धरान: स्वास्थ्यमन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेका कोशी प्रदेश सरकारका भौतिक पुर्वाधार मन्त्री भुपेन्द्र राईले धरानको छाताचोकस्थित पुरानो धरान अस्पतालको निरीक्षण गरेका छन् ।
खेलकुद कार्यक्रममा सहभागी हुन धरान आएका मन्त्री राईले सोमबार बिहान छाताचोक पुगेर पुरानो अस्पालको भवन तथा जग्गा निरीक्षण गरेका हुन् । निरीक्षण पश्चात मन्त्री राईले संघीय सरकारको नीतिको कारण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट बीमा सेवाको प्रथम केन्द्र हट्दा धरानबासीलाई समस्या हुने र त्यसलाई पुरानो अस्पतालबाट शुरु गराउन प्रदेश सरकारले आवश्यक सहयोग गर्ने बताए ।
धरानलाई आफ्नै एउटा अस्पताल वा सरकारी अस्पतालको खाँचो छ भन्ने पनि सरकारको नीतिको कारण देखिएको मन्त्री राईले बताए । पुरानो अस्पतालबाट नै प्रथम सेवा केन्द्र शुरुवात गर्न जनशक्तिसहित आवश्यक पुर्वाधार, उपकरणमा पनि सहयोग गर्ने मन्त्री राईले प्रतिवद्धता जनाए । वीमाको कोशी प्रदेशका संयोजकलाई मन्त्रालयमा बोलाएर छलफल गरेको र यहाँको अस्पतालमा भिजिट गर्न पठाएको पनि उनले बताए । अस्पतालमा डाक्टर पठाउने जिम्मा प्रदेश सरकारले लिने र संघीय सरकार, बीपी प्रतिष्ठानसँग पनि समन्वय गर्ने मन्त्री राईले बताए ।
यस्तै, बीपीको नाममा गएको जग्गा पुनः धरान अस्पतालको नाममा फिर्ता गराउन संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलसँग पनि कुरा गर्ने र सिफारिश पनि गर्ने मन्त्री राईले बताए । संघीय मन्त्रीपरिषदबाट नै निर्णय हुनुपर्ने र क्याबिनेटमा फाइल पुगेमा निर्णय गर्न सम्भव भएको भन्दै मन्त्री राईले संघीय स्वास्थ्य मन्त्री पौडेलसँग समन्वय र पहल गर्ने पनि उनले प्रतिवद्धता जनाए ।
राजनीतिक दलहरुको तर्फबाट नेपाली कांग्रेसका सभापति श्याम पोख्रेलले पुरानो अस्पतालमा धरान नगर अस्पताल बनाउन कानुनी अवरोध भएकोले वीपी प्रतिष्ठानबाट जग्गा पुनः नगरपालिकालाई फिर्ता गराउन सहयोगको लागि पनि मन्त्री राईसँग आग्रह गरेका थिए । नगर अस्पताल स्थानीय सरकारले मात्र बनाउन नसक्ने भएकोले प्रदेशले पनि सहयोग गर्न उनले आग्रह गरेका थिए ।
साथै, बीमा सेवाको प्रथम केन्द्र असोज मसान्त पछि पनि सुविधा निरन्तरता नभए समस्या आउने भएकोले आवश्यक पहलकदमी गर्न पनि उनले आग्रह गरेका थिए । अस्पतला निरीक्षणमा मन्त्री राईसँगै पुर्वमेयर तिलक राई, वडा नं १ का अध्यक्ष यज्ञमणी आचार्य, धरानका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहता, विभिन्न राजनीतिक दलका नेताहरु पनि सहभागी भएका थिए ।