धरान: सप्तकोशी नदीमा खसेको बसका कर्मचारीसहित सबै यात्रुको सशुकल उद्दार भएको छ । 

सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीका अनुसार बसका कर्मचारीसहित २० जनाको सकुशल उद्दार गरिएको हो । घटनास्थलको प्रकृति र उद्दारमा परिचालन भएका सुरक्षाकर्मीहरुका अनुसार उद्दार गरेकाबाहेक अन्य केही हराएको अवस्था नभएको प्रजिअ तिवारीले बताए । उनले भने, 'यात्रु र स्टाफसहित २० जनाको उद्दार भएको छ । घटनास्थलको प्रकृति र उद्दारमा खटिएका सुरक्षाकर्मीहरुले हेर्दा अरु कोही हराएको देखिएन ।'

प्रजिअ तिवारीका अनुसार ब्यारेजको ढोका बन्द भएको स्थानमा बस खसेकोले सबैको उद्दार गर्न सम्भव भएको हो । को १ ख ४६०१ नम्बरको बस ब्यारेजको ३५ नम्बरको ढोका भएको स्थानमा खसेको थियो । त्यसबेला उक्त ढोका बन्द थियो, र बससँगै यात्रुहरुलाई कोशीले बगाएर लैजान सकेन ।

'बस जुन स्थानमा खस्यो, त्यहाँ ब्यारेजको ढोका बन्द थियो, त्यसैले सबैको उद्दार गर्न सम्भव भयो । कति यात्रु त आफै बसबाट निस्किएको पनि रहेछन्,' प्रजिअ तिवारीले भने, 'यदि बस ब्यारेजको ढोका खुलेको ठाउँमा खसेको भए धेरै मानवीय क्षति हुनसक्थ्यो ।' 

उक्त बसले ब्यारेजको ५, ६ मिटर रेलिंग तोड्दै कोशीमा खसेको देखिएको पनि प्रजिअ तिवारीले बताए । बसले ५,६ मिटर रेलिंग तोड्दै गएको देखिएको छ । के भएर बस खसेको हो, चालकको अवस्था के थियो, प्रहरीबाट अनुसन्धान हुन्छ, उनले भने ।