धरान: बिहिबार दिउँसो भारी बर्षासँगै आएको बाढीले ड्रेनमा बगेर मृत्यु भएका विद्यार्थी रोशन लिम्बुको परिवारलाई मेयर हर्कराज राई (साम्पाङ)ले ५ लाख रुपैया प्रदान गरेका छन् ।

धरान वडा नं १७ पृथ्वीचोकस्थित सुन्दर नमुना बस्तीका १४ बर्षीय रोशन लिम्बुको हिजो बिहिबार वडा नं ११ स्थित ऐश्वर्य मार्गको ड्रेनमा बगेर मृत्यु भएको थियो । मेयर साम्पाङ आज (शुक्रबार) बिहानै मृतक लिम्बुको घरमा पुगेर परिवारजनलाई भेटेका थिए । रोशनको आमा वृन्द्रा लिम्बु र दिदीलाई भेटेर मेयर साम्पाङले सान्त्वना प्रकट गर्दै कार्यालयमा आउन आग्रह गरेका थिए । त्यसैबेला उनले सञ्चारकर्मीसँग प्रतिक्रिया दिदै आवश्यक राहत सहयोग गर्ने पनि बताएका थिए ।

roshan2 copy

मेयर साम्पाङका प्रमुख स्वकीय सचिव सुर्दशन लिम्बुका अनुसार दिउँसो स्वर्गीय रोशन लिम्बुका काका निवेदन लिएर आएका थिए । उक्त निवेदनमा मेयर साम्पाङले मेयर कोषबाट निकासा हुने गरि नगद ५ लाख रुपैया राहत दिने निर्णय गरेको पनि स्वकीय सचिव लिम्बुले जानकारी दिए । ‘मेयर साबले ५ लाख रुपैया राहत स्वरुप दिनुभएको हो । नगरको रातो किताब आइसकेको छैन, किताब आएपछि उहाँहरुले पाउनुहुन्छ,’ लिम्बुले भने ।

वडा ११ स्थित भिक्टोरी स्कुलमा कक्षा ९ मा अध्ययनरत रोशन बिहिबार अन्य २ जना साथीहरुसँग घर फर्कदै गर्दा उक्त घटना भएको थियो । कोचिङ कक्षा सकेर घर फर्कदा ठुलो बर्षा भइरहेको थियो । मंगलबारे नजिकै ऐश्वर्य मार्गमा ड्रेन क्रस गर्ने क्रममा उनी डुबेका थिए । भारी बर्षाले ऐश्वर्य मार्ग खोला झै बनेको थियो भने ड्रेनमा पनि पानी ओभरफ्लो भएर बगिरहेको थियो । ड्रेनमा बगेका रोशनको शव वडा नं १७ स्थित ठकुरी खोलामा भेटिएको थियो । उनका बुबा ढकेन्द्र बैदेशिक रोजगारीमा कतारमा थिए भने दाजु दुबईमा छन् । घटनापछि रोशनको बुबा घर फर्कदैछन् । 

भिडियोः