धरान:मदन भण्डारी राजमार्ग आयोजना र ठेकदारको लापरवाहीले धरान ८ अरुणटोलस्थित तीनढ्वाङ्गे पुल भत्किएको छ ।
नयाँ पुल निर्माण गर्नुपर्नेमा पुरानै पुलको जीर्ण संरचनामाथि पिच गरेको कारण भार थाम्न नसकेर तीनढ्वाङ्गे पुल भत्किएको स्थानीयको भनाई छ । विगत ५ बर्षदेखि नै पुल भत्कन शुरु गरेर जोखिम बढेको बारे निरन्तर जनप्रतिनिधि, सडक विभागलाई जानकारी गराउदा पनि वेवास्ता गरेको कारण पुल भत्किएको उनीहरुको गुनासो छ । पुल भत्किएपछि अहिले यातायात आवागमन अवरुद्ध भएको छ ।
उक्त पुल आज बिहान करिब ३ बजेतिर भत्किएको हो । स्थानीय दुर्गा महराका अनुसार विराटनगर एयरपोर्ट स्कुटरमा हिडेका २ जना यही पुलमाथि आइपुग्दा भत्किएको थियो । उनीहरुले नै सबैलाई जानकारी गराएर अन्य दुर्घटनामा पर्नबाट जोगिएको पनि उनले बताइन् । ‘हामी पनि आमाजुलाई काठमाण्डौं पठाउनुपर्ने थियो, र बिहानै उठेका थियौं । ५ बजेको फ्लाइट भेट्न स्कुटरमा जान लागेका २ जना बीचमा नै फस्नुभएछ । हामीले प्रहरीलाई खबर गरेपछि स्कुटर झिक्यौं,’उनले भनिन् ।
पुल भत्किएको कारण तीनढ्वांगे खहरेको पानी थुनिएर वस्ती डुबानको जोखिममा परेको भन्दै स्थानीयबासीले चिन्ता पनि प्रकट गरेका छन् । उनीहरुले राज्यले चाडो भत्किएको पुलको संरचना हटाइदिन र पानीको निकास गरिदिन पनि आग्रह गरेका छन् । यो खहरेमा धरानको बजार क्षेत्रको ड्रेनहरुको पानी मिसाइएको हुनाले बर्षायाममा ठुलो बाढी आउने गर्छ ।
स्थानीयका अनुसार मदन भण्डारी राजमार्ग सडकखण्ड निर्माण हुदैगर्दा नयाँ पुल बनाउन चासो नदिएर जीर्ण संरचनामाथि पिच गर्दाको परिणाम हो । तीनढ्वांगे पुल करिब ६ दशकअघि निर्माण भएको थियो । ब्रिटिश घोपा क्याम्प स्थापना हुँदा बनेको पुल जस्ता पाता जस्तै माटो फलामे पाताको तीन वटा ढ्वाङ राखिएको थियो । उक्त पाताको आयु सकिएको र पुल जीर्ण बनिसकेको अवस्थामा नयाँ पुल बनाउनुपर्नेमा त्यसमाथि नै मदन भण्डारी राजमार्गले पिच गरेको थियो । ‘यो पुलको आयु सकिसकेको थियो, भत्कन पनि थालेको थियो । त्यसैले पिच होइन, नयाँ पुल नै बनाउनुपर्ने थियो,’ हरि तामाङले भने ।
धरान ८ स्थित हिमाली वन समुहका अध्यक्ष पर्शुराम वाइवा तामाङका अनुसार ५ बर्षअघि नै भासिन थालिसकेको थियो । इञ्जिनियर र जनप्रतिनिधिहरुलाई ध्यानाकर्षण गराए पनि वेवास्ता गरेको उनले बताए । ‘पुल भासिएको छ, बाटो नबनाउनुस् है भन्दा पनि सुनेनन्,’उनले भने,‘यलम्बर पर्तिर नयाँ पुल भत्काएर अर्को बनायो, यो जीर्ण पुल चै जस्ताको तस्तै राखेर पिच गरेर लापरवाही भयो ।’
वडा नं ८ का अध्यक्ष धनबहादुर राईले आफु अध्यक्ष हुनुभन्दा अघिदेखि नै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउदै आएको बताए । ‘मैले पहिला पनि सडक विभाग, पुर्वमेयर तारा सुब्बाकै पालादेखि जीर्ण छ, भत्कन्छ भनेर आवाज उठाए । म अध्यक्ष भइकन कार्यपालिकामा पनि कुरा राखेको छुँ,’उनले भने,‘यो बाटो बनाउदा पनि भनेको हो । सानोतिनो बजेटले हुदैन भने । धोद्रो पर्दा पनि भने, अहिले थाम्छ भन्यो, अहिले भत्कियो ।’ अध्यक्ष राईले पनि आफुले जानकारी गराउदा गराउदै पनि वास्ता नगरेको र लापरवाही भएको बताए । उनले घटनाबारे मेयर हर्क साम्पाङ, योजना महाशाखा प्रमुख सुरज श्रेष्ठ, सडक विभाग सबैलाई पनि जानकारी गराइसकेको बताए ।