुख्यमन्त्री कार्कीले भने ।

मेयर साम्पाङले हेर्दा आकर्षक र वाक गर्दाको अनुभूति पनि युनिक लागेको प्रतिक्रिया दिए । 'मेरो पहिलो पटक अनुभव हो, मौषम र लोकेसन पनि राम्रो छ । नेपालकै सबैभन्दा राम्रो ठाउँमा बनेको छ भन्ने लाग्यो,' उनले भने । 

sky walk1

यो स्काई वाक टावर करिब २० करोड लगानीमा निर्माण भएको हो । स्काई वाक टावरले भेडेटार र आसपासमा उच्चसंख्यामा वृद्धि हुने अपेक्षा गरिएको कार्यकारी निर्देशक सञ्जिव रोक्काले जानकारी दिए । ‘वंगलादेश र भारतबाट पनि पर्यटकहरु थप भित्रिने अपेक्षा छ, अहिले दिनमा ५ सय जना मात्र चढाउछौं । एक पटकमा २५ जना चढाउछौं, र १५/१५ मिनेट समय दिन्छौं,’ उनले भने,‘बिहान ७ देखि बेलुकी ७ बजेसम्म खुल्छ । ३ महिनाभित्र पर्यटक संख्या हेरेर थप क्षमता बढाउछौं ।’

भिडियो:

भिडियो: