धरान: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारीहरु तलब नपाएको भन्दै आन्दोलनमा उत्रिएपछि विरामीहरुको उपचार सेवा प्रभावित भएको छ ।
बिशेष गरि अस्पतालको फार्मेसीबाट पाउने स्वास्थ्य बीमा अन्तर्गतको औषधीहरु नपाउदा विरामीहरु मारमा परेका छन् । फार्मेसीमा कार्यरत १८ जना फर्मासिष्ट र ४ जना हेल्परसहित कुल २२ जना कर्मचारीहरु धर्नामा छन् । जसले गर्दा फार्मेसीको सम्पुर्ण सेवा ठप्प बनेको छ । चौबिसै घण्टा सेवा उपलब्ध हुनुपर्ने फार्मेसीबाट सेवा नपाउदा विरामी एवं विरामीका आफन्तजनहरु निराश भई फर्किरहेका छन् ।
धर्नामा बसेका कर्मचारीहरुका अनुसार विगत ७ महिनाअघिबाट तलब र सेवा सुविधाहरु केटिएम सेक्युरिटीले उपलब्ध गराएको छैन । प्रतिष्ठानको फार्मेसीमा कार्यरत कर्मचारीहरु केटिएम सेक्युरिटीमार्फत भर्ना भएका हुन् । उनीहरुलाई तलब सुविधा दिने दायित्व पनि उक्त कम्पनीकै हो । ‘मौखिक, लितिखरुपमा तलब नपाएको निवेदन गर्दा पनि वेवास्ता गरेपछि हामी धर्नामा बस्न बाध्य भयौ,’ एक महिला कर्मचारीले भनिन्,‘काममा फर्क भनिरहेका छन्, तर तलब नआएसम्म हामी फर्कदैनौं ।’
सेवा प्रभावित गर्नु गैरकानुनी: वीपी प्रतिष्ठान
कर्मचारीहरुको आन्दोलनले फार्मेसी सेवा बन्द हुँदा विरामीहरुको उपचार सेवा प्रभावित गर्नु गैरकानुनी भएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठानले अस्पताल जस्तो संवेदनशील क्षेत्रमा गरिएको नियम विपरीतको कार्य रोकि यथासिघ्र सेवा सुचारु गर्ने व्यवस्थाको लागि केटिएम सेक्युरिटीलाई अनुरोधसमेत गरेको छ ।
प्रतिष्ठानका सहप्रवक्ता डा.अभिजित कुमारले अत्यन्त जरुरी सुचना जारी गर्दै अस्पताल क्षेत्रमा कुनै पनि प्रकारको विरोध, बन्द, हडताल, तालाबन्दी आदि गर्न पाइने छैन भन्ने कानुनी प्रावधान विपरीत केटिएम सेक्युरिटी सर्भिसेस प्रालिले जानकारी विना एक्कासी फार्मेसी सेवा बन्द गर्नु गैरकानुनी भएको प्रतिक्रिया दिएका छन् ।
उक्त प्रालिले भर्ना गरेको जनशक्तिले प्रालि र कर्मचारीबीचको असन्तुष्टीको कारण अस्पताल फार्मेसी बन्द गरी विरामीको उपचार सेवा प्रभावित पार्नु सरासर गलत भएको र उक्त गल्तीको जिम्मेवार केटिएम सेक्युरिटी प्रालि नै हुनुपर्ने ठम्याई प्रतिष्ठानको रहेको पनि सहप्रवक्ता डा.अभिजित कुमारले उल्लेख गरेका छन् ।
प्रतिष्ठान र केटिएमबीच २०७० मंसिर ८ गते तीन बर्षको लागि सम्झौता भएर कर्मचारी भर्ना गरिएको थियो । उक्त सम्झौता अवधि सकिएपछि तीन बर्षको लागि सम्झौता म्याद थप भएको र पुनः अर्को व्यवस्था नहुञ्जेलसम्मको लागि सम्झौता अनुरुपकै जनशक्ति परिचालन हुदै आएको पनि प्रतिष्ठानले जनाएको छ । प्रतिष्ठान र केटिएमबीच भएको सम्झौताको बुँदा नं ५ मा कुनै पनि कारण देखाई खटिएका कर्मचारीले बन्द, हडताल, तालबन्दी जस्ता कार्य गरेमा त्यस्ता कर्मचारीलाई २४ घण्टाभित्र अर्को व्यवस्था गर्नुपर्ने भएपनि प्रालिले कर्मचारी परिवर्तन नगरेको प्रतिष्ठानको भनाई छ ।