धरान: इजराइलमा कृषि सम्बन्धी २२ महिनाको तालिम लिएर फर्केका थिए, मोरङ केराबारी १ का युवा डेभिड थेगिम । यो सन् २०१५ तिरको कुरा हो । 

'लर्न एण्ड अर्न' कार्यक्रम अन्तर्गत तालिम लिएर फर्केपछि साथीहरुसँग मिलेर झापामा कृषि फर्म खोले । केही गर्ने जोशले फर्म खोलेका उनीसहित १० जना युवाहरुको ७५ लाख लगानी डुब्यो । त्यसपछि उनले धरानमा आएर होटल चलाए, तर कोरोना महामारीसँगै बन्द भयो । हाल धरान १५ मा बस्दै आएका थेगिमले त्यसपछि सप्लायर्स चलाए, जसले ससेजहरु बिक्री गर्दै आएको छ । लाइफ इन्स्युरेन्समा अभिकर्ता पनि छन् उनी । 

एक समय त उनलाई फेरि वैदेशिक रोजगारीमा नै जाने हुटहुटी नचलेको पनि होइन । तर स्वदेशमै संघर्ष गरेर टिक्ने सोचले गएनन् । उनै युवाले धरान १५ स्थित एभरेष्ट लाइन (भलिवल ग्राउण्ड)मा थेगिम अर्गानिक ग्रोसरी खोलेका छन् । उक्त ग्रोसरीको शुक्रबार एक कार्यक्रमबीच धरान वडा नं १५ का अध्यक्ष नरेश इवारमले उद्घाटन गरे ।

भिडियो:

वडाअध्यक्ष इवारमले आफ्नो वडामा अर्गानिक पसल खुलेकोमा खुशी व्यक्त गर्दै नेपालकै गाउँघरमा उत्पादन भएको लोकल तथा अर्गानिक सामानहरुलाई प्रर्वद्धन गर्नुपर्ने बताए । स्वास्थ्य र किसानहरुलाई पनि यो खालको पसलहरुले फाइदा पुग्ने भएकोले अर्गानिक उत्पादनहरुलाई नै उपभोग गर्न पनि उनले आग्रह गरे । 

प्रोपाइटर थेगिमका अनुसार १० लाख बढी लगानीमा अर्गानिक ग्रोसरी शुरु गरेका हुन् । लगानी अझै बढ्न सक्ने उनले बताए । ‘धेरै पटक विदेश जाने सोच पनि बनाएको थिए, तर स्वदेशमै केही गरौं भनेर अनुसन्धान गरेर अर्गानिक ग्रोसरी खोल्ने निष्कर्षमा पुगे,’ उनले भने,‘स्वास्थ्यलाई पनि राम्रो हुने, पहाडी भेगमा उत्पादन हुने अर्गानिक र लोकल प्रोडक्टहरु राखेको छुँ ।’

उनको ग्रोसरीमा गाँजाको कपडा, साबुन, थुक्पा पनि पाइन्छ । यस्तै, मार्सी चालम, कालो चामल, वन सिलाम, तेह्रथुम र इलामको घ्यु, कोदोको पिठो, फापरको पिठो, सुद्ध मह, लालिगुराँसको जुसलगायत लोकल तथा अर्गानिक उत्पादनहरु पाइने थेगिमले बताए । 

thegim copy

thegim1 copy

thegim3 copy

thegim4 copy

thegim6 copy