विराटनगर: कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन गरेको छ ।
गुराँसको राजधानीले परिचित तेर्हथुमको तीनजुरे मिल्के क्षेत्रको आरआर गार्डेनमा एक समारोहबीच बुधबार पर्यटन वर्षको उद्घाटन भएको हो । उद्घाटनमा प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेर प्रचार गरेपनि उनी आएनन् । संघीय सरकारका उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले पर्यटन बर्षको उद्घाटन गरेका थिए ।
उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री सिंहले कोशी प्रदेश सरकारले घोषणा गरेको पर्यटन वर्षले नेपालको अर्थतन्त्रलाई महत्वपूर्ण टेवा पुर्याउने बताए । सिंहले पर्यटनको माध्यमबाट कोशी प्रदेशले समृद्धि र विकास क्षेत्रमा प्रशंसनीय काम रहेको पनि बताए । कोशी प्रदेशमा पर्यटनको प्रचुर सम्भावना रहेको र यसका लागि भारतबाट पर्यटक भित्र्याउन सक्ने चर्चा गर्दै उनले यसतर्फ प्रदेश सरकारले ध्यान दिनुपर्ने पनि बताए ।
पर्यटनको माध्यमबाट देशमा बढ्दै गएको आर्थिक शिथिलतालाई कम गर्न सकिने बताउँदै उनले पर्यटनबाट नेपालको समृद्धि हुने बताए । मुलुक संघीयतामा गएको र यसबाट आमरुपमा जीवनस्तर वृद्धि भएको बताउँदै उनले २०४६ साल यताका विकासका तथ्य तथ्याङ्क हेर्न सुझाव पनि दिए । कतिपयले विकास नै नभएको भाष्य सिर्जना गरेर नकारात्मकता फैलाउने प्रयत्न गरेको बताउँदै मन्त्री सिंहले विकास निर्माण र त्यसबाट भएको प्रभावलाई हेर्न आग्रह गरे ।
मुख्यमन्त्री हिक्मतकुमार कुमार कार्कीले प्रदेशबाट सन्देश प्रवाह गरेर आधार बर्ष तयार गर्न पर्यटन वर्ष घोषणा गरिएको बताए । प्रदेशका सबै क्षेत्रहरू पर्यटनको हिसाबले महत्वपूर्ण भएको चर्चा गर्दै मुख्यमन्त्री कार्कीले महत्वपूर्ण क्षेत्रहरूलाई विकास गरेर पर्यटन मार्फत राष्ट्रिय पूजी निर्माण गरिने पनि बताए ।
स्थानीय तहको सहकार्यमा कोशी पर्यटनको विकास गर्दै यो प्रदेश नमुना प्रदेशको रुपमा लैजाने मुख्यमन्त्री कार्कीले प्रतिबद्धता व्यक्त गरे । सुरक्षा निकाय, जनप्रतिनिधि र सरकारी क्षेत्रको व्यवहार सुधार गरेरअघि बढ्दै पर्यटनलाई प्रवर्धन गर्ने चाहना रहेको पनि उनले उल्लेख गरे । साथै, मुख्यमन्त्री कार्कीले सबै जातजाति ,धर्म संस्कृतिको जगर्ना र त्यसको संरक्षणमा अघि बढ्ने स्पष्ट पारे ।
पर्यटनको माध्यमबाट नेपालको वैदेशिक ऋण र व्यापारघाटा काम गर्न सकिने उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ऊर्जा, जलविद्युत पर्यटन, जडीवुटीका क्षेत्रमा काम गर्ने पनि बताए । प्रदेशलाई बन्द हडतालबाट मुक्त गर्दै समस्याहरुलाई वार्ताको माध्यमबाट समाधान गर्न पनि मुख्यमन्त्री कार्कीले आग्रह गरे । हाल देखा परेका समस्याहरु समाधान गरेमा पर्यटन प्रर्वद्धन हुनुका साथै विकास र समृद्धिमा नयाँ मोडमा जान सक्ने उनको भनाई थियो ।
प्रदेशमा माङसेबुङ जस्तो पवित्रस्थल रहेको साथै साहसिक पर्यटकको पनि सम्भावना रहेको चर्चा गर्दै उनले यी सबैलाई ध्यान दिएर अघि बढ्नुपर्ने बताए । सरकारले ल्याएको अध्यादेशबाट निजी क्षेत्र उत्साहित भएको र अझै कानुन सुधार गर्नुपर्ने आवश्यकता रहेको पनि उनले औल्याए ।
मुख्यमन्त्री कार्कीले संघीय सरकारले केही कानुनमा अझै सच्याउनुपर्ने र सुधार गरेर जानुपर्ने अवस्था रहेको पनि बताए । नेपालको पर्यटन प्रवर्द्धन गर्नका लागि भारत र चीनबाट पर्यटन भित्र्याउन सक्नुपर्ने बताउँदै उनले यसका लागि संघीय सरकारले काम गर्नुपर्ने बताए ।
कोशी प्रदेशमा बराहक्षेत्र, हलेसी र माङ्सेबुङ जस्तो विशिष्टकृत धार्मिक क्षेत्र रहेको जानकारी दिँदै मुख्यमन्त्री कार्कीले धार्मिक पर्यटनबाट ठूलो लाभ लिन सकिने बताए । पर्यटनको पूर्वाधार र नीति नियममा पनि सबैको चासो र सरोकार रहनुपर्ने उल्लेख गर्दै यसमा सबै राजनीतिक दलको सहयोगको खाँचो रहेको पनि बताए ।