धरान: काम सम्पन्न भई सबै प्रक्रिया पुरा गरेर बिल भुक्तानी हुनलागेको योजनाहरुको फाइल धरानका मेयर हर्कराज राई (साम्पाङ)ले गैरकानुनीरुपमा कब्जामा लिएर राखेको उपमेयर आइन्द्रबिक्रम बेघाले बताएका छन् ।
उपमेयर बेघाले शुक्रबार दिउँसो आफ्नो कार्यकक्षमा आकस्मिकरुपमा पत्रकार सम्मेलन गरेर असार १६ गतेको मितिदेखि अनुगमन भइसकेर भुक्तानीको लागि तयार भएको फाइलहरु सबै मेयर साम्पाङले अपहरणशैलीमा विभिन्न शाखा, महाशाखाहरुबाट कब्जा गरि लगेको बताएका हुन् ।
ती फाइलहरु मेयर साम्पाङले बजेट तोक आदेश गरेर, प्रमुख प्रशासकीय अधिकृतले सम्झौता गरेर, कार्यान्वयनको चरणमा उपमेयरको नेतृत्वमा अनुगमनसमेत भई सबै प्रक्रिया पुरा गरि भुक्तानीको लागि लेखामा पुग्नेक्रममा मेयर साम्पाङले नै बीचबाटै अपहरण गरेर लगेको उपमेयर बेघाको आरोप छ ।
उपमेयर बेघाका अनुसार मेयर साम्पाङले ३५/४० वटा योजनाको फाइलहरु अपहरणशैलीमा लगेका छन् । यसले संघ र प्रदेशबाट आउने ससर्त अनुदान, समपुरक अनुदान र सडक बोर्डको बजेटबाट सम्पन्न भएका योजनाहरुको भुक्तानी प्रक्रिया रोकिएर जनताले अनाहकमा दुःख पाइरहेको पनि उपमेयर बेघाको भनाई छ ।
करिब ५ देखि ७ करोड बजेट रहेका ती योजनाहरुको भुक्तानी असार २४ गते मध्यराती १२ बजेसम्म नभए फिर्ता हुने र भुक्तानीको दायित्व नगरकै हुने बेघाले बताए । ‘त्यसो भयो भने हाम्रो लागि गम्भीर क्षति गर्नसक्छ, यसप्रति समयमै नगरप्रमुखको ध्यानाकर्षण गर्न चाहन्छुँ,’ उपमेयर बेघाले भने,‘बजेट भुक्तानी नभएर फिर्ता भयो, दायित्व सबै नगरमा आइलाग्यो भने त्यसको जिम्मेवारी नगर प्रमुख हुने पनि जानकारी गराउछुँ ।’
उनले बिल भुक्तानी कस्को कारणले रोकिएको भनेर जनतामा प्रष्ट हुन जरुरी भएकोले पनि आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्नुपरेको बताए । पछि कामको चाप भएको बेला र समय नपुग्ने बेला फाइल फिर्ता गरेमा बजेट भुक्तानी नभए कर्मचारीलाई दोष दिन नपाइने पनि उनले प्रष्ट पारे ।
‘एउटा फाइल अध्ययन गर्न नै एक घण्टा बढी समय लाग्छ, यस्तोमा कामको चाप भएको बेलामा फाइल फिर्ता गर्दा भुक्तानी हुन नसके कर्मचारीलाई दोष दिन पाइदैन । अहिले रोकिएको फाइल उपप्रमुख, प्रशासकीय अधिकृत, लेखा कसैकोमा पनि छैन, नगर प्रमुखसँगै छ,’उनले भने,‘विना सर्त प्रमुखले फाइल फिर्ता गर्नुपर्छ ।’
धरान १६ नौली बस्तीमा लगाएको ग्याबियन जालीको बिल भुक्तानी नगरिदिएपछि मेयर साम्पाङले अन्य भुक्तानी हुनुपर्ने फाइल रोकेको हो ? भन्ने प्रश्नमा उपमेयर बेघाले उक्त योजना गैरकानुनीरुपमा भएकोले कार्यान्वयनमा नआउने प्रष्ट पारे । उनले भने,‘गैरकानुनीरुपमा गरिएको कामको भुक्तानी हुदैन । त्यो योजनाको बिल भुक्तानी कार्यान्वयन हुदैन, हुनुहुदैन ।’
भिडियो: