धरान: धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्क साम्पाङले एकल निर्णय गरेर खानेपानीको महशुल वृद्धि गरेको भन्दै १० राजनीतिक दलहरु आन्दोलनमा छन् । तिनै दलहरुले बिहिबार सुनसरी उद्योग वाणिज्य संघको हलमा सरोकारवाला संघसंस्थाहरुसँग अन्र्तक्रिया गर्यो ।

उक्त कार्यक्रमका वक्ताहरुले मेयर साम्पाङले बोर्डको बैठक पनि नबसी स्वेच्छाचारीढंगले अत्यधिक महशुल वृद्धि गरेर जनतालाई मारमा पारेकोले आन्दोलनमा उत्रिनुपर्ने बताए । जनतालाई निःशुल्क पानी खुवाउछु भनेर अभियान चलाएका व्यक्ति मेयर बनेपछि शुल्क घटाउनुको साटो १९ सय प्रतिशतसम्म शुल्कमा वृद्धि गरेको भन्दै आन्दोलन आवश्यक भएको जिकिर पनि गरेका थिए । 

कार्यक्रममा अधिकांश वक्ताहरु राजनीतिक दलका नेताहरु थिए भने एक जना पत्रकार र केही व्यापारीहरुले पनि बोलेका थिए । उनीहरुले मेयर साम्पाङले वृद्धि गरेको खानेपानीको महशुल पुरानै कायम नगरेसम्म आन्दोलन गर्नुपर्ने बताए । साथै, पानीको महशुल मात्र बढेको नभै कार्यपालिका र नगरसभाबाट सम्पत्ति कर, व्यवसाय करलगायत वृद्धि भएकोले १० दलले त्यसविरुद्ध पनि बोल्नुपर्ने बताएका थिए ।

आन्दोलन नेतृत्व गरेका कांग्रेस सभापति श्याम पोख्रेलले महशुल वृद्धि हुनुअघिको कायम नभएसम्म निरन्तर आन्दोलन जारी रहने बताए । उनले शुक्रबार सबै वडा कार्यालयहरुमा ध्यानाकर्षण पत्र बुझाउने र साउन २० गते धर्ना कार्यक्रम रहेको पनि बताए । त्यसपछि थप आन्दोलनको कार्यक्रम तय हुने पनि उनले बताए ।

कार्यक्रममा पुर्वमेयर मनोज मेन्याङ्बो, निवर्तमान मेयर तिलक राई, पुर्वप्रदेश सांसद उमिता बराइली, सुनसरी उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष गिरीधारी सापकोटा, संघका पुर्वअध्यक्ष पवन अग्रवाल, होटल एशोसिएशनका अध्यक्ष सरोज भट्टराई, पत्रकार महेश श्रेष्ठ, एमाले नेता नारायण सुवेदी, कांग्रेस नेतृ निर्मला नेपाललगायतले आआफ्नो धारणा राखेका थिए ।

'श्रमदानको नाममा भ्रष्टचार'

manoj2 copy

कार्यक्रममा पुर्वमेयर मनोजकुमार मेन्याङ्बोले मेयर साम्पाङ स्वेच्छाचारीढंगले चलिरहेकोले अब सबैले आवाज उठाउनुपर्ने बताए । मेयरले एकल निर्णय गरेर जनताको ढाड सेक्ने गरि महशुल वृद्धि गर्दा पनि उनका समर्थकहरु नबोल्नुमा महशुल उठाउन बाँकी रहेका ६ हजार ग्राहकहरु भएर हो कि भन्ने गम्भीर आशंका पनि गरे । 

‘६ हजार ग्राहकहरुको महशुल उठाइएको छैन । मलाई शंका लाग्दैछ, महशुल बढाएको बिषयमा मेयर साम्पाङका समर्थकहरु चुइक्क बोलेको छैन,’ उनले भने,‘कतै महशुल नउठाइएका ती ६ हजार ग्राहक मेयर साम्पाङका समर्थकहरु त होइन ?’ पुर्वमेयर मेन्याङ्बोले जनतालाई महंगीको मारमा पार्नुभन्दा व्यवस्थितढंगले महशुल संकलन गर्ने हो भने डेढदेखि २ करोड संकलन हुने भएपनि वास्ता नगरेको बताए । 

पुर्वमेयर मेन्याङ्बोले एमाले र कांग्रेसको मेयरको पालामा आफ्ना कार्यकर्ताहरुलाई बोर्डमा जथाभावी भर्ती गरेर बेथितीको विजारोपण गरेको भन्दै आलोचना गरे । त्यसैको सिको गरेर अहिले मेयर साम्पाङले पनि समर्थकहरुलाई नियुक्ती गरिरहेको र तिनीहरुलाई तलब, भत्ता खुवाउनको लागि जनतालाई महंगो शुल्क थोपरेको पनि मेन्याङ्बोले बताए । 

उनले खानेपानीको नाममा मेयर साम्पाङले करोडौं रकम उठाए पनि उपलब्धि शुन्य भएको बताए । करिब ७ करोड खर्च गरेर कोकाहको पानी ल्याएको प्रचार गरेपनि दैनिक ५ देखि ७ लाख लिटर मात्र आएको बताए । ‘त्यही खर्चले जंगलमा डिप बोरिङ गरेको भए ५ वटा वेल खनिन्थ्यो र दैनिक १ देखि सवा करोड लिटर पानी आपूर्ति हुन्थ्यो,’ उनले भने ।

श्रमदानको नाममा उठेको रकमको हिसाबकिताब नदेखाएको भन्दै दुरुपयोग गरेर ठुलो आर्थिक अनियमितता गरेको पनि पुर्वमेयर मेन्याङ्बोले दाबी गरे । ‘उहाँलाई जिम्मेवार व्यक्ति हो, दुरुपयोग हुदैन भनेर पैसा दिएको हो, तर दुरुपयोग भएको छ, यति धेरै आर्थिक अनियमितता भएको छ,’उनले भने,‘दर्ता भएको अडिटरबाट अडिट गरेर हिसाबकिताब सार्वजनिक भएको छैन । श्रमदानको नाममा मेयरले करोडौं उठाएर हिसाबकिताब सार्वजनिक गर्नुपदैन ? त्यो भ्रष्टचार होइन, अनियमितता होइन ?

'मेयर हर्क साम्पाङ भ्रम मात्र हो, रमिता मात्र देखाए'

tilak rai copy

निवर्तमान मेयर तिलक राईले आइयुडिपीमा कति भ्रष्टचार भयो भनेर वर्तमान मेयर हर्क साम्पाङले प्रष्ट्याउनुपर्ने बताए । मेयर हुनुअघि अभियन्ता रहदा आइयुडिपीमा भ्रष्टचार भएको भन्दै आन्दोलन गरेका व्यक्ति अहिले मेयर हुदा पनि २ बर्षदेखि छानबिन गरेर सार्वजनिक नगरेको बताए । 

‘हिजो भ्रष्टचार भयो भनेर आन्दोलन गर्ने मान्छे मेयर छन्, अहिले उहाँले खोजी गरेर निकाल्न सक्नुहुन्छ,’ निवर्तमान मेयर राईले भने,‘तर कार्यपालिका बैठक मिलाएर गर्न नसक्दा चै भ्रष्टचारको कुरा उठाएकोले बैठक अवरुद्ध भयो भनेर अरुलाई दोष दिनुबाहेक केही काम भएको छैन ।’ उनले आफु मेयर हुँदा हर्क साम्पाङ नाराबाजी गर्दै आएपनि कसैलाई प्रहरी लगाएर पक्राउ नगरेको पनि बताए । ‘हामी त कुरा सुनेर, सम्झाएर पठाउथ्यौं,’ उनले भने ।

खानेपानी बोर्डमा सदस्यहरु मात्र रहने कानुनी व्यवस्था भएको भन्दै निवर्तमान मेयर राईले मेयर साम्पाङलाई अध्यक्ष बन्ने चाहना भए बैठक बसेर निर्णय गरेर जादा हुने बताए । बोर्डमा ३ जना पदेन सदस्य हुने व्यवस्था भएपनि मेयर साम्पाङले बैठक नबसि एकल निर्णय गरेको र ती सबै निर्णय एवं काम अवैधानिक भएको पनि उनले दाबी गरे । एडिबिको ५६ करोड ऋण पुर्वमेयरहरुले लिएको भन्दै गलत प्रचार गरेको भन्दै निवर्तमान मेयर राईले भने,‘ऋण लिएको बारेमा चै अग्रजहरुलाई दोष दिने तर त्यही अग्रजहरुले गरेको निर्णयको आधारमा कुर्सीमा बसेर रातो कलम चै चलाउनेले ऋणको स्वामित्व चै नलिने ?’

उनले हर्कराज राई साम्पाङ भ्रम मात्र भएको पनि दाबी गरे । जनताले आवेग, भावना, असन्तुष्टीमा खेलेर नेतृत्व हत्याएको आरोप लगाउदै उनले अहिले साम्पाङले हुने, नहुने काम गरेर रमिता मात्र देखाइरहेको बताए । ‘हुने नहुने काम गरेर रमिता मात्र देखाइरहेको छ, दीर्घकालिन विकासको काम के भएको छ त ?’ उनले भने ।

भिडियो:

भिडियो:

भिडियो: