धरान: धरान अवार्ड २०८२ अन्तर्गत उत्कृष्ट धरान बर्ष खेलाडीको लागि मनोनयनमा परेका महिला र पुरुष खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ ।
धरान खेलकुद मञ्चले मंगलबार धरान १५ स्थित होटल धरान किचनमा पत्रकार सम्मेलन गर्दै उत्कष्ट बर्ष खेलाडी महिला, पुरुषसँगै उत्कृष्ट प्रशिक्षक र द राइजिङ स्टार खेलाडीको नाम पनि सार्वजनिक गरेको हो । मञ्चका सल्लाहकार राजेशमान श्रेष्ठ संयोजक, सल्लाहकार दिपेश शाक्य र मञ्चका सदस्य सचिव बिक्रम लिम्बु सदस्य रहेको ३ सदस्यीय छनौट समितिले मनोनयन गरेका खेलाडी तथा प्रशिक्षकहरुको नाम सार्वजनिक गरिएको अध्यक्ष किशोर राईले जानकारी दिए ।
उनका अनुसार विभिन्न विधका १४ जना खेलाडीहरुले अवार्डको लागि निवेदन दिएका थिए । ती मध्ये छनौट समितिले उत्कृष्ट धरान बर्ष खेलाडी पुरुषको लागि साहिल राई, निगम राई र अवतार श्रेष्ठलाई मनोनयन गरेको छ । साहिल र निगम सितेरियो करातेका खेलाडी हुन् भने अवतार शारीरिक सुगठनका खेलाडी हुन् ।
यस्तै, महिलातर्फ बर्षा राई र सलिना जोगी मनोनयनमा परेका छन् । दुवै जना सितेरियो करातेकी खेलाडी हुन् । यस्तै, १५ बर्ष मुनिका बाल खेलाडीहरुलाई पनि प्रोत्साहित गर्न द राईजिङ स्टार विधामा सुलेखा ठाकुर, गौतम तामाङ र श्रेया सुवेदी मनोनयनमा परेका छन् । तीनै जना टेवलटेनिसका बाल खेलाडीहरु हुन् ।
उत्कृष्ट प्रशिक्षक अवार्डको लागि पनि किरण लामा, गीता थापा र श्याम तामाङ मनोनयनमा परेका छन् । किरण करातेका प्रशिक्षक हुन् भने गीता टेवलटेनिस र श्याम साइक्लिङका प्रशिक्षक हुन् । मनोनयनको लागि मान्यता प्राप्त राष्ट्रिय, अन्र्तराष्ट्रिय प्रतियोगिताहरुमा पदक जित्ने मात्र नभएर धरानको स्थानीय हुनुपर्ने र प्रतियोगिताहरुमा धरानकै नाममा प्रतिनिधित्व गरेको हुनुपर्ने मापदण्ड अनुसार निवेदन दिएकाहरुमध्येबाट छनौट गरिएको छनौट समिति संयोजक श्रेष्ठले जानकारी दिए ।
मनोनयनमा परेकाहरुमध्येबाट एक एक जनालाई उत्कृष्ट धरान बर्ष खेलाडी, उत्कृष्ट प्रशिक्षण र राइजिङ स्टार अवार्ड दिइनेछ । उक्त कार्यक्रम साउन १७ गते होटल धरान किचनमा नै आयोजना हुने पनि मञ्चले जनाएको छ । उत्कृष्ट धरान बर्ष खेलाडी महिला र पुरुषले जनही नगद ३० हजारसहित अवार्ड पाउनेछन् भने उत्कृष्ट बर्ष प्रशिक्षकले नगद २० हजारसहित अवार्ड हात पार्नेछन् । यस्तै, द राईजिङ स्टार खेलाडीले नगद १५ हजार पाउनेछन् ।
सोही कार्यक्रममा पारा ओलम्पिकमा पदक जित्ने खेलाडी विवेक राईलाई पनि नगद १० हजार सहित बिशेष पुरस्कार प्रदान गरिने मञ्चका अध्यक्ष राईले जानकारी दिए । उनलाई अध्यक्ष राईका भाई पुर्वराष्ट्रिय फुटल खेलाडी स्वर्गीय बिक्रम राईको स्मृतिमा बिशेष पुरस्कार प्रदान गरिने भएको छ । साथै, सोही कार्यक्रममा नगद १५ हजारसहित मोष्ट भ्यालुएवल पुरस्कार र एक जना पत्रकारलाई नगद १५ हजारसहित नै उत्कृष्ट खेलकुद पत्रकारिता पुरस्कार दिइने पनि अध्यक्ष राईले जानकारी दिए ।
भिडियो: