धरान: पुर्वका मगर समुदायको मौलिक सँस्कृति हुर्रा नाच शनिबार धरानमा पनि प्रर्दशन गरिएको छ ।
नेपाल मगर संघ धरान उपमहानगर समितिको आयोजनामा धरान १० स्थित सैनिक भवनमा सामुहिक हुर्रा नाच प्रस्तुती भएको हो । कार्यक्रमका बिशिष्ट अतिथि एवं धरानका उपप्रमुख अइन्द्रबिक्रम बेघाले आफ्नो अस्तित्व रक्षा गर्न र इतिहासलाई जिवन्त राख्न मौलिक सँस्कार, सँस्कृतिको संरक्षण, विकास र प्रर्वद्धन आवश्यक भएको बताए । उनले धरान बहुजातिय, बहुसाँस्कृतिक सहर भएको उल्लेख गर्दै भने एकले अर्काेलाई सम्मान गर्दै अघि बढेको पनि धारणा राखे ।

‘एक जातिले अर्को जातिलाई, एक धर्मले अर्को धर्मलाई, एक सँस्कारले अर्को संस्कारलाई सम्मान गर्दे सन्तुलितरुपमा हामी अघि बढेका छौं,’उनले भने,‘यो समाजको जीवनकोरुपमा मानेर अघि बढेका छौं, धरानको बिशेष पहिचान नै यही हो, यही कारणले धरान पृथक छ ।’ धार्मिक, सास्ँकृतिक विविधता र सद्भावलाई धरानको सम्पदा एवं सँस्कृतिक सम्पत्तिकोरुपमा बचाएर लैजान सबै एक भएर अघि बढ्नुपर्ने पनि उनले बताए ।

मगर संघ धरानका अध्यक्ष चित्रराज थापा मगरका अनुसार हुर्रा नाच धनकुटाको चौबिसे क्षेत्रबाट शुरुवात भएको मानिन्छ । यस्तै मोरङको उत्तरी क्षेत्रमा पनि यो नाच नाचिने उनले बताए । यो हुर्रा नाच पुर्वका मगरहरुले मात्र नाच्ने गरेका छन् । नयाँ पुस्तामा मौलिक सँस्कृति हस्तान्तरण गर्दै जर्गेना गर्ने उद्देश्यले बर्षेनी सामुहिकरुपमा हुर्रा नाच प्रर्दशनी भइरहेको पनि अध्यक्ष मगरको भनाई छ ।
तिहारको औशीको दिनदेखि पुर्णेसम्म यो पर्वलाई मनाउने उनले जानकारी दिए । ‘बिशेष गरी यो पर्वलाई भेटघाटकोरुपमा, नाच्नेले नाच्न र सिक्न चाहनेले सिक्नेकोरुपमा मनाउछौं,’ उनले भने, ‘सहरमा सँस्कार सँस्कृति लोप हुदै गइरहेकोले अभिभावकहरुबाट आफ्नो पर्व ग्राहण गर्न एकठाउँमा भेला भइरहेका छौं । नयाँ पिढीले सिक्ने, बुझ्ने अवसर पनि पाउछन् ।’ कार्यक्रममा गायक शिव थापा मगरले हृर्रा गीत पनि गाएका थिए ।












