धरान: यही पुष ७ गतेदेखि १७ गतेसम्म धरानमा संगीत जात्रा सांस्कृतिक महोत्सव हुने भएको छ । 

“गीत, संगीत र मनोरञ्जन, धरानको समृद्धिका लागि पर्यटन प्रर्वद्धन” भन्ने मूल नाराका साथ संगीत जात्रा हुन लागेको हो । महोत्सवमा मौलिक र जातीय भेषभुषा सहितको सांस्कृतिक प्रदर्शनी र जातीय परिकार सहितको अर्गानिक खाद्यान्न महोत्सव हुने आयोजकले जनाएको छ ।

यो महोत्सव नेचर क्लब धरान र निशान त्रिभ्याली विकास संस्था धरान १५ को आयोजनामा हुन लागेको हो । धरान १५ स्थित बगरकोट, एभरेष्ट लाइनमा आयोजना हुने महोत्सवको सह आयोजक त्रिवेणी महिला समुह धरान १५ रहेको छ। 

आयोजक संस्थाहरुले बिहिबार पत्रकार सम्मेलन गरेर महोत्सवबारे जानकारी दिएको हो । आयोजक क्लबका अध्यक्ष कृष्ण राईले महोत्सवमा ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने बताए । उनका अनुसार हरेक दिन कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ भने महोत्सवलाई आकर्षक र मनोरञ्जनात्मक बनाउन बच्चाहरुदेखि सबै उमेर समुहका नागरिक रमाउन सक्ने गरि रोटेपिङ, ड्«यागन, ब्रेक डान्स, डुङ्गा सयर, मिकिमाउस्, लगायतका खेलतमासाका सामग्रीहरुको व्यवस्था गरिएको छ । 

महोत्सवका संयोजक दिपचन्द्र राई (कान्छी)ले पहिलो दिनदेखि अन्तिमसम्म सबै कार्यक्रमहरुमा राष्ट्रिय कलाकारहरुलाई प्रस्तुत गरिने बताए । महोत्सव अवधिभर कलाकारहरु सविन राई, ज्योति मगर, आस्था राउत, एकदेव लिम्बू, द एलिमेन्ट, समिर श्रेष्ठ, ट्राइवररेन (सिक्कीम), अनमोल गुरुङ (कालिम्पोङ), रकहेड्स, अस्मिता अधिकारी, प्रजिना लामिछाने, वर्षा आचार्य, तथा स्थानीय ब्यान्डहरु सुरज एण्ड ट्रियो, आरोही, बदमास एण्ड ब्याण्ड, द क्राइसिस, उर्जा ब्याण्ड, लासोज ब्याण्ड, द फ्लो नेपाल लगायतको प्रस्तुति रहने पनि राईले बताए ।  

महोत्सवमा प्रवेशका लागि दिउँसोको समय निःशूल्क रहनेछ भने अपरान्ह ४ बजेपछि कलाकारहरुको उपस्थितिलाई मध्यनजर गर्दै शूल्क निर्धारण गरिने पनि उनले बताए । कलाकार हेरेर प्रवेश शुल्क ३ सय भन्दा बढी नहुने पनि उनले बताए । 

गीत, संगीतको माध्यमबाट मनोरञ्जन प्रदान गर्ने र धरानमा आगन्तुकहरु भित्र्याउदै, धरानको समृद्धिमा योगदान पु¥याउने उदेश्यले आयोजना गरिएको यस महोत्सवबाट बचेको रकम मध्यबाट सामाजिक सेवाका काममा खर्च गरिने पनि राईले बताए । पत्रकार सम्मेलनमा प्रमुख अतिथि रहेका धरान १५ नम्बर वडा अध्यक्ष नरेश इवारमले दर्ता भएको संस्थाले आयोजना गर्न लागेको कारण कानुन विपरीत महोत्सव आयोजना नहुनेमा आफु विश्वस्त रहेको बताए ।