धरान: नगर प्रमुख हर्कराज राई (साम्पाङ) ले धरान वडा नं १६ नौलो बस्तीस्थित बहुभाषिक पाठशाला जोगाउन लगाएको तारजालीको भुक्तानी नभएसम्म अन्य कुनै पनि योजनाहरुको भुक्तानी नहुने प्रतिक्रिया दिएका छन् ।
शुक्रबार बेलुकी उपप्रमुख अइन्द्रबिक्रम बेघाले आकस्मिकरुपमा पत्रकार सम्मेलन गर्दै ३५/४० वटा योजनाहरुको भुक्तानी हुन लागेको फाइल नगर प्रमुख साम्पाङले अपहरण शैलीमा कब्जामा लिएको र नगरलाई गम्भीर क्षति पुग्ने अवस्थामा पुर्याउन लागेको बताएका थिए । उक्त योजनाहरुको भुक्तानी असार २४ गते मध्यरातीसम्म नभए संघ र प्रदेशको बजेट फिर्ता हुने र सम्पुर्ण दायित्व नगरमै आएर गम्भीर क्षति हुने उपप्रमुख बेघाले बताएका थिए । त्यसको जिम्मेवार नगर प्रमुख साम्पाङ हुने पनि बेघाको भनाई थियो ।
उपप्रमुख बेघाको उक्त पत्रकार सम्मेलन र आरोपबारे प्रतिक्रिया दिदै प्रमुख साम्पाङले वडा १६ को तारजालीको भुक्तानी रोकिएको कारण अन्य फाइलहरु आफुले राखेको बताए । शनिबार वडा १७ स्थित पटनालीमा श्रमदान अघि आफ्ना समर्थक एवं श्रमदाताहरुलाई सम्बोधन गर्ने क्रममा नगर प्रमुख साम्पाङले एउटा योजनाको भुक्तानी नदिने र अर्को योजनाको दिने गरि विभेद गरिएको बताए ।
नगर प्रमुख साम्पाङले वडा १६ को योजना पनि प्रमुख प्रशासकीय अधिकृतले नै सम्झौता गरि सबै प्रक्रिया पुरा भएको र सार्वजनिक परीक्षण पनि भइसकेको अवस्थामा भुक्तानी रोकिएको बताए । उनले भने,‘भुक्तानी कुनैको हुने, कुनै योजनाको नहुने भन्ने हुदैन । यस्तो विभेद गर्न मिल्दैन । त्यसको भुक्तानी हुदैन भने अरुको पनि हुदैन ।’
उपप्रमुख बेघाले भने वडा १६ को तारजालीको योजना नगर प्रमुख साम्पाङले श्रमदानबाट पहिल्यै काम सम्पन्न गरिसकेकोले भुक्तानी दिन नमिल्ने अडान राखेका छन् । काम सम्पन्न गरिसकेर मात्र कर्मचारीलाई दबाब दिएर पछि सम्झौता भएकोले आफुले अनुगमन नगरेको र भुक्तानी पनि रोकिएको उनले बताए । ‘त्यसो गर्नु गैरकानुनी कार्य हो, पहिल्यै काम सकिएको योजनालाई पछि सम्झौता गरेर भुक्तानी गराउन खोजेको हो । त्यो गर्नुहुदैन,’ शुक्रबार पत्रकार सम्मेलनमा सोधिएको प्रश्नको जवाफमा उनले भनेका थिए ।
उपप्रमुख बेघाका अनुसार मेयर साम्पाङले लगेको फाइलहरु संघ र प्रदेशबाट आउने ससर्त अनुदान, समपुरक अनुदान र सडक बोर्डको बजेटबाट सम्पन्न भएका योजनाहरु रहेको छ । यी योजनाहरुको भुक्तानी समयमै नभए ५ देखि ७ करोड रुपैया फिर्ता जाने र त्यसको दायित्व नगरकै हुने पनि उनले बताए ।
भिडियो:
भिडियो: