धरान: निवर्तमान मेयर तिलक राईले मेयर हर्क साम्पाङको निर्णय र कार्यशैलीले धरानमा स्वतन्त्रको जित यही पहिलो र अन्तिम हुने दाबी गरे ।
खानेपानी महशुल वृद्धिको विरोधमा वडा १८ स्थित बुद्ध चोकमा आयोजित कोणसभामा निवर्तमान मेयर राईले धरानमा अब फेरि स्वतन्त्रले नजित्ने बताए । हर्क साम्पाङ र उनको समुहको अतिरञ्जित, अतिवादी सोच र क्रियाकलापको कारणले जनता आजित भइसकेकोले यो नै पहिलो र अन्तिम जित हुने उनले बताए ।
‘उहाँहरुलाई हामी नै पहिलो र अन्तिम हो भन्ने छ, तरस त्य के पनि हो भने धरानमा उहाँहरु नै पहिलो र अन्तिम हो स्वतन्त्रले जित्ने,’ उनले भने,‘हर्क साम्पाङ र उनको समुहको अतिरञ्जित, अतिवादी सोच र क्रियाकलापको कारण यो नै पहिलो र अन्तिम जित हुनेछ ।’
'धरानलाई विभाजित र अशान्त बनाए'
मेयर साम्पाङले धरानलाई विभाजित र अशान्त बनाइरहेको पनि उनको भनाई थियो । मेयर साम्पाङ र उनका समुहले धरानमा द्धन्द निम्त्याइरहेको र सामाजिक सद्भाव विथोल्ने काम भइरहेको पनि उनले दाबी गरे ।
‘तपाईका गतिविधि र अभिव्यक्तिहरु अराजकढंगबाट अघि बढीरहेको छ । तपाईका समर्थकहरुले अतिरञ्जितढंगबाट धरानलाई विभाजित गर्ने, आफ्नो मनसाय पोख्ने, र धरानमा नकरात्मक फैलाउने कार्यले गलत सन्देश देशविदेश गइरहेको छ । यसलाई तुरुन्त सच्याउनुस् र सहीढंग्ले नेतृत्व गर्नुस्,’ उनले भने ।
मेयर साम्पाङले राम्रो काम नगरी नगरका अग्रज नेतृत्व, राजनीतिक दल र सामाजिक संघसंस्थाहरुले गरेको काम गलत सावित गर्न खोजिरहेको पनि निवर्तमान मेयर राईले बताए । ‘सबैलाई गालीगलौज गरेर आफुलाई श्रेष्ठता कायम गर्न खोजिरहेको छ । आफु सर्वाधिकार तर अरु कोही होइन भन्ने प्रवृत्ति धरानको विकासको बाधक भइरहेको छ, हामीले सच्चिनुस् भनेको हो,’ उनले भने,‘धरानलाई दशकौ पछि पार्ने गतिविधि, अभिव्यक्तिहरु भइरहेको छ, नगरबासीको भावनामा आघात पुर्याइरहेको छ । तपाईलाई त रमाइलो लागिरहेको होला, तर धरान दशकौं पछि परेको छ ।’
'आयोजनामा भ्रष्टचार छ भने खोजेर कारबाही गर्नुस् '
निवर्तमान मेयर राईले एडिबिको ऋण तथा सहयोगमा सञ्चालित खानेपानी परियोजनामा भ्रष्टचार भएको छ भने खोजेर कारबाही गर्न पनि मेयर साम्पाङलाई चुनौती दिए । दलहरुले उठान गरेको बिषयलाई अन्त मोड्न र दलहरुको आन्दोनललाई बिषयान्तर गर्न मात्र मेयर साम्पाङले भ्रष्टचार खोज्छु भनेको थिए दलहरुले आन्दोलन गर्यो भनेर भ्रम छर्ने काम गरेको उनले बताए ।
‘भ्रष्टचार भएको छ भने खोजेर कारबाही गर्नुस् भनेको छौं, खोइ गरेको ?’ उनले भने,‘मलाई बोलाउनुस्, हर्क साम्पाङ र समिर तामाङ एकातिर बस्नु्स र म भानुचोकमा वा ग्रीन टिमै बसेर बहस गर्न तयार छुँ, तर नगरबासीलाई यो अन्योलमा नराखौं । हामीले भ्रष्टचार गरेको हो भने हामीलाई कारबाही गर्न के ले रोक्यो ?’
'निःशुल्क पानी खुवाउछु भनेर महशुल बढाउने ?'
निवर्तमान मेयर राईले हिजोको दिनमा महशुल घटाउन आन्दोलन गर्ने र चुनावको बेला निःशुल्क पानी खुवाउछु भनेर जनताको भोट ताने पनि अहिले ढाड सेक्ने गरि महशुल वृद्धि गरेको भन्दै आलोचना गरे । ‘हिजो महशुल घटाउन आन्दोलन गर्ने र निःशुल्क खुवाउनुपर्छ भन्ने हर्क साम्पाङ अहिले लाज पचाएर २० रुपैया बढाएको भनिरहेको छ । कुन नैतिकताले भन्न सकेको हो ?’
महशुल बृद्धि हिजोको ऋण तिर्न हो भनिरहे पनि त्यो भ्रम छर्ने काम भएको उनले बताए । ‘२० रुपैया बढाउनुबित्तिकै ५७ करोड तिरिहालिन्छ ? त्यो त पद्दती र प्रक्रियाबाट ऋण तिरिन्छ,’ उनले भने, ‘हामीले खबौंको खानेपानी संस्थानको सम्पत्ति नगरबासीको स्वामित्वमा लियौं, बोर्ड जनताको स्वामित्वमा नगरकै हो । तर हिजो हर्क साम्पाङ हरु खानेपानी संस्थानको सम्पत्ति बोर्डमा ल्याउनु हुदैन भन्थे ।’
'हिसाबकिताब खोज्ने अधिकार छ'
निवर्तमान मेयर राईले हर्क साम्पाङको अभियानमा देशविदेशबाट आएको सहयोगको हिसाबकिताब खोज्ने अधिकार सबै नगरबासीलाई भएको बताए । दाताको जोगी वा बैंक खातामा पैसा हुँदासम्म व्यक्तिगत पैसा भएको तर धरानको लागि भनेर धरानमा आइसकेपछि त्यो पैसाको हिसाबकिताब खोज्ने अधिकार सबैलाई भएको उनले बताए ।
‘धरानमा आइसकेपछि त्यो सार्वजनिक सम्पत्ति हो र हामी सबैले खोज्ने अधिकार छ, हामीले दएको पैसा खोज्ने अधिकार छैन भन्न पाउनुहुन्न । खोलाको पैसा खोलामा गयो भनेर हुदैन,’उनले भने,‘अडिटसहित हिसाबकिताब चाहिन्छ, त्यो घरघरमा पाउनुपर्छ ।’
' गैरजिम्मेवार मेयर'
निवर्तमा मेयर राईले वर्तमान मेयर साम्पाङ अत्यन्तै गैरजिम्मेवार बनेको पनि बताए । आफ्ना सोझा समर्थकहरुलाई उचालेर कानुन विपरीत कार्य गराएर अनाहकमा प्रहरी हिरासतमा पुर्याएको उनको भनाई थियो ।
‘कोही दलका नेताहरुको कारणले कार्यकर्ताहरु प्रहरी हिरासतमा बस्नु परेको छ ? तर अहिले हेर्नुस् त निर्दोष सोझो दिदीबहिनीहरु हर्क साम्पाङले उचालेको भरमा हिरासतमा बस्नुपर्यो,’ उनले भने,‘ तारजाली काट्न लगाएर अहिले फेरि वडा १३ का दिदीबहिनीहरु पक्राउ भएको छ । त्यो मेयरको कारणले होइन ? नगर प्रहरी पक्राउ पदैछ । कस्को कारणले ? यस्तो उत्तेजित हुने र गैरजिम्मेवार काम नगर प्रमुखले गर्ने हो ? नगर प्रमुखले त समन्वय गर्नुपर्ने होइन ?’
भिडियो: