धरान: नेपाली कांग्रेस धरान नगर कार्यपालिकाको संसदीय दलले सप्तकोशी खानेपानी परियोजनाको लागि नेपाल सरकारले उपलब्ध गराउने भनिएको अनुदान बजेटको बिषयलाई पनि कार्यपालिका बैठकमा एजेण्डाकोरुपमा समावेश गर्न माग गरेको छ ।
हिजो (बुधबार) बसेको कार्यपालिका बैठक शुरु भएलगत्तै कांग्रेस संसदीय दलले नगर प्रमुख हर्कराज राईलाई माग पत्र बुझाएको थियो । उक्त माग पत्र कांग्रेस संसदीय दलका नेता एवं वडा नं १८ का अध्यक्ष नरेन्द्रकुमार राई (प्रविण)ले नगर प्रमुख राईलाई बुझाएका थिए । त्यसअघि दलका उपनेता एवं वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले पत्र वाचन गरेर सुनाएका थिए ।
‘नेपाल सरकारबाट धराने जनताको आवश्यकतामाथि मध्यनजर गर्दै ८५ प्रतिशत अनुदान रहने गरि ६ अर्ब २७ करोड रुपैयाको खानेपानी अनुदान प्राप्त हुने एजेण्डालाई कार्यपालिकाको बैठकमा समावेश गरिदिन हुनको लागि हाम्रोतर्फबाट हार्दिक अनुरोध गर्दछु,’ पत्रमा भनिएको छ ।
बराह पीडितको पनि एजेण्डा समावेश गर्न माग
बराह सहकारी तथा बराह ग्रुप अफ कम्पनीको नामबाट पीडितहरुले पनि कार्यपालिका बैठकमा आफुहरुको एजेण्डा समावेश गर्न माग गरेका थिए । उनीहरुले कार्यपालिका बैठक बस्नुअघि मेयर, उपमेयर, वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुलाई भेटेर बैठकमा बराह सहकारीको एजेण्डा राखिदिन र अनुमोदन गरिदिन माग गरेका हुन् ।
बराह सहकारी पीडित स्वतन्त्र समुहले सहकारीलाई संकटग्रस्त घोषणा गर्न माग गर्दै आइरहेका छन् । सहकारीलाई संकटग्रस्त घोषणा गरेपछि मात्र पुनः सञ्चालनको लागि बाटो खुला हुने र सरकारबाट सहकारी पीडितहरुलाई उपलब्ध हुने राहतका अन्य सुविधाहरु पाउने उनीहरुको भनाई छ । समुहका संयोजक शंकर थापाका अनुसार बराहलाई समस्याग्रस्त घोषणा गरेपछि मात्र नयाँ व्यवस्थापन गर्ने बाटो खुला हुनेछ, र चलअचल सम्पत्तिको व्यवस्थापन गर्न सकिन्छ ।
बराह पीडितहरुले भेटेर नै आग्रह गरेपछि हिजो (बुधबार)को बैठकमा विविधमा मेयर साम्पाङले बराहलाई संकटग्रस्त घोषणा गर्ने एजेण्डा पनि थप गरेका थिए । उक्त एजेण्डा थप भएको पाना वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुलाई वितरण गरिएको थियो । तर बैठक कुनै पनि एजेण्डामा प्रवेश नगरि बजेटको प्रक्रिया बिषयमा नै रस्साकस्सी चलेर स्थगित हुन पुगेको थियो ।