धरान: कोरोना महामारीले चौपट भएको व्यापार व्यवसाय अझै पनि तंग्रिन सकेको छैन । लाखौं रुपैया लगानी भएको व्यापारलाई निरन्तरता दिन नसकेर धरानका थुप्र्रै सटरहरु बन्द भइसकेको छ ।  

धरान ३ माछाभौडी सदनरोडमा खुलेको डेली डोज क्याफे तथा धरान बारटेन्डिङ एण्ड बारिष्टा एकेडेमीले भने सटर डाउन गर्नुको साटो सुस्ताएको व्यापारलाई चलायमान बनाउन नयाँ उपाय निकालेको छ । नयाँ बर्ष २०८२ को स्वागतसँगै व्यापार व्यवसायलाई गति दिलाउने अपेक्षाले ११ दिने न्यु इयर फुड फेस्टिवल आयोजना गरेको छ । उक्त फेस्टिवलको सोमबार एक समारोहबीच धरानका उपमेयर अइन्द्रबिक्रम बेघाले उद्घाटन गरे ।

एकेडेमीका व्यवस्थापक रणजीत राईका अनुसार लाखौं रुपैया लगानी भइसकेको क्याफे र एकेडेमी चल्न नसके आफु बाध्य भएर विदेशिनुपर्ने बाध्यता हुनेछ । त्यो स्थिति आउन नदिन सुस्ताएको व्यापारलाई चलायमान बनाउनकै लागि फेस्टिवल गरिएको उनले बताए । व्यापार व्यवसाय अस्तब्यस्त छ, नेपाललाई माया गर्ने युवाहरु टिक्नै नसक्ने स्थिति छ । यही स्थिति रहीरहने हो भने म आफै पनि वैदेशिक रोजगारीमा पलायन हुनुपर्ने अवस्था छ, उनले भने,‘राज्यका जिम्मेवार व्यक्ति र निकायले यसप्रति ध्यान दिनुपर्छ ।’

प्रमुख अतिथि उपमेयर बेघाले धरान ऐतिहासिक सहर भएको र अरु भन्दा पृथक साथै उन्नत पनि भएको धारणा व्यक्त गरे । धरान अरुभन्दा धेरै कुराले अघि भएपनि आफैले आफुलाई नचिन्दा भ्रमहरु रहेको उनको भनाई थियो । ‘धरान अरुभन्दा धेरै अगाडि छ तर आफुले आफैलाई नचिनेर, सहीढंगले सञ्चालन गर्न नसकेर भ्रमहरु भइरहेको छ,’ उनले भने, ‘हामी नेतृत्वको कमजोरीको कारणले, सबै ढंगले अगाडि बढाउन नसक्दा यस्तो भइरहेको छ । त्यसलाई सच्याएर, सच्चिएर जानुपर्छ ।’ 

deputy mayor begha

सच्चिएर अघि बढ्ने कुरामा नेतृत्वले बुझ्नुपर्ने पनि उनले बताए । यसमा राजनीतिक दलहरुको पनि प्रतिवद्धता भएको उनको भनाई थियो । ‘जनता जे चाहन्छ, सरकारले त्यही चाहनुपर्छ, जनता जे हो सरकार पनि त्यही हो,’ उनले भने, ‘जनताको सुखदुःख नै सरकारको सुखदुःख हो । जनता जहाँ छ, सरकार त्यही हुनुपर्छ । यस्तो सम्ब्न्ध बनाएर हामी अघि बढ्नुपर्छ ।’ 

वडा नं ३ का अध्यक्ष विद्या शाक्यले उपमहानगरपालिकाले वान वे नियम लागु गरिदिदा सदन रोडको व्यापार, व्यवसाय चौपट भएको र धेरै सटरहरु खाली भएको चिन्ता प्रकट गरे । उनले साना सवारीलाई दोहोरो भएपनि आवतजावत गर्न दिनुपर्ने धारणा राख्दै खस्कदो व्यापार, व्यवसायलाई उकास्न वडाले व्यवसायीहरुसँग सहकार्य गर्ने बताए ।

bartending

राजनीतिक दलहरुकोतर्फबाट बोल्दै नेकपा एसका अध्यक्ष रेवतीरमण राईले पनि व्यापार, व्यवसाय खस्कदो रहेको र व्यापारीहरु पलायन भइरहेकोप्रति स्थानीय सरकारले बिशेष ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा वडा सदस्य मिङ्मा भोटे, आदिबासी जनजाति महासंघ सुनसरीका अध्यक्ष राम माण्डुपा राईले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । 

एघार दिनसम्म सञ्चालन हुने फेस्टिवलमा विभिन्न जातीय मौलिक खानाका परिकारहरु बिशेष आकर्षण हुनेछ । यस्तै, हरेक साँझ सांगीतिक कार्यक्रमसहित फेस्टिवल हुने पनि आयोजकले जनाएको छ । 

भिडियो: