धरान: धरान उपमहानगरपालिकाको आर्थिक बर्ष २०८२/८३ को बजेट सिलिङ संशोधनसहित कार्यपालिका बैठकले पारित गर्ने निर्णय गरेको छ । 

आज शुक्रबार बसेको कार्यपालिका बैठकले स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले निर्धारण गरेको बजेटबाट चालु खर्च बाहेक पुँजीगततर्फको कुल बजेटबाट १० प्रतिशत घटाएर कार्यान्वयन गर्ने निर्णय गरेको छ । बैठकमा सिलिङ पास गर्न मेयर हर्कराज राई (साम्पाङ)ले एजेण्डा राखेपछि एमालेकोतर्फबाट उपनेता एवं कार्यपालिका सदस्य सावित्री परियारले १० प्रतिशत घटाउने संशोधन प्रस्ताव गरेकी थिइन् । उनको प्रस्तावलाई कार्यपालिका बैठकले सहमति जनाउदै सर्वसम्मतरुपमा पारित गरेको हो । 

स्रोत अनुमान तथा बजेट सिमा निर्धारण समितिले २ अर्ब २० करोड ७४ लाख ५९ हजारको सिलिङ एमालेको असहमतिबीच बहुमतले पारित गरेको थियो । अब उक्त बजेटमा पुँजीतगतर्फ १० प्रतिशत घटेर बजेट सिलिङ कायम हुने भएको छ ।

कार्यपालिका प्रवक्ता एवं वडा नम्बर १७ अध्यक्ष मनोज भट्टराईले विगतमा वडाको योजनामा बजेट वा स्रोत सुनिश्चितता नभएको भनेर फिर्ता जाने गरेको तर मेयरको योजनामा भने स्रोत सुनिश्चितता हुने परम्परा अन्त्य गर्नुपर्ने बताए । उनले १० प्रतिशत कटाएर रातो किताबमा समावेश भएका सबै योजना हुबहु कार्यान्वयन हुने भनेर कार्यपालिका बैठकको निर्णयमा लेखिनुपर्ने पनि बताएका थिए । 

मेयर र उपमेयर भिजनको नाम नगर भिजन हुने

karyapalika upameyar

बैठकले मेयर र उपमेयर भिजन भनेर विनियोजन गरिएको योजनाहरुको नाम परितर्वन गरेर नगर भिजन राख्ने निर्णय पनि भएको छ । बैठकमा मेयर साम्पाङले मेयर र उपमेयर भिजनको नाम परिवर्तन गरेर नगर भिजन राख्ने प्रस्ताव गरेका थिए । 

उक्त प्रस्तावमा उपमेयर अइन्द्रबिक्रम बेघाले भने आपत्ति प्रकट गरेका थिए । उनले मेयर र उपमेयर भिजनको बजेट ब्रेकडाउन माग गरेवमोजिम ब्रेकडाउन गरेर दिएपनि नाममा असहमति जनाएर परिवर्तन गरेकोमा एमालेका वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुप्रति चर्को असन्तुष्टी जनाए । 

संशोधनसहित नीति तथा कार्यक्रम पारित गर्ने

कार्यपालिका बैठकले संशोधनसहित नीति तथा कार्यक्रम पास गर्ने निर्णय पनि गरेको छ । नीति तथा कार्यक्रममा नेकपा एमालेले दिएका बुँदागत सुझावहरुलाई समेटेर अर्को कार्यपालिका बैठकमा संशोधनसहित पारित गर्ने निर्णय भएको छ । 

अर्को कार्यपालिका बैठक भदौ २२ गते (आइतबार) दिउँसो २ बजे बस्ने निर्णय पनि बैठकले गरेको छ । उक्त बैठकमा नीति तथा कार्यक्रम संशोधनसँगै राजश्व पुनरावलोकनबारे सुझाव, बसपार्क सञ्चालनबारेको प्रतिवेदनलगायतका थाती रहेका एजेण्डाहरुबारे पुनः छलफल हुने भएको छ । 

नगरसभा भदौ २६ गते उपममहानगर परिसरमा हुने

कार्यपालिका बैठकले नगरसभा भदौ २६ गते गर्ने निर्णय पनि गरेको छ । बैठकले नगरसभा दिउँसो १ बजे धरान उपमहानगरपालिका परिसरमा नै गर्ने पनि निर्णय गरेको छ । 

पालिका गानमा विवाद

धरान उपमहानगरपालिकाको पालिका गानको लागि छनौट भएको सृर्जना (गीत)मा भने विवाद भएको छ । उपमहानगरपालिकाले आह्वान गरेवमोजिम इटहरीकी कवयित्री टिका आत्रेयको सृर्जना पालिका गानको लागि छनौट भएको थियो ।

उक्त सृर्जनामा स्रष्टाले श्रमिक भन्ने शब्द उल्लेख गरेपनि मेयर साम्पाङले भने उक्त शब्दलाई परिवर्तन गर्दै श्रमदाता बनाएर गीत रेकर्ड गराएका छन् । उक्त शब्द परिवर्तन भएकोमा लेखिकाले असन्तुष्टी जनाएर आफुहरुलाई फोन सम्पर्क गरेको भन्दै उपमेयर बेघा, वडाअध्यक्षहरुले एजेण्डा स्थगित गर्न आग्रह गरेका थिए ।

उनीहरुले स्रष्टाको सृर्जना वा शब्द परिवर्तन गर्ने अधिकार स्वयम स्रष्टालाई मात्र हुने भएकोले स्रष्टासँग सहमति जुटाएर मात्र पालिका गान सम्बन्धि एजेण्डा पारित गर्ने अडान कार्यपालिकाले राखेको थियो । विवाद बढ्ने भएपछि मेयर साम्पाङले स्रष्टासँग कुरा गर्ने भन्दै एजेण्डा स्थगित गरेका थिए ।