धरान: धरान उपमहानगरपालिका वडा नं २० स्थित श्रम सँस्कृति पार्क क्षेत्रमा भूपू सैनिकहरुले गोर्खा चौतारी निर्माण गरिरहेका छन् । उक्त संरचना निर्माण गर्न १ करोड ९७ लाख सहयोग जुटेको छ ।

ब्रिटिश आर्मी, सिंगापुर पुलिस र भारतीय सेनाबाट अवकाश पाएका भुपुसैनिकहरुले संयुक्तरुपमा यो चौतारी निर्माण गरिरहेका छन् । तीन वटा युनिटले पहिलो पटक कुनै संरचना बनाउन सहकार्य गरेको यो पहिलो हो । तीन वटा युनिटको पहिचान झल्कने गरि स्तम्भ निर्माण हुनेछ भने बीचमा खुकुरीको स्तम्भ पनि बनाइनेछ । गोर्खा चौतारी गत सेप्टेम्बर २९ बाट निर्माण शुरु भएको थियो । 

यसैबीच, गोर्खा चौतारी निर्माण समितिले पत्रकार सम्मेलन गरेर आर्थिक संकलन र कामको प्रगति विवरण सार्वजनिक गरेको हो । चौतारी निर्माण समितिका कोषाध्यक्ष पुनेन्द्र लिम्बुका अनुसार कुल १ करोड ९७ लाख २१ हजार ९९४ रुपैया सहयोग संकलन भएको छ।

त्यसमध्ये सबैभन्दा धेरै भूपू ब्रिटिश आर्मीहरुबाट १ करोड १४ लाख ६७ हजार रुपैया उठेको हो भने सिंगापुर पुलिसबाट ४३ लाख ७४ हजार ३८४ र भारतीय भूपू सेनाबाट ३८ लाख ८० हजार ४१० रुपैया संकलन भएको हो । आइतबार राती १२ बजेसम्म मात्र सहयोग संकलन अभियान गर्ने निर्णय भएको पनि उनले जानकारी दिए । ‘निर्माण कार्य सम्पन्न भएपछि मर्मतको लागि पनि कोष स्थापना गर्नेछौं । हामीले अपेक्षा गरेभन्दा धेरै राम्रो सहयोग संकलन भयो,’ उनले भने ।

gurkha chautari1

चौतारी निर्माणको संयोजनकारी भुमिकामा रहेका पुर्वब्रिटिश गोर्खा क्याप्टेन पुर्ण लिम्बुका अनुसार शुरुमा गोर्खा चौतारीको मुख्य संरचनाको डिपिआर ७८ लाखको थियो । अहिले चौतारी अघिको बाटो, टेक्टिकल गार्डेन, सेड निर्माण र सौन्दर्यीकरण पनि गर्नुपर्ने भएपछि आर्थिक संकलन बढी गरिएको पनि उनले खुलाए । ‘गोर्खा चौतारीको डिपिआर ७८ लाख भयो । अहिले बाटो बनाउने डिपिआर र टेक्टिकल गार्डेनमा बन्ने सेड, सौन्र्दयीकरणमा पनि खर्च हुनेछ,’ उनले भने,‘त्यसपछि भविष्यमा मर्मतसम्भारको लागि पनि बजेट राख्छौं । नगरी नहुने कुरा छ भने कमिटी बसेर दाताहरुको राय लिएर काम गछौं ।’ 

गोर्खा चौतारीको डिजाइनर इञ्जिनियर तथा भूपू ब्रिटिश आर्मी गोपाल राईका अनुसार स्ट्रक्चर निर्माणको काम ७० प्रतिशत सकिएको छ । बाँकी ३० प्रतिशत सकेपछि सजावटको कम शुरु हुने उनले बताए । ‘बाँकी ३० प्रतिशत काम सकेपछि ब्युटिफुल बनाउन शुरु हुन्छ । वरीपरि ब्युटिफाई गर्न ३ वटा चौतारी, टेक्निकल गार्डेन, सेडलगायत सजावटको काम शुरु हुन्छ,’उनले भने,‘बाटोको पनि सर्वे भइसकेको छ । ओभरअल डिजाइन पनि हुदैछ । यो प्रोजेक्टमा कस्मेटिक फेजमा जादैछौं, टाइल आफै बनाउदैछौ । बीचमा खुकुरी स्तन्भ बनाउछौं । अब एउटा मात्र काम हुदैन, तीन चार ठाउँमा कामहरु भइरहेको हुनेछ ।’ 

अर्का इञ्जिनियर डम्बर लिम्बुका अनुसार सिमेन्ट, ढुंगा, इटा गुणस्तरीय प्रयोग भएकोले धेरै वलियो संरचना बनिरहेको छ । ‘रड पनि १० र १२ एमएमको लगाएका छौं । सिमेन्टको अनुपात पनि बढी नै लगाएका छौं । आरसिसि लेभल मापदण्ड अनुसार नै छ,’ उनले भने,‘खुकुरी स्तम्भको लागि बेस पिसिसि तयार गरेका छौं, भार वहन गर्न २० एमएमको रड लगाउने तयारी छ । स्टक्चर राम्रो बनेको छ, सिमेन्ट, ढुंगाको क्वालिटी राम्रो प्रयोग गरेका छौं ।’ आफुले थेसिस गरेकै बिषयमा काम गर्नुपाएकोमा उनले खुशी पनि व्यक्त गरे ।

भिडियो: