धरान: बराह वचत तथा ऋण सहकारी संस्थाको नाममा करिब पौने एघार अर्ब ठगी अभियोगमा मुद्दामा पक्राउ परेकामध्ये ३ जनालाई सुनसरी जिल्ला अदालतले धरौटीमा रिहा गर्ने आदेश दिएको छ भने ८ जनाको हकमा पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ।
सुनसरी जिल्ला अदालतका न्यायाधिश मुकेश उपाध्यायको इजलाशले बुधबार यस्तो आदेश गरेको हो । अदालतले पक्राउ परेकामध्ये मानबहादुर विश्वकर्माकी श्रीमति जतनमाया विश्वकर्मा, गंगा कालिकोटेकी श्रीमति सरिता कालिकोटे र सञ्चालक सदस्य विष्णुमाया तुलाधारलाई जनही ५ लाख रुपैया धरौटीमा छोड्ने आदेश गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एवं एसपी सुमन तिम्सिनाले जानकारी दिए ।
एसपी तिम्सिनाका अनुसार पक्राउ परेका अन्यको हकमा भने पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएको छ । पुर्पक्षको लागि थुनामा पठाउने आदेश भएकाहरुमा सञ्चालक समिति सदस्य फुलमाया राई, ऋण उपसमिति सदस्य शेरबहादुर महत, अस्मिता भण्डारी, पुर्वसञ्चालक एवं शिव लामिछानेकी पुर्वश्रीमति रिना राई, लेखा सुपरिवेक्षण संयोजक सुदिन बिक, ऋण उपसमिति पुर्वसंदस्य याम्बा भनिने इन्द्रकुमार ल्वागुन र लेखापाल अर्पणा श्रेष्ठ रहेका छन् ।
सुनसरी प्रहरीले २१० जना ऋणीसहित २६२ जनालाई सहकारी ठगी र संगठित अपराधको कसुरमा बिहिबार मुद्दा दर्ता गरेको थियो । मुद्दा दायर भएकामध्ये ३५ जनालाई संगठित अपराध निवारण ऐन २०७० र सहकारी ऐन २०७४ वमोजिम कसुरमा सजायको माग दाबी गरिएको छ । यस्तै, २१० जना ऋणीसहित २२२ जनालाई सहकारी ऐन २०७४ वमोजिमको कसुरमा सजाय माग गरिएको छ । पाँच वटा कम्पनीलाई पनि सम्पत्ति जफत गर्ने उद्देश्यले प्रतिवादी बनाइएको छ । बराह सहकारीका सञ्चालक र उच्च तहका कर्मचारीहरुलाई सहकारी ऐन २०७४ र संगठित अपराध निवारण ऐन २०७० वमोजिम कारबाही तथा सजायको माग दाबी गरिएको छ ।
सहकारीको नाममा रकम हिनामिना तथा अपचलन गरेको जाहेरी परेपछि जिल्ला प्रहरी कार्यालय सुनसरीले प्रहरी निरीक्षक दिनेश अधिकारीको नेतृत्वमा अनुसन्धान गरेको थियो । प्रहरी निरीक्षक अधिकारीको अनुसन्धान प्रतिवेदनले कुल १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैया रकम हिनामिना तथा अपचलन गरी ठगी भएको निष्कर्ष निकालेको थियो । सञ्चालकका श्रीमतिहरुसहित केही सञ्चालक समिति सदस्य, कर्मचारीहरु पक्राउ परेपनि मुख्य सञ्चालक एवं अभियुक्तहरु शिवकुमार लामिछाने, मानबहादुर विश्वकर्मा, गंगा कालिकोटेलगायत भने फरार छन् ।