धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले अन्तर विभाग रिफर गर्दा लाग्ने शुल्क र ओपिडी कार्ड दैनिक दर्ता गर्नुपर्ने झञ्झटिलो नियम हटाएको छ । 

विरामी, नागरिक समाज तथा सरोकारवालाहरुबाट चौतर्फी गुनासो र सुझाव आएपछि विपी प्रतिष्ठानले उक्त झञ्झटिलो व्यवस्था हटाएको हो । भदौ ८ गतेदेखि प्रतिष्ठानमा एउटा विभागबाट अर्को विभागमा ओपिडी सेवाको रिफर भए अतिरिक्त शुल्क तिर्नुपदैन । अब एउटै कार्डले सबै विभागमा रिफर भएर उपचार सेवा लिन सकिन्छ । गत बर्षदेखि प्रतिष्ठानले अन्तर विभाग रिफर हुँदा ८० रुपैया शुल्क तिरेर छाप लगाएपछि मात्र सेवा लिन पाउने व्यवस्था थियो ।

यस्तै, जनरल ओपिडी कार्डको मान्य अवधि पनि प्रतिष्ठानले १० दिन कायम रहने बनाएको छ । तर, स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गतको ओपिडी सेवाको दैनिक दर्ता गर्नुपर्ने व्यवस्था भने यथावत नै रहेको पनि प्रतिष्ठानका अस्पताल निर्देशक डा.जगत नारायण प्रसादले जारी गरेको सुचनामा उल्लेख छ । स्वास्थ्य वीमा बाहेकका जनरल ओपिडीका विरामीहरुले भने एकपटक ओपिडी कार्ड लिएपछि १० दिनभित्र काउन्टरमा गई पुनः दर्ता गरिरहनु नपर्ने प्रतिष्ठानले जनाएको छ । 

वीमा अन्तर्गतको ओपिडी सेवा दैनिक दर्ता किन गर्नुपर्छ ?

bp opd

प्रतिष्ठानले जनरल ओपिडी अर्थात स्वास्थ्य वीमा कार्यक्रम अन्तर्गत ओपिडी सेवा नलिने विरामीहरुलाई भने दैनिकरुपमा ओपिडी कार्ड दर्ता गर्नु नपर्ने व्यवस्था गरेर राहत दिएको छ । तर, वीमा सेवाको कार्ड भने अझै दैनिकरुपमा नै दर्ता गर्नुपर्ने व्यवस्था कायमै रहेको प्रतिष्ठानले जनाएको छ । 

प्रतिष्ठानमा ६० प्रतिशत हाराहारी वीमा सेवाबाट उपचारमा गर्न विरामीहरु आउने गरेका छन् । वीमा सेवामा भने दैनिकरुपमा कार्ड दर्ता गर्नुपर्ने झञ्झट किन ? यो प्रश्नको उत्तरमा प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा. इन्द्र लिम्बु वीमा बोर्डको नियमको कारण यो व्यवस्था कायमै राख्नुपरेको बताउँछन् । 

‘वीमाको दैनिकरुपमा रियल टाइम क्लेम गर्नुपर्छ, हामीले हरेक दिन राती १२ बजेभित्र क्लेम गरिसक्नुपर्ने बाध्यताले गर्दा यो व्यवस्था वीमामा हटाउन सकेनौं,’ डा.लिम्बुले भने,‘आज स्वास्थ्य वीमा सेवा लिएको छ भने राती १२ बजेभित्र क्लेम गर्नुपर्छ । भोलीपल्ट फेरि सेवा लिएको छ भने भोली पनि राती १२ बजेभित्र क्लेम गर्नुपर्छ, त्यसको लागी कार्ड दर्ता गर्नुपर्ने भएकोले फेरि लाइन बस्नुपरेको हो ।’

डा.लिम्बुले निकट भविष्यमा नै वीमा सेवामा पनि राहत दिन आवश्यक तयारी भइरहेको बताए । उनका अनुसार प्रत्येक ओपिडीमा नै कम्प्युटर राखेर लाइन लागिरहनु नपर्ने गरि ओपिडी सेवा दिने तयारी भइरहेको छ । ‘हरेक ओपिडीमा कम्प्युटर राखेर विभागबाटै इन्ट्री हुने र लाइनमा उभिरहनु नपर्ने गरि तयारी हुदैछ,’ डा.लिम्बुले भने,‘त्यसको लागि आवश्यक कम्प्युटर र सफ्टवेयर व्यवस्था गदैछौं ।’

bpkihs notice1