धरान: पेट (आमासय)मा भएको ट्युमर होस् वा आन्द्रामा भएको क्यान्सर, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुरबिन प्रविधिबाट शल्यक्रिया (लैप्रोस्कोपिक सर्जरी) पनि भइरहेको छ । तर, यो सेवाबारे धेरैलाई जानकारी छैन ।

पेट र आन्द्रामा भएको ट्युमर वा क्यान्सरको विरामीलाई प्रायः पेट चिरेर नै अप्रेशन गर्ने चलन छ । प्रतिष्ठानमा ६ बर्षअघि भारतको चण्डीगढस्थित पोष्टग्रयाजुट इन्स्टिच्युट अफ मेडिकल एजुकेसन एण्ड रिसर्च (पिजिआईएमइआर) बाट जिआई सर्जरीमा एमसिएच पढेर आएपछि डा.कुनालबिक्रम देवले दुरबिनबाट पेट र आन्द्राको क्यान्सरको अप्रेशन शुरुवात गरेका थिए । उनका अनुसार यसैसाता एक ५३ बर्षीय पुरुषको आमासयमा भएको ट्युमर (जिआइएस्टी) दुरबिनबाट सफलतापुर्वक अप्रेशन भएर विरामी घर फर्किसकेका छन् । 

दुरबिनबाट ठुलो आन्द्रामा भएको क्यान्सरको अप्रेशन ३० वटा भन्दा बढी गरिसकेको भए पनि दुरबिनबाट पेटको ट्युमर निकालेको यो तेस्रो केस मात्र भएको उनले बताए । ‘आमासयको ट्युमर दुरबिनबाट गरेको खासै छैन, यो मेरो तेस्रो केस हो,’ प्रतिष्ठानको जिआई सर्जरी विभागका एशोसिएट प्रोफेसर डा.देवले भने ।

gi surgery4 copy

पेट चिरेर अप्रेशन गर्दा डाक्टरलाई सजिलो हुुन्छ, तर विरामीलाई पीडा अनि अस्पतालमा धेरै दिन बस्नुपर्ने हुन्छ । दुरबिनबाट अप्रेशन गर्दा भने विरामीलाई धेरै फाइदा पुग्छ । शरीर चिर्नुपर्दैन भने धेरै दिन अस्पताल पनि बस्नुपर्दैन, र छिटो निको पनि हुन्छ । विगतमा प्रविधि र स्किलको पनि कमीले चिरेर मात्र अप्रेशन हुने गरेको डा.देवको भनाई छ ।

विश्वव्यापीरुपमा लैप्रोस्कोपिक सर्जरीको विकास भएसँगै विपी प्रतिष्ठानमा पनि यो सेवा शुरुवात भएको थियो । दुरबिनबाट पित्तथैली, अपेन्डिक्स, हर्नियालागयतको अप्रेशन नियमितरुपमा भइरहे पनि ती ट्युमर वा क्यान्सरसँग सम्बन्धित अप्रेशन होइन । ‘चण्डीगढबाट ६ बर्षअघि जिआइ सर्जरीमा एमसिएच गरेर आएपछि केही नयाँ गर्नुपर्छ भनेर दुरबिनबाट क्यान्सरको अप्रेशन शुरु गर्यौं, नियमितरुपमा हुन थालेको चै ४ बर्षदेखि हो,’ एसोसिएट प्रोफेसर डा.देवले भने । 

उनका अनुसार आन्द्राको क्यान्सर अप्रेशन गर्दा आन्द्रा काट्ने मेशिन केही महंगो पर्छ । तर विरामीलाई राहत दिलाउन आफुहरुले सम्बन्धित कम्पनीसँग कुरा गरेर मुल्य धेरै कम गराएको पनि डा.देवले बताए । ‘विरामीलाई धेरै भार पर्छ तर हामीले पहल गरेर दाम मिनिमाइज गराएका छौं,’ उनले भने,‘२०, २२ हजार पर्ने सामानलाई १०,१२ हजारमा कम्पनीले दिएको छ ।’

प्रतिष्ठानमा क्यान्सरको शल्यक्रिया मात्र नभै पछिल्लो समय किमोथेरापी सेवा पनि सञ्चालनमा आइसकेको छ । केही समययता प्रतिष्ठानले क्यान्सरका गम्भीरर अवस्थाका विरामीहरुलाई घरमै उपचार सेवा उपलब्ध गराउन ‘होम बेस्ड हस्पिइस केयर’ सेवा पनि दिइरहेको छ ।