धरान: नेकपा एमाले धरान उपमहानगरपालिका कमिटीले वडा नं ४ का वडाअध्यक्ष धनबहादुर राईलाई पदबाट हटाउनेसम्मको कारबाही गर्न जिल्ला कमिटीमा सिफारिश गरेको छ ।
पार्टी र पार्टी नेतृत्व विरुद्ध पटक पटक अभिव्यक्ति दोहोर्याइरहेको भन्दै वडा कमिटीबाट कारबाहीको लागि आएको सिफारिशलाई उपमहानगर कमिटीले पनि सदर गर्दै जिल्लामा सिफारिश गरेको एमाले धरानले जनाएको छ । एमाले धरानका अध्यक्ष हर्कजङ्ग एभेङका अनुसार वडाअध्यक्ष राईले एमाले पार्टीको वडा कमिटिसँग सम्पर्कमा नआउने, पार्टीको कार्यक्रममा नआउने र पार्टी, पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिइरहने गरेकोले कारबाही सिफारिश भएको हो ।
उनले भने,‘वडाबाट कारबाहीको सिफारिश आएको हो, हामीले पनि टिप्पणी उठाएर माथि जिल्लामा पठाएका हौं ।’ जेठ २५ गतेको बैठकले नै निर्णय गरेर सिफारिश गरिएको पनि अध्यक्ष एभेङले बताए । वडाअध्यक्ष राई हाल एमालेको संगठित सदस्य मात्र छन् । जिल्लाले पनि प्रदेश कमिटीलाई बोधार्थ दिएर केन्द्रीय कमिटीलाई कारबाहीको सिफारिश गरेमा र केन्द्रले निर्वाचन आयोगमा लेखीपठाए आयोगले उनलाई वडाअध्यक्ष पदबाट मुक्त गर्नसक्नेछ ।
एमालेबाट वडाअध्यक्षमा निवार्चित राई मेयर हर्कराज राई (साम्पाङ)को श्रमदान अभियानमा नियमित जस्तो नै जाने गरेका छन् । मेयर साम्पाङलाई साथ दिने एक मात्र वडाअध्यक्ष भनेर पनि उनी परिचित छन् । विना संकोच पार्टी र नेताहरुको गलत क्रियाकलपाविरुद्ध कडा अभिव्यक्ति पनि उनले दिदै आएका छन् । सोही कारणले एमाले धरान उपमहानगर कमिटिले पनि उनलाई मौखिक र लिखित स्पष्टीकरण पनि सोधिसकेको थियो ।
‘उहाँले जघन्य अपराध गरेको त होइन । तर पार्टीको नीति, नियम विपरीत नेतृत्व र पार्टीविरुद्ध अभिव्यक्ति दिने कार्य दोहोर्याइरहदा यो कदम चाल्न बाध्य भयौं,’ एमाले अध्यक्ष एभेङले भने,‘पहिल्यै मौखिक र लिखित स्पष्टीकरण सोध्यौ, तयसलाई पनि उहाँले लत्याउदै दोहोर्याउने गर्नुभयो ।’
एमाले जिल्ला कमिटीले पनि वडाअध्यक्ष राईलाई एक पटक बोलाएर कुरा गर्ने र त्यसबेलाको प्रस्तुतीको आधारमा अध्यक्ष पदबाट मुक्त गर्न निर्वाचनमा आयोगमा पठाउने वा नपठाउने निर्णय गर्ने भएको एमाले धरानका अध्यक्ष एभेङले जानकारी दिए । ‘जिल्लाले पनि एक पठक बोलाएर सम्झाउ, नत्र प्रक्रिया अघि बढाउ भनेको छ । उहाँको प्रस्तुती के रहन्छ, त्यसमा भर पर्छ,’ उनले भने ।
वडाअध्यक्ष राईले आफुले पनि कारबाही सिफारिश भएको हल्ला सुनेपनि आधिकारिकरुपमा कतैबाट जानकारी नपाएको बताए । ‘मैले पनि हल्ला सुनेको छुँ, तर आधिकारिक जानकारी कतैबाट पाएको छैन,’ टेलिफोन सम्पर्कमा उनले भने ।