धरान: धरान वडा नं ६ पानवारीस्थित पाँचकन्या जंगलमा मृत भेटिएकी धनकुटाकी चुनकुमारी बुढाथोकीको हत्या प्रकरणमा अनुसन्धानको लागि प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ । 

पक्राउ परेकाहरु अनुसन्धानको लागि मात्र ल्याएको भन्दै प्रहरीले औपचारिकरुपमा जानकारी भने दिएको छैन । पक्राउ पर्नेहरु मृतककी श्रीमान् प्रेम बुढाथोकीको परिवारका सदस्य र नातेदारहरु रहेको स्रोतको भनाई छ । शंकाको घेरामा रहेका एक जना भने फरार भएका छन् । 

धनकुटाको महालक्ष्मी नगरपालिका वडा २ घर भएपनि इटहरीको हलगडामा छोरासँग बस्दै आएकी ३३ बर्षीया चुनकुमारी बुढाथोकीको सोमबार बिहान धरान वडा नं ६ स्थित पाचकन्या सामुदायिक वन क्षेत्रमा लाश भेटिएको थियो । उनको बुधबार राती मात्र सनाखत भएको थियो । उनका श्रीमान् वैदेशिक रोजगारीको लागि दक्षिण कोरियामा छन् । 

माइती पक्षले हिजो बिहिबार ईलाका प्रहरी कार्यालय धरानमा अनुसन्धानको लागि केही व्यक्तिहरुको नाम उल्लेख गरि जाहेरी दिएका थिए । उक्त जाहेरीको आधारमा प्रहरीले घरपट्टीका ४ जना आफन्तजनलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । ‘अनुसन्धानको लागि ल्याइएको हो, पक्राउ नै गरेको भन्ने होइन,’ प्रहरी स्रोतले भन्यो,‘मिडियालाई तथ्यसहित जानकारी दिन पत्रकार सम्मेलन नै गछौं ।’

श्रीमान् आएपछि मात्र पोष्टमार्टम गर्ने

मृतकको माइती र घरतर्फका परिवार सदस्यहरुबीच पोष्टमार्टम तत्काल गर्ने कि नगर्ने भन्नेमा लामो रस्साकस्सी परेको थियो । आज बिहान पोष्टमार्टम गर्ने भनिए पनि दुवै पक्षसँग प्रहरीले लामो छलफल गरेपछि तत्काल पोष्टमार्टम नहुने भएको छ । 

बिशेष गरि माइती पक्षले कोरियामा रहेका मृतकका श्रीमान् प्रेम बुढाथोकी झिकाउनुपर्ने अडान लिएका थिए । उनीहरुले श्रीमतिको हत्या भएको थाह पाएर पनि वास्ता नगरेको भन्दै तत्काल नेपाल झिकाउनुपर्ने माग राखेका थिए । माइती पक्षको यही मागको कारण पोष्टमार्टम हुन नसकेको हो ।

ईलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जबेगुका अनुसार मृतकका श्रीमान्ले बुधबारसम्म आइपुग्छु भनेको कारण पोष्टमार्टम पछि गर्ने समझदारी भएको छ । पोष्टमार्टम अहिले नभएपनि मृतकको शरीरबाट आवश्यक पर्ने सबै प्रमाणहरु जुटाइसकेको पनि डिएसपी जबेगुले बताए । ‘इन्टरनल कुरा थाह पाइहाल्छौं, अहिले शरीरबाट लिनुपर्ने प्रमाणहरु सबै हामीले लिइसकेका छौं,’उनले भने,‘पोष्टमार्टम ढिलाई हुदा पनि हामीलाई फरक पदैन ।’