धरान: कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीले धरान आफ्नो निर्माण आफै गर्ने महत्वपुर्ण सहर भए पनि अहिले भने विगतको जस्तो नभएको टिप्पणी गरेका छन् । 

इलाका प्रहरी कार्यालयमा नवनिर्मित हिरासत भवनको उद्घाटन समारोहलाई प्रमुख अतिथिकोरुपमा सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले यस्तो टिप्पणी गरेका हुन् । उनले आफ्नो गुनासो छ भन्दै धरानबासीलाई नरिसाउन पनि आग्रह गर्दै भने, 'धरान आफ्नो निर्माण आफै गर्ने महत्वपुर्ण सहर पनि हो । तर नरिसाई दिनुहोला, धरान विगतमा जस्तो थियो, त्यस्तो रहेको छैन है भन्ने मेरो गुनासो पनि रहेको छ ।'

hirasat bhawan1

मुख्यमन्त्री कार्कीले विगतमा धरानको ओज सबै क्षेत्र, पक्षमा भएको बताए । त्यसबेला धरान भन्ने बित्तिकै कतिखेर पुगिहाल्ने भन्ने आतुरता भएको खुलाउदै उनले अहिले भने धरानले आफ्नो साख गुमाएको बताए । 'मनोरम प्राकृतिक दृष्यावलोकन गर्न आउने, गर्मी छल्न आउने, बजार भर्न आउने ठाउँ हो धरान । सबै कुराको महत्वपुर्ण संगमस्थल हो,' मुख्यमन्त्री कार्कीले भने, 'पुरानो धरान फर्काएर अझ गतिको साथ कोशी प्रदेशकै सास्ँकृतिक केन्द्र, धार्मिक पर्यटकीयस्थल, खेलकुद, सबै विधामा उत्कृष्ट धरान निर्माण गर्न आग्रह गर्छु।' 

मुख्यमन्त्री कार्कीले धरानको विकास र समृद्धिमा प्रदेश सरकारबाट हुने सहयोग गर्न आफु तयार रहेको पनि बताए । रंगशालामा फ्लड लाइट जोड्ने प्रतिवद्धता जनाउदै उनले धरान शैक्षिक र खेलकुदको केन्द्र भएको पनि बताए । 

सुविधा सम्पन्न हिरासत भवनको उद्घाटन र हस्तान्तरण

अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरुको न्युनतम पुर्वाधारयुक्त हिरासतमा बस्न सकुन् भन्ने उद्देश्यले धरानमा निर्माण गरिएको इलाका प्रहरी कार्यालय हिरासत भवनको उद्घाटन तथा हस्तान्तरण गरिएको छ । उक्त हिरासत भवनको शनिबार एक समारोहबीच कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले उद्घाटन गरेका थिए ।

hirasat

यो भवनको २०७५ सालमा कार्की तत्कालीन प्रदेश सरकारको आन्तरिम मामिला मन्त्री हुदा शिलान्यास गरेका थिए । शनिबार भवनको उद्घाटनसँगै इलाका प्रहरी कार्यालय धरानलाई औपचारिकरुपमा हस्तान्तरण पनि गरिएको थियो । इलाका प्रहरी कार्यालय हिरासत भवन निर्माण समितिका अध्यक्ष मीन सुब्बाले भवनको चाबी इलाका प्रहरी कार्यालयका प्रमुख एवं डिएसपी प्रकाश जवेगुलाई हस्तान्तरण गरेका थिए ।

हाल दुई तलाको हिरासत भवनमा ८ वटा कोठा रहेको छ । हाल २ सय भन्दा बढी थुनुवा राख्न सक्ने क्षमता छ । यो हिरासत भवन प्रदेशकै सुविधा सम्पन्न एवं नमुना बनेको छ । भविष्यमा ५ तलासम्मको भवन बनाउन सकिने गरि डिजाइन भएको र जग पनि निर्माण गरिएको अध्यक्ष सुब्बाले जानकारी दिए । उक्त भवन संघ, प्रदेश, नगरपालिकासँगै देशविदेशबाट सहयोग जुटाएर कुल २ करोड ९ लाख २६ हजार १२ रुपैंयामा निर्माण सम्पन्न भएको समितिकी कोषाध्यक्ष सविता राईले जानकारी दिइन् ।

hirasat2 copy

यो हिरासत भवनको परिकल्पना तत्कालिन डिएसपी रामेश्वर पौडेलले गरेका थिए । साघुँरो कोठामा क्षमताभन्दा दोब्बार थुनुवा राख्नुपर्ने, थुनुवाहरुले धेरै सास्ती खेप्नुपर्ने जस्ता समस्या देखेपछि उनले सुविधा सम्पन्न हिरासत भवन बनाउन पहल थालेका थिए । उनको पहलकदमीमा पुर्वउपमेयर मीन सुब्बाको अध्यक्षतामा समिति बनाएर २०७५ सालमा जनस्तरबाट बजेट जुटाउन र निर्माण कार्य प्रारम्भ गरिएको थियो ।

मुख्यमन्त्री कार्कीले प्रहरीले अनुसन्धानको क्रममा अपराधी मात्र नभै अपराधमा संलग्न नभएका व्यक्तिलाई पनि अनुसन्धानको लागि नियन्त्रणमा लिनुपर्ने र थुनुवा कक्षको अवस्थाले नकरात्मक सोच उत्पन्न हुन नदिने धरानमा जस्तै हिरासत भवन सबै प्रहरी कार्यालयमा बन्नुपर्ने बताए । 'त्यस्तो व्यक्ति आउदा हिरासत कक्ष सकरात्मक मनस्थिति बन्ने हुनुपर्छ । मान्छे यहाँ आउदा डिप्रेसनमा जाने, अपराध गर्न उद्दत हुने हुनुहुदैन,' मुख्यमन्त्री कार्कीले भने, 'त्यसैले यस्ता भवनहरु मानवअधिकारको दृष्टिकोणले मात्र होइन, न्यायिक हिरासत भएकोले सुविधासम्पन्न हुनुपर्छ ।' हिरासत भवनको उद्घाटन समारोहलाई प्रदेश सांसद विजय कुमार राई, प्रदेशका पुर्वसभामुख प्रदीप भण्डारी, उपमेयर आइन्द्रबिक्रम बेघा, नेपाल प्रहरीका एसएसपी भीम दाहालले पनि सम्बोधन गरेका थिए । 

भिडियो: