धरान: धरान उपमहानगरपालिका वडा नं २० मा ‘माया धराने’ बेसार उद्योगको उद्घाटन गरिएको छ ।
धरान उपमहानगरपालिका अन्तर्गत खुलेको उद्योग शुक्रबार एक समारोहबीच मेयर हर्कराज राई (साम्पाङ)लाई चाबी हस्तान्तरण गरिएको थियो भने मेयर साम्पाङ र वडा नं २० का अध्यक्ष पदम लिम्बुले रिबन काटेर उद्योगको उद्घाटन गरेका थिए । उद्योगबाट ‘माया धराने’ नामको प्याकेजिङसहितको बेसार पनि उत्पादन शुरुवात भइसकेको छ । शुक्रबार उद्घाटन भएसँगै उक्त बेसार बिक्री पनि गरिएको थियो ।
मेयर साम्पाङले वडा २० मा बेसार उद्योग खोल्ने एजेण्डा ल्याएपछि कार्यपालिका बैठकले अनुमोदन गरेको थियो । साविक विष्णुपादुका गाविस रहेको यो वडा बेसार पकेट क्षेत्र पनि मानिन्छ । यहाँका कृषकहरुले बेसार खेती गर्ने गरेका छन् । तिनै कृषकहरुलाई आर्थिक लाभ दिने उद्देश्यले बेसार उद्योग खोल्ने निर्णय उपमहानगरपालिकाले गरेको हो ।
उद्योग उद्घाटन समारोहमा मेयर साम्पाङसँगै वडा १५ का अध्यक्ष नरेश इवारम, वडा २० का अध्यक्ष पदम लिम्बु, कार्यपालिका सदस्य एवं आर्थिक विकास समिति अध्यक्ष विनिता बज्रचार्य, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद चौलागाईले पनि सम्बोधन गरेका थिए । मेयर साम्पाङले पहिला साबुन उद्योग खोल्न चाहेपनि वन कार्यालयले मुद्दा लगाएर काम रोकेपछि बेसार उद्योग खोल्ने निर्णय लिइएको बताए । उनले आफुले प्रस्तुत गरेको एजेण्डालाई साथ दिएर अनुमोदन गरिदिएको भन्दै सबै कार्यपालिका सदस्यहरुलाई आभार पनि प्रकट गरे ।
वडा १५ का अध्यक्ष इवारमले विगतमा पनि पनि धरानको उत्पादनलाई ब्राण्डिङ गर्ने नीति तथा कार्यक्रममा बनाएको स्मरण गर्दै मेयर साम्पाङले उद्योग खोल्ने एजेण्डा ल्याउदा आफुहरुले साथ दिएर पास गरेको बताए । अहिले उक्त निर्णयले सार्थकता पाएकोमा खुशी व्यक्त गर्दै अध्यक्ष इवारमले गर्दा हुदो रहेछ भन्ने उदाहरण बेसार उद्योगबाट देखिएको पनि बताए । उनले उद्घाटन हुँदा हौसला भएजस्तै बेसार उद्योगलाई निरन्तरता दिन सबैले माया गर्नुपर्ने पनि बताए। बिष्णुपादुकाको अर्गानिक बेसारलाई धरानको कोसेलीकोरुपमा ब्राण्डिङ गरेर घुम्न आउने पाहुना, पर्यटकहरुले किनेर लैजाने वातावरण तयार गर्नुपर्ने पनि उनले बताए ।
वडा २० का अध्यक्ष पदम लिम्बुले निश्चित ठाउँहरुमा बेसार खेती हुने गरेको जानकारी दिदै कृषकहरुलाई अनुदान दिनुपर्ने पनि बताए । आर्थिक विकास समिति संयोजकसमेत रहेकी कार्यपालिका सदस्य विनिता बज्रचार्यले उद्योग शुरुवात भएकोमा खुशी व्यक्त गर्दै किसानले धेरै लाभ पाउने बताइन् । साथै उनले किसानहरुबाट बेसार खेतीमा किरा लागेको गुनासो पनि आइरहेकोले त्यो समस्या हल गर्न पनि ध्यान दिनुपर्ने बताइन् । प्रमुख प्रशासकीय अधिकृत चौलागाईले किसानको उत्पादन बजारीकरण गर्न र धरानको पहिचान बनाउन उद्योग सफल हुने विश्वास व्यक्त गरे ।
कार्यक्रममा वडा २ का अध्यक्ष रमेश राई, वडा ४ का अध्यक्ष धनबहादुर राई, वडा ५ का अध्यक्ष मनप्रसाद लिम्बु, वडा १० का अध्यक्ष विवेक राई, कार्यपालिका सदस्यहरु विकास भाटी, सृर्जना नेपाल, वडा १८ की कार्यवाहक अध्यक्ष जमुना त्रिखत्रीलगायत पनि सहभागी भएका थिए ।
बेसार उद्योगको भवन निर्माण गर्न उपमहानगरपालिकाबाट १६ लाख ५० हजार र उपभोक्ताबाट २ लाख ८ हजार ६११ रुपैया लगानी भएको निर्माण समितिले जानकारी दिएको छ । उद्योग सञ्चालन गर्न प्रसाद राईको अध्यक्षतामा एक सञ्चालक समिति पनि गठन गरिएको छ । अध्यक्ष राईका अनुसार शुरुवातमा ५ सय केजी मात्र उत्पादन गरेर उद्योग उद्घाटन गर्ने सोच राखिएपनि अत्यधिक माग भएपछि १५ सय केजी भन्दा बढी उत्पादन गरिएको छ । ‘देश विदेशबाट माग आइरहेको छ, यो उद्योगको लागि सुखद कुरा हो,’ उनले भने ।
कार्यक्रममा बेसार उद्योगको लागि जग्गा निःशुल्क उपलब्ध गराउने स्थानीय दाजुभाई सुरेन लिम्बु र शेरबहादुर लिम्बुलाई सम्मान पत्रद्धारा सम्मान पनि गरिएको थियो । उनीहरुले ७ कट्ठा जग्गा बेसार उद्योगको लागि दान गरेका थिए । बक्सिङ क्लबका अध्यक्ष तथा गौरा स्टिल टेक इण्ड्रष्ट्रिजका प्रोपाइटर दिपक राईलाई पनि सम्मान गरिएको थियो । उनले करिब एक लाख ५० हजार मुल्यको सामान निःशुल्क उपलब्ध गराएका थिए ।
भिडियो:
भिडियो:
भिडियो:
भिडियो: