धरान: ईलाका प्रहरी कार्यालय धरानका डिएसपी ढुण्डीराज न्यौपानेलाई निर्माणाधिन हिरासत भवन निर्माण समितिले आज विदाई कार्यक्रम आयोजना गर्यो ।

ईलाका प्रहरी कार्यालय परिसरमा नै निर्माण भइरहेको हिरासत भवनमा आयोजित कार्यक्रममा डिएसपी न्यौपानेलाई प्रशंसा पत्रसहित मायाको चिना पनि प्रदान गरिएको थियो । डिएसपी न्यौपानेलाई भवन निर्माण समितिका संयोजक तथा धरानका पुर्वउपमेयर मिनकुमार सुब्बाले प्रशांसा पत्र प्रदान गरेका थिए । धरानमा शान्ति सुव्यवस्था कायम राख्न महत्वपुर्ण भुमिका निर्वाह गरेको साथै हिरासत भवन निर्माणमा पनि योगदान पुर्याएकोले प्रशंसा पत्र प्रदान गरिएको निर्माण समितिले जनाएको छ । सोही कार्यक्रममा धरान फुटबल क्लब र बराह गु्रपले पनि डिएसपी न्यौपानेलाई मायाको चिनो प्रदान गर्दै विदाई गरेको थियो । क्लबका अध्यक्ष तथा एन्फा प्रदेश १ अध्यक्ष किसोर राई र बराह ग्रुपका गंगा कालिकोटे पनि कार्यक्रममा सहभागी भएका थिए ।

hirasat2

डिएसपी न्यौपानेले हिरासत भवन निर्माणको प्रसंगमा परिकल्पनाकार डिएसपी रामेश्वर पौडेललाई स्मरण गर्दै महत्वपुर्ण एवं पवित्र संरचना निर्माण भइरहेको बताए । उनले अपराधी राख्ने ठाउँ नभै प्रहरीले नियन्त्रणमा लिएको व्यक्ति फटाहा हो कि असल हो भनेर अनुसन्धान गर्ने ठाउँ हिरासत भएको प्रष्ट पारे । ‘अग्रज डिएसपी साब रामेश्वर सरलाई विर्सन सकिदैन । उहाँले कल्पना गरेर तपाईहरुले साथ दिनुभएर यो अवस्थामा पुगेको छ । यो पवित्र ठाउँ बनाउदै हुनुहुन्छ,’डिएसपी न्यौपानेले भने,‘यो अपराधी अथवा कैदी भनेर राख्ने ठाउँ होइन । यो मान्छे फटाहा हो कि असल हो भनेर अनुसन्धान गर्ने ठाउँ हो ।’

hirasat1

अनुसन्धान गरिसके पछि प्रमाण लिएर अदालत गएपछि यहाँबाट छुट्न पनि सक्ने भएकोले ती मानिसहरुलाइ राम्रो व्यवहार गर्न र बस्ने ठाउँ पनि राम्रो हुनुपर्छ भन्ने अवधारणाले भवन निर्माण भइरहेको डिएसपी न्यौपानेको भनाई थियो । यस्तो भवन नेपालमा अहिलेसम्म कुनै पनि जिल्ला प्रहरी, इलाका प्रहरी कार्यालयमा नभएकोले धरानको हिरासत नमुना हुने उनले बताए । धरानको प्रमुख समस्या लागुऔषध भएको धारणा राख्दै डिएसपी न्यौपानेले भेन,‘धरानमा लागुऔषधको विकृति नहुने हो भने धरान धेरै शान्त छ ।’ उनले लागुऔषधबारे सचेतना जगाउन सामुदायिक तथा विद्यालयस्तरमा कार्यक्रमहरु गरेको पनि बताए । डिएसपी न्यौपाने आफ्नो कार्यकाल पुरा गरेर हेडक्वार्टरमा सरुवा भएका छन् । 

पत्रकारहरुसँग विदाई भेटघाट

डिएसपी न्यौपाने र धरानका पत्रकारहरुबीच बिहिबार विदाई भेटघाट कार्यक्रम पनि भएको थियो । इलाका प्रहरी कार्यालय धरानस्थित डिएसपीको कार्यकक्षमा भएको कार्यक्रममा प्रहरी कार्यालयलाई कसरी मिडियामैत्री बनाउन सकिन्छ भनेर छलफल भएको थियो ।

IMG_0812.psd

पत्रकार महासंघका उपाध्यक्ष सन्तोष काफ्लेले अहिले महामारीको बेला पत्रकारहरु सहभागी हुन नसक्ने अवस्थामा प्रहरी कार्यालयबाट सुचनाहरु, फोटो र भिडियोसहित आउदा धेरै सहज भएको बताए । साथै, उनले भविष्यमा पनि प्रहरी कार्यालय मिडियामैत्री हुनुपर्ने बताए । डिएसपी न्यौपानेले आफुले सुचना प्रवाहमा कञ्जुस्याई नगरेको उल्लेख गर्दै धरानका पत्रकारहरुमा व्यवसायिक पत्रकारिता गरिरहेको पनि बताए । ‘धरानमा साँच्चैको व्यवसायिक पत्रकारिता रहेछ । यहाँका पत्रकारहरुले जे भएको हो, त्यही मात्र लेख्नु भयो । कुनै पनि समाचार गलत वा अफवाह हुने खालको थिएन,’उनले भने,‘कार्यालयलाई मिडियामैत्री बनाउनुपर्छ भन्ने मान्यतालाई यहाँ जो आएपछि लागु हुनुपर्छ, म जहाँ पुगेपछि हुन्छ ।’