धरान:  खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर हर्कराज राई (साम्पाङ) महशुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।

विभिन्न १० राजनीतिक दलहरुको संयुक्त संघर्ष समितिसँग करिब ६ घण्टा लामो वार्तामा मेयर साम्पाङ आफ्नो निर्णयबाट पछि हट्न सहमत भएका हुन् । वार्तामा खानेपानी महशुलको पुरानो दर यथावत राखेर पुर्नविचार गर्ने सहमति भएको छ । वार्तामा भएको सहमतिको पहिलो बुँदामा भनिएको छ,‘खानेपानी महशुल वृद्धिबारे खानेपानी तथा सेवा महशुल निर्धारण आयोगलाई लिखित पत्र पठाई जवाफको आधार मानी जवाफ नआइन्जेलसम्म पुरानो दर महशुल यथावत राखी पुर्नविचार गर्ने निर्णय गरियो ।’

यस्तै, दोस्रो बुँदामा खानेपानी व्यवस्थापन बोर्डलाई पुर्णता दिनुपर्ने दलहरुको मागबारे उक्त बिषय उच्च अलदालतमा विचाराधिन भएकोले अदालतको आदेश प्राप्त भएपछि सोही अनुसार हुने निर्णय भएको छ । यसैगरि, तेस्रो बुँदामा खानेपानी बोर्डको आय व्यय विवरण ७ दिनभित्र सार्वजनिक गर्ने निर्णय पनि उक्त वार्तामा भएको नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले जानकारी दिए । उनका अनुसार आयव्यय मेयर साम्पाङ निवाचित भएदेखिको आर्थिक बर्ष २०७९/०८० र २०८०/०८१ को आयव्यय सार्वजनिक गर्ने सहमति भएको हो ।

khanepani warta1

सहमति पछि आन्दोलनरत पक्षलाई संक्षिप्त सम्बोधन गर्दै मेयर साम्पाङले ऋणको दायित्व भएकोले महशुल वृद्धि गर्नुपरेको तर्क दोहोर्याउदै राजनीतिक दलहरुको असन्तुष्टी आएपछि वार्ताबाट सहमति गरेको बताए । उनले धरान र जनताको हितमा नै सहमति भएको पनि बताएका थिए । राजनीतिक दलहरुले सहमतिबारे १० दलीय बैठक बसेर सोमबार जनतालाई आफ्नो धारणा सार्वजनिक गर्ने पनि जानकारी दिएको छ । 

वार्तामा १० राजनीतिक दलहरुबाट एक एक जना प्रतिनिधि गएका थिए । वार्तामा मेयर साम्पाङसँगै उपमेयर अइन्द्रबिक्रम बेघा, कांग्रेसका सभापति श्याम पोख्रेल, एमालेका अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी इञ्चार्ज चोत्लुङ, जसपा उपाध्यक्ष सुमन चेम्जोङ, नेकपा एसका अध्यक्ष रेवतीरमण राई, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधि ठाकुर बहादुर कार्की, राप्रपा प्रतिनिधि विनोद कोइराला, नागरिक उन्मुक्ति पार्टीका केन्द्रीय सहसचिव अमर इजम, संघीय लिम्बुवान मञ्चका अध्यक्ष मोहन तिगेला, राष्ट्रिय साझा पार्टीका केन्द्रीय अध्यक्ष भुपी कोयु सहभागी भएका थिए ।

यस्तै, १८ नम्बर वडा अध्यक्ष नरेन्द्रकुमार राई प्रविण, १७ नम्बर वडाअध्यक्ष सुर्यबहादुर भट्टराई मनोज, नेपाल पत्रकार महासंघ सुनसरी अध्यक्ष जनकऋषि राई र खानेपानी बोर्डका कार्यकारी निर्देशक राजु पोख्रेल पनि सहभागी थिए । 

भिडियो:

भिडियो:

भिडियो:

भिडियो: