धरान: आर्थिक बर्षको दोस्रो महिना प्रवेश गरिसक्दा पनि बजेट ल्याउन नसकेको धरान उपमहानगरपालिकाको कार्यपालिका बैठक आज बस्दैछ ।
दिउँसो ४ बजे बस्न लागेको बैठकको एजेन्डामा भने बजेट समावेश छैन । यो कार्यपालिका बैठकमा एउटा मात्रै एजेन्डा पास गर्न बस्न लागेको हो । मेयर हर्कराज राई ९साम्पाङ०ले सामाजिक संजाल फेसबुकबाट ४ बजे बैठक राखिएको जानकारी दिएका हुन् ।
यो बैठकमा यसअघि ५ बुदे सुझाव समेट्न माग गर्दै कार्यपालिका बहिस्कार गरेको एमालेका वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु पनि सहभागी हुने भएका छन् ।
एमालेबाट कार्यपालिका सदस्य एबम दलकी उपनेता सावित्री परियारले कर्मचारीहरुको तह वृद्धि सम्बन्धि एजेन्डा मात्रै बैठकमा ल्याउने समझदारी अनुसार बैठकमा आफुहरु सहभागी हुन लागेको बताइन् ।
उनका अनुसार कर्मचारीहरुको बढुवाको एजेन्डा आज पास नगरे ५ बर्ष कुर्नुपर्ने भएकोले उक्त एजेन्डा मात्रै बैठकमा ल्याउने गरि एमालेका अध्यक्ष र कार्यपालिका सदस्य बैठकमा जान लागेको बताइन् । बजेट सम्बन्धि विवादमा भने मेयर साम्पाङले छलफलमा नबोलाएकोले आफुहरुको असहमति कायमै रहेको उनले बताइन् ।
असार १० भित्र बजेट ल्याईसक्नु पर्ने कानुनी प्रावधान भएपनि धरानले भदौ दोस्रो साता वितिसक्दा समेत बजेट ल्याउन सहमति जुट्न सकेको छैन । श्रोत अनुमान तथा बजेट सिलिङ समितिले २ अर्ब २० करोडको बजेट ल्याउने निर्णय गरेपनि एमालेले असहमति जनाएको छ ।
अघिल्लो कार्यपालिकामा घाटा बजेट ल्याउन नहुने, कर वृद्धि गर्न नहुने, मेयर-उपमेयर कोषसङ्गै मेयर भिजन र उपमेयर भिजन खारेज गर्नुपर्ने लगायत माग राखेर एमालेका बहुमत वडा अध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका थिए । बहुमत नभए पनि काङ्ग्रेस, माओवादी र राप्रपाले भने मेयर साम्पाङलाई बजेटमा साथ दिएको छ ।