धरान: पुर्वराष्ट्रपति विद्यादेवी भण्डारीले रोजगारी र उच्च शिक्षाको लागि युवाशक्ति विदेशिने क्रम बढ्दो रहेकोले यसलाई देशको चुनौतीकोरुपमा लिनुपर्ने बताएकी छिन् ।

शुक्रबार बेलुकी धरान १५ स्थित होटल धरान किचनमा आयोजित भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । उनले युवापुस्ताको माग र मनस्थितिलाई सम्बोधन गर्न नसक्दा रोजगारी र शिक्षाको लागि विदेशिने क्रम उच्च रहेकोमा चिन्ता व्यक्त गरिन् । 

चीन र भारत जस्तो विशाल र विकसित मुलुकको बीचमा नेपाल रहेको र दैनिक गुजारा गर्ने हरेक बस्तु आयात भइरहेकोले परनिर्भर बन्नुपर्ने परिस्थिति बनेको पनि भण्डारीको भनाई थियो । ‘यसले कस्तो परिस्थित बन्यो भने हाम्रो देशमा विस्तारै बेरोजगारी बढ्यो, र रोजगारीको खोजीमा युवा शक्ति बाहिर जाने खालको स्थिति बढ्दो छ,’ पुर्वराष्ट्रपति भण्डारीले भनिन्,‘अहिलेको पुस्ता तीब्र गतिमा हिड्न चाहन्छ । हिजोको पूस्तामा जुन धैयता थियो, र संघर्ष गर्थ्यौं, त्यो अहिले छैन ।’

उनले अहिलेको पुस्ता हिड्न होइन, उड्न चाहने भन्दै राजनैतिक नेतृत्वहरुले उनीहरुको भावना र मनस्थितिलाई सम्बोधन गर्न नसकेको संकेत गरिन् । ‘उनीहरुको भावना, मनिस्थितिलाई सम्बोधन गर्न नसकेर हो कि प्लस टु सकेर छोराछोरीहरु बाहिर जाने क्रम बढेको छ । यो कुरालाई देशको चुनौतीकोरुपमा लिनुपर्छ जस्तो ठान्दछु ।’

bidya

देशमा भौतिक पुर्वाधार, विज्ञान र प्रविधिमा विकास भएपनि नयाँ पुस्ताको माग अनुसार गर्न नसकेको हो कि जस्तो भइरहेको पुर्वराष्ट्रपति भण्डारीले बताइन् । ‘विकसित देशबाट हामीलाई चाहिने सबै सामान पठाइदिएको छ, त्यसले गर्दा खेती गर्न परेन, बाँझो खेतबारी रहने भयो,’ एमाले कार्यकर्ताहरु सहभागी कार्यक्रममा उनले भनिन्,‘आन्तरिक बसाईसराई तीब्र छ, उचित खानेपानी छैन, बाटोको व्यवस्था छैन, अव्यवस्थित सहरीकरण तीब्र छ ।’

एकातिर बेरोजगार भएर युवाहरु विदेशिरहेको भएपनि नेपालले कृषि र वनसँग सम्बन्धित बिषयमा मात्र ३, ४ खर्बको सामान विदेशबाट आयात भइरहेको पनि पुर्वराष्ट्रपति भण्डारीले बताइन् । ‘जलस्रोतको धनी देश नेपाल भनेर सुनेको उहिलेदेखि हो, जलस्रोतबाट जुनखालको बहुआयामिक विकास गर्नुपर्ने त्यो भइरहेको छैन,’ भण्डारीले भनिन्,‘यसको अर्थ निराशाको कुरा होइन, तर अहिलेको आवयकता पुरा गर्न सकिरहेको छैनौ जस्तो छ ।’

उर्बर माटो भएपनि अन्न बाहिरबाट ल्याउनुपरिरहेको भन्दै भण्डारीले विकासको तालमेल नमिलिरहेको बताइन् । ‘माटोको क्षमता राम्रो छ तर अन्न बाहिरबाट ल्याउनुपरेको छ । बेरोजगारी बढेको छ, खेतबारी बाँझो छ । भनेपछि विकासको तालमेल के मिलिरहेको छैन ?’ उनले भनिन्,‘किसानहरुको समस्या त्यतिकै छ । खाद्य सम्प्रभुताको कुरा गछौं तर किसानको हकअधिकारको कुरातर्फ ध्यान नदिइरहेको जस्तो छ । मलको समस्या छ, विउको समस्या छ भने हाम्रो कृषि केन्द्र छ, प्राविधिक विश्वविद्यालय छ, समयमा किन बिउ मल पाउदैनौं ? नदीनाला बगिरहेको छ, सिचाईको लागी किन पानी पाउदैनौं ? यो समाधान गर्ने जिम्मा कस्को ?’

भिडियो: