धरान: गायन प्रतियोगिता इष्टर्न सिंगिङ सुपरस्टार पहिलो सिजनको विजेता तेह्रथुमकी मनिका कट्टेल प्रथम भएकी छिन् ।
धरान १५ स्थित चुम्लुङ हिममा बुधबार राती सम्पन्न भएको फाइनल स्पर्धामा अन्य ९ प्रतियोगीभन्दा अब्बल गायकी प्रस्तुत गर्दै मनिका विजेता भइन् । उनले उपाधि ट्रफीसँगै नगद ३ लाख र एउटा गीत रेकर्ड गर्ने अवसर पनि पाइन् ।
अलंकार म्युजिक एकेडेमीद्धारा आयोजित प्रतियोगितामा सुनसरीको बराहक्षेत्र नगरपालिका १ चतराका निम्तेञ्जी तामाङ दोस्रो भए । उनले नगद १ लाख ५० हजार र एउटा गीत रेकर्ड गर्ने अवसर पाएका छन् । प्रतियोगितामा संखुवासभाकी एस्तर कुलुङ तेस्रो हुदै नगद ५० हजार र एउटा गीत रेकर्ड गर्ने अवसर पाइन् ।
प्रतियोगिताको बेष्ट पर्फमर घोषित हुदै सागर राईले एउटा गीतार उपहार पाएको अलंकारका संस्थापक एवं संगीत गुरु विनोद प्रियदर्शी राईले जानकारी दिए ।
प्रतियोगितामा चर्चित गायक शम्भु राई, दिपक लिम्बु र मनिषा पोखरेल निर्णायक रहेका थिए । गायक शम्भु राईले पनि गीत प्रस्तुत गरेका थिए । प्रतियोगीतबाहेक पनि अलंकारका कलाकारहरु प्रेम साम्पाङ, मनिष कट्टेल, भरत परियार, राजेश छिलिङ राई, ज्योति सुनुवार, अनुपमा सुनुवारलगायतले पनि गीत गाएका थिए ।