धरान: धरान उपमहानगरपालिकाको कार्यपालिका बैठकमा श्रम सँस्कृति पार्कसहित अन्य पार्कहरुको आम्दानीलाई बजेटमा नदेखाइएको भन्दै खोजी भएको छ । 

आर्थिक बर्ष २०८२/८३ को बजेटबारे आइतबार बसेको बैठकमा कार्यपालिका सदस्य सृर्जना नेपाल र वडा नं १६ का अध्यक्ष मुरारी भट्टराईले पार्कहरु र बेसार उद्योगको आम्दानी किन बजेटमा नदेखाइएको भन्दै प्रश्न गरेका थिए । धरानको भानुचोकमा रहेको घण्टाघर पार्क, वडा १६ को मेयर पार्क र वडा नं १३, २० मा निर्माण भएको श्रम सँस्कृति पार्कको आम्दानी बजेटमा उल्लेख नगरिएको भन्दै कार्यपालिका सदस्य नेपालले प्रश्न गरेकी थिइन् ।

‘श्रम सँस्कृति पार्कबाट बार्षिकरुपमा आम्दानी छ, त्यो देखिएन । पार्कको आम्दानी प्रष्ट आवोस्, कर्मचारी हाम्रो नगरपालिकाको हुन्छ, छाप नगरकै चलेको छ । श्रमदाताले हामीलाई हस्तान्तरण पनि गरिसकेको छ, तर आम्दानीमा देखिएन,’ उनले भनिन् । यस्तै, वडा नं १६ का अध्यक्ष भट्टराईले नगरको डोजर, ट्रिपर, रोलरलगायत साधनहरु भाडामा दिइने गरिएपनि आम्दानी नदेखाइएको भन्दै प्रश्न गरेका थिए । 

srijana nepal

मेयर साम्पाङले ट्रिपर, जोडर, रोलरहरु धेरै सेवामा नै प्रयोग भइरहेको बताएका थिए । कहिले कही ठेकेदारहरुले प्रयोग गर्दा निवेदन दिदा दररेट अनुसार कति घण्टा प्रयोग गर्ने हो, सो अनुसार राजश्वमा आम्दानी बाँधिने मेयर साम्पाङले बताए । उनले पार्कहरुको बिषयमा जवाफ दिदै घण्टाघर पार्कको आम्दानी विगतमा नगरमा नआउने गरेको उल्लेख गर्दे आफुहरु निवार्चित भएपछि भने नगरमा आम्दानी बाँधिने बताए । 
तर उनले आम्दानी भने विविध खातामा रहने गरि भनेर पहिला चलेकै अनुसार आम्दानी नगरमा आएको बताए । ‘अन्य पार्कहरु पनि त्यसरी नै आफ्नो आफ्नो व्यवस्थापन हुदै आएको छ,’उनले भने,‘श्रम सँस्कृति पार्कलाई सुचीकरण गरौं भन्दा तपाईहरुले मान्नुभएन, समस्या त्यहाँ पर्यो । सबै पार्कलाई सुचीकरण गरेर अगाडि बढौं भन्ने मेरो एजेण्डा थियो, थुप्रै रस्साकस्सी भयो ।’

harka

श्रम सँस्कृति पार्कले राम्रो आम्दानी गरिरहेको र त्यसको आम्दानी घण्टाघरको जस्तै छुट्टै कोषमा राखिएको मेयर साम्पाङले बताए । ‘त्यहीबाट आम्दानी गर्ने र त्यहीबाट खर्च गर्ने भन्ने सर्तबाट गएको छ, भोलीको दिनमा आम्दानी भएन भने त्यहाँका कर्मचारी सबैलाई विदा दिनुपर्छ । त्यहाँ भएको टुट्फुट, मर्मतसम्भार हरेक कुरा त्यही कोषबाट खर्च गर्ने भन्ने छ,’ उनले भने ।

आशा गरेको भन्दा धेरै राम्रो पार्क चलेको कारण श्रम सँस्कृति पार्कको आयबाट तारजाली लगाउने, ड्रेन बनाउने काममा, कतिपय तालिम र प्रशिक्षणमा पनि खर्च भएको मेयर साम्पाङले बताए । ती खर्चहरुको रेकर्ड लेखामा रहेको र त्यहाँबाट हेर्न सकिने पनि उनले बताए । बेसारको आम्दानी भने देखाइएको मेयर साम्पाङले बताए ।