धरान: खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहित गर्ने उद्देश्यले धरान खेलकुद मन्चले ‘स्पोर्टस अवार्ड’ प्रदान गर्ने भएको छ ।

मन्चले बुधबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक जेठ १८ गते धरानमा स्पोर्टस अवार्ड प्रदान गर्न लागेको जानकारी दिएको हो । मञ्चले उत्कृष्ट बर्ष खेलाडी महिला र पुरुष, उत्कृष्ट प्रशिक्षक एक जनालाई नगदसहित बर्ष खेलाडी स्पोट्र्स अवार्ड दिने अध्यक्ष किशोर राईले जानकारी दिए । 

पत्रकार सम्मेलनमा अवार्डको लागि मनोनयनमा परेका खेलाडीहरुको नाम पनि सार्वजनिक गरिएको थियो । अवार्डको लागि मञ्चका निवर्तमान अध्यक्ष राजुमान श्रेष्ठको अध्यक्षतामा छनौट समिति गठन गरेको र सोही समितिले अवार्डको लागि खेलाडीहरुको मनोनयन गरेको पनि अध्यक्ष राईले जानकारी दिए । छनौट समितिका सचिव सुधिरसिं लिम्बुका अनुसार विभिन्न १० खेल विधामा १४ जनाको नाम थियो । ती मध्ये ६ महिला र ८ पुरुष खेलाडी थिए । 

छनौट समितिले बर्ष खेलाडी पुरुषतर्फ टेवल टेनिसका सिद्धार्थ तामाङ र फुटबलका सनम लिम्बु मनोनयन गरेको जानकारी दिएको छ । यस्तै, छनौट समितिले महिलातर्फ जुडोक्रसकी दिपिका आचार्य र बक्सिङकी जुनु लिम्बु मनोनयन गरेको सदस्य लिम्बुले जानकारी दिए । प्रशिक्षकतर्फ करातेका किरण लामा र बक्सिङका निमा लामा मनोनयनमा परेका छन् । 

sports award1

मनोनयनमा परेका यी ६ जनामध्येबाट प्रत्येक विधामा एक एक जनालाई मात्र अवार्ड प्रदान गरिने पनि मञ्चका अध्यक्ष राईले जानकारी दिए । उत्कृष्ट बर्ष खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार, गिफ्ट ह्याम्पर प्राप्त गर्नेछन् । मनोनयनमा परेका ६ जना खेलाडीमध्ये लोकप्रिय एक जनालाई मोष्ट पपुलर राइजिङ प्लेयरको अवार्ड पनि प्रदान गरिनेछ । यो अवार्ड पाउने खेलाडीले नगद ११ हजार र गिफ्ट ह्याम्पर पनि प्रदान गरिनेछ । 

यस्तै, कार्यक्रममा धरान स्पोर्टस् लाइफटाइम एचिमेन्ट पुरुष र महिलातर्फ जनही ११ हजार, गिफ्ट ह्याम्पर पनि प्रदान गर्ने मञ्चले जानकारी दिएको छ । यो अवार्डको लागि भने मञ्चको कार्यसमितिले नै २ जना खेलकुद क्षेत्रका व्यक्तित्वलाई छनौट गरिसकेको छ । लाइफ टाइम एचिभमेन्ट अवार्डबाट राजुमान श्रेष्ठ र गीता थापा मगरलाई सम्मानित गरिने अध्यक्ष राईले जानकारी दिए । 

धरानलाई खेलकुदको सहरकोरुपमा चिनाउने खेलाडीहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले अवार्ड प्रदान गर्ने आयोजक मञ्चका अध्यक्ष राईले बताए । उनले यो कार्यक्रमलाई निरन्तरता दिइने पनि खुलाए । 'राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रतियोगितामा सफलता हासिल गरेका खेलाडीहरुलाई एक्स्पोजर गर्नुपर्छ भनेर अवार्ड दिन लागिएको हो,'अध्यक्ष राईले भने,'आफ्नो जीवन नै खेलकुदमा सर्मपण गर्ने व्यक्तिलाई अचिभमेन्ट अवार्ड दिन्छौं ।'

जेठ १८ गते धरान किचनमा हुने कार्यक्रमको प्रमुख अतिथि मेयर हर्क साम्पाङ हुनेछन् । कार्यक्रममा वर्तमान र पुर्वजनप्रतिनिधिहरु, खेलकुदका सम्पुर्ण संघसंस्थाहरु सहभागिता हुने भएकोले खेलकुदको उत्सवकोरुपमा हुने पनि अध्यक्ष राईले बताए । 'हामी खेलाडी उत्पादन, पुर्वाधार निर्माण र खेलाडीलाई व्यवसायिकरण गर्ने अभियानमाम छौं,'उनले भने । 

भिडियो: