धरान: यही पुष २५ गतेदेखि धरान एक्स्पो २०८१ आयोजना हुने भएको छ ।
सुनसरी उद्योग वाणिज्य संघ धरानको आयोजनामा धरान १६ स्थित रंगशाला दक्षिणको खाली मैदानमा पुष २५ देखि माघ ५ गतेसम्म एक्स्पो हुने भएको हो । संघले आइतबार पत्रकार सम्मेलन गर्दै पुष २० देखि २४ गतेसम्म सोही स्थानमा धरान डे उत्सव आयोजना हुने र २५ गतेदेखि एक्स्पो हुने जानकारी दिएको हो ।
संघका अध्यक्ष विजय श्रेष्ठले धरानको आर्थिक गतिविधि।, उद्योग व्यवसाय विकास र विस्तारमा योगदान पुर्याउने लक्ष्यका साथ विगत २ बर्षदेखि एक्स्पो आयोजना भइरहेको बताए । उनका अनुसार कोशी प्रदेशका १४ वटै जिल्लाका व्यापारी, व्यवसायी तथा सर्वसाधारणहरुको प्रर्दशनी अवलोकनको गर्न सहज हुने गरि एक्स्पो हुनेछ ।
एक्स्पोको तयारीको क्रममा धरानबाहेकका जिल्ला, नगर, गाउँपालिकामा उद्योगी, व्यवसायी, कृषक तथा नागरिकहरुलाई आकर्षित गर्न प्रचार कार्य शुरु भएको र यसले धरानको सुस्ताएको बजारलाई चलायमान बनाउने विश्वास लिएको पनि अध्यक्ष श्रेष्ठले बताए ।
एक्स्पोका मुल संयोजक गोपाल श्रेष्ठले दैनिक २० हजार मानिसले एक्स्पोले अवलोकन गर्ने र १० करोड बराबरको कारोबार हुने अनुमामन गरिएको बताए । एक्स्पो सफल बनाउने ५०१ सदस्य रहेको आयोजक समिति पनि गठन गरिएको छ । एक्स्पोमा विभिन्न १४२ वटा स्टल रहनेछ ।
एक्स्पोको सुरक्षाको लागि सिसीटिभी जडान गरिएको छ भने दैनिक २० जना सशस्त्र प्रहरी, १० जना नेपाल प्रहरी र २० जना निजी सेक्युरिटी गार्डले सुरक्षा प्रदान गर्नेछ । एक्स्पोमा भारत, पाकिस्तान र बंगलादेशको पनि स्टल रहनेछ । पर्यटन, स्वास्थ्य, साहित्य सम्बन्धित स्टल पनि हुनेछ भने पर्यटन, कृषि, बित्तिय संस्था, स्वरोजगारसँग गोष्ठी तथा प्रशिक्षण पनि हुने आयोजकले जनाएको छ ।
भिडियो: