धरान: धरानलाई समृद्ध बनाउन के गर्नुपर्ला ? विगतमा धरान कस्तो थियो, र वर्तमानमा कुन अवस्थामा छ ? धरानको विकास र समृद्धिका चुनौती र समाधान के होला ? 

शनिबार दिउँसो यही प्रश्नहरुको जवाफ खोज्न धरान १५ स्थित धरान किचनमा एक कार्यक्रम आयोजना भयो, बहसमा धरान । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) धरान उपमहानगर कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा शिक्षा, स्वास्थ्य, व्यापार, पर्यटन, फोहोर व्यवस्थापनलगायत बिषयमा सम्बन्धित क्षेत्रका विज्ञहरुले विचार राखेका थिए । 

आयोजक रास्वपाका धरान सभापति सुमन श्रेष्ठका अनुसार धरानलाई विभिन्न कोणबाट थाह पाउनको लागि बहस कार्यक्रम गरिएको हो । ‘धरानको वर्तमान समस्या, चुनैती र समाधानको उपाय पत्ता लगाएर कार्यान्वयन पनि गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो,’ उनले भने,‘धरान के रहेछ ? यहाँको आवश्यकता के हो ? समृद्ध धरान कसरी बनाउने ? यो बिषयमा विज्ञहरुको कुरा सुन्न चाहेका हौं ।’

कार्यक्रममा विज्ञहरुबाट प्रस्तुत भएको विचारलाई समेटेर रास्वपाले स्थानीय, प्रदेश र संघ सरकारलाई पनि धरानको विकासका प्राथमिकताबारे ध्यानाकर्षण गराउने जनाएको छ । स्वास्थ्यको चुनौती र सम्भावनबारे वीपी प्रतिष्ठानका रेक्टर प्रा.डा.सञ्जिव शर्मा, शिक्षाबारे सागर भट्टराई, राजनीतिक नेतृत्वबारे डा.राजेन्द्र शर्मा, पर्यटनबारे वासुदेव वराल, उद्योग व्यापारबारे सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठ, धरानको आयस्रोतबारे करविज्ञ कृष्णकुमार अग्रवाल, फोहोर व्यवस्थापनबारे वीपी प्रतिष्ठानकी डाक्टर रिता खड्काले विचार व्यक्त गरेकी थिइन् ।

उद्योग खोल्न स्थानीय र प्रदेश सरकारले सुविधा दिनुपर्छ:श्रेष्ठ

सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष विजय श्रेष्ठले कुनै समय पुर्वको व्यापारिक केन्द्र रहेको धरान अहिले सडक सञ्जाल सबैतिर फैलिएको र हरेक किसिमले वाइपास हुदै गएर टापु जस्तै बनेको भन्दै चिन्ता व्यक्त गरे । यद्यपी उनले धरानमा उद्योग, कारखानहरु आउन चाहिरहेको तर स्थानीय सरकारले वातावरण तयार गरेमा विकासको सम्भावना रहेको पनि बताए । 
raswapa copy

उद्योगहरुको लागि ऐलनी जग्गा उपलब्ध गराउन सके ठुला लगानीकर्ता भित्रने भन्दै उनले स्थानीय र प्रदेश सरकारले सुविधा दिने नीति पनि बनाउनुपर्ने बताए । धरानमा केही ठुला व्यापारिक घराना आएपनि स्थानीय र प्रदेश सरकारले वास्ता नगरेको भन्दै श्रेष्ठले असन्तुष्टी पनि पोखे । आत्मनिर्भर भएमात्र समृद्धि आउने भन्दै उनले वडा ६ स्थित औद्योगिक ग्रामको कामलाई अघि बढाउनुपर्ने पनि बताए । 

मानव विकासमा ध्यान दिनुपर्छ:भट्टराई

शिक्षाविज्ञ सागर भट्टराईले सडक, ड्रेन, भवन बनिदा मात्र विकास भन्नु गलत भएको बताए । उनले ती संरचनाहरु विकास नभै निर्माण वा पुर्वाधार मात्र भएको उनले बताए । उनले धरानमा आइटि कलेज अहिलेसम्म सञ्चालनमा नआएको पनि बताए । राम्रो शैक्षिक संस्थाहरु खुल्न नसकेको र विद्यार्थीस्हरु बाहिर पढ्न जाने गरेको पनि उनले बताए । 

‘बाटो, ड्रेन विकास होइन, निर्माण मात्र हो, पुर्वाधार हो । त्यो साधान मात्र हो, साध्य होइन,’ उनले भने,‘साध्य त मानव विकास नै हो, तर त्यता कसैको ध्यान गएको छैन ।’ उनले विकासको सुचीभित्र मानव विकासलाई समेट्नुपर्ने उल्लेख गर्दै त्यसको पहिलो आधार शिक्षा भएको बताए । ‘गुणस्तरीय शिक्षा, रोजगारमुखी, सीप र व्यवसायिक शिक्षा हुनुपर्छ,’उनले भने,‘मावन विकासको योजना पनि बन्नुपर्छ ।’ 

केन्द्र हल्लाउने नेता जन्मिएनन्: डा.शर्मा

धरानको राजनीतिबारे चर्चा गर्दै विश्लेषक डा.राजेन्द्र शर्माले केन्द्र हल्लाउने नेता जन्मिन नसकेको बताए । धरानका अब्बल मान्छेहरु राजनीतिमा नआएको चर्चा गर्दै उनले केन्द्रमा हस्तक्षेप गर्ने कोही पनि नेता बन्न नसकेको टिप्पणी गरे ।

शर्माका अनुसार धरानको राजनीतिक नेतृत्वको बागडोर अन्य जिल्लाबाट आएका मानिसहरुको हातमा भएकोले पनि समस्या भएको हो । ‘धरानको नेतृत्व धरानेले लिएन, त्यसले धरानप्रतिको मोह देखिएन,’उनले भने,‘धरानबाट केन्द्र हल्लाउने कोही नेता जन्मिएनन् ।’

धरान निर्माणको क्रममा एकतावद्ध भएको प्रसंग उल्लेख गर्दै शर्माले पछिल्लो समय सामाजिक, धार्मिक र जातीय विचलन हुन खोजेको प्रति पनि चिन्ता प्रकट गरे । तथापी उनले सहर निर्माणको क्रममा विश्वासको कमी हुदा आफ्नाहरुको समुह बन्ने गरेको भन्दै समाज चिरा पर्नबाट भने सबैले जोगाउनुपर्ने बताए । 

फोहोर उत्पादन कम गर्नुपर्छ: डा.खड्का

वीपी प्रतिष्ठानकी प्रा.डा.रिता खड्काले फोहोरलाई जमिन वा पानीमा फाल्दा र जलाउदा घातक हुने बताइन् । माटो वा पानीमा फाल्दा वातावरण दुषित हुने र बिषात्त रसायन निस्किएर मानव स्वास्थ्यलाई नै ठुलो असर पुग्ने बताइन् । फोहोर जलाउदा निस्कने धुँवाले जटिल खालको दीर्घ रोग पनि लाग्ने बताइन् । 

डा.खड्काले फोहोर व्यवस्थापनको अवधारणा न्युन फोहोर उत्पादन अपनाउनुपर्ने बताइन् । फोहोर हुने चिज कम प्रयोग गर्ने, फोहोरलाई पुनः प्रयोग गर्ने वा रिसाइकल गर्ने, फोहोरबाट इनर्जी उत्पादन गर्ने र थोरै फोहोरलाई मात्र ल्याण्डफिलमा व्यवस्थापन गर्ने उपाय अपनाउनुपर्ने बताइन् । फोहोरलाई कुहिने र नकुहिने गरि व्यवस्थापन गर्न आमजनतामा सचेतना जगाउनुपर्ने उनको भनाई थियो। 

धरानको पर्यटन प्रोडक्ट के हो ?: वराल

पर्यटनविद वासुदेव वरालले धरानको पर्यटन प्रोडक्ट के हो भनेर प्रष्ट हुनुपर्ने बताए । उनले धरानमा पर्यटक के को लागि आउने वा ल्याउने भनेर प्रष्ट भए मात्र पर्यटनले गति लिने धारणा राखे । ‘धरानको मख्य पर्यटन प्रोडक्ट के हो ? धरान के को लागि पर्यटक आउने ? यसमा प्रष्ट हुनुपर्छ,’उनले भने,‘धरानको पर्यटन प्रोडक्ट मनोरञ्जन हो । धरान आउने भनेको छुट्टी बिताउन, घुम्न नै हो । यसतर्फ छलफल नै भएको छैन ।’

वरालले पर्यटनको लक्षित वर्ग पनि छनौट गर्नुपर्ने बताए । साथै धरानमा पर्यटकीय गन्तव्यहरु पनि थपिए मात्र पर्यटन दोहोरिएर घुम्न आउने बताए । ‘धरान फेरि किन आउने ? त्यसको लागि नयाँ चिज थपिनुपर्छ,नत्र पुरानै कुरा हेर्न धरान किन आउछन् पर्यटक ?’उनले भने,‘धरानको बारेमा दुष्प्रचार पनि भइरहेको छ । इटहरीमा बसेर धरानको मठमन्दिर घुमेर फर्किहाल्ने गरेको छ । हामीले यसतर्फ पनि ध्यान दिनुपर्ने छ ।’

वीपीलाई जोगाउन ध्यान दिउ: रेक्टर प्रा.डा.शर्मा

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर प्रा.डा.सञ्जिव शर्माले वीपीलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताए । वीपीबाट फाइदा लिन मात्र खोज्ने प्रवृत्ति त्यागेर यसलाई धरासायी हुनबाट जोगाउन सबैले ध्यान दिनुपर्ने उनले बताए । 

प्रतिष्ठानको सेवा उत्कृष्ट भएको तर व्यवस्थापनमा समस्याहरु रहेको पनि उनले बताए । केही सुधार गर्न खोज्दा चलखेल गरेर ढिलासुस्ती हुने जस्ता प्रतिष्ठानभित्र विकृति रहेको पनि औल्याउदै उनले धरानबासी नजागेसम्म व्यवस्थापनको प्रयासले मात्र सुधार गर्न सम्भव नभएको बताए । 

भिडियो: