धरान: धरान उपमहानगरपालिकाका नगर प्रमुखसमेत रहेका हर्कराज राई (साम्पाङ) नेतृत्वको श्रम सँस्कृति पार्टीले संगठन विस्तारलाई तीब्रता दिएको छ । 

कार्तिक १६ गते निर्वाचन आयोगबाट दल दर्ताको प्रमाणपत्र लिएपछि साम्पाङ नेतृत्वको पार्टीले संगठन विस्तारलाई तीब्रता दिएको हो । उक्त पार्टीको चुनाव चिह्न माटो रहेको छ । दल दर्ताको प्रमाणपत्र लिएको भोलीपल्ट साम्पाङ काठमाण्डौंबाट सिधै मोरङको लेटाङमा पार्टीको कमिटी विस्तार गर्न पुगेका थिए । त्यसयता, पुर्वको विभिन्न जिल्लाहरुमा संगठन विस्तार गर्न पुगिसकेका छन् ।

यो पार्टीले पाँचथर, फिदिम, ताप्लेजुङ, तेह्रथुम र संखुवासभा जिल्लामा आमसभा र पार्टी विस्तार कार्यक्रम सम्पन्न गरिसकेको छ । यस्तै, इलामको माङ्सेबुङ, झापाको दमक र सुनसरीको बराहक्षेत्र नगरको चक्रघट्टीमा पनि (आज मंसिर १७) पार्टी विस्तार तथा सभा सम्पन्न गरिसकेको छ । पार्टी विस्तार तथा सभामा जनलहर देखिएको छ । ठुला भनिएका पुराना दलहरुले राजनीतिक गतिविधि तथा कार्यक्रमहरु गरेर गर्न चुनौती सामना गरिरहेको बेला हर्क साम्पाङ नेतृत्वको पार्टीले भने जिल्ला र नगरहरुमा विशाल आमसभा गरिरहेको छ । 

harka party

जनतामा पुराना दलहरुप्रति निराशा भएको र नयाँ वैकल्पिक शक्तिकोरुपमा श्रम सँस्कृति पार्टीमा जनलहर देखापरेको उक्त पार्टीका केन्द्रीय प्रवक्ता अरुण गुरुङ (सत्य)को भनाई छ । इमान्दारिताको जगमा बनेको पार्टी भएकोले जनताले आशा र विश्वास गरेको उनले दाबी गरे । बुधबार बराहक्षेत्रको चक्रघट्टीमा पार्टी विस्तार तथा आमसभामा सहभागी हुन पुगेका गुरुङले भने,‘वैकल्पिक शक्तिकोरुपमा जनताले श्रम सँस्कृति पार्टीलाई लिएको महशुस गरेका छौं । गाउँघरमा समय निकालेर भएपनि जनताको सहभागिता यस्तो विशाल छ ।’ 

हर्क साम्पाङको निशानामा कुलमान घिसिङ

श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ)ले जेन जी आन्दोलनको जगमा बनेको सरकारका मन्त्री कुलमान घिसिङविरुद्ध निरन्तर कडा अभिव्यक्ति दिइरहेका छन् । 

harka party4

उनको पछिल्ला राजनीतिक सभाहरुमा एमसिसिको मुख्य पात्रकोरुपमा घिसिङ भएको भन्दै निशाना साधिरहेका छन् । केही साता अघि इटहरीको तरहरामा पार्टी विस्तारको सभा, दमक र आज चक्रघट्टीमा आयोजित सभामा पनि साम्पाङले घिसिङविरुद्ध अभिव्यक्ति दिए । एमसिसि परियोजना राष्ट्रघाती भएको र उक्त सम्झौता गराउन घिसिङले भुमिका खेलेको भन्दै साम्पाङले देशद्रोहीको संज्ञासमेत दिएका छन् । 

यद्यपी, आइतबार (१४ मंसिर) धरान आएका मन्त्री घिसिङले एमसिसि संसदले आवश्यक छ भनेर पारित गरेको र त्यसमा आफ्नै कुनै हात नरहेको स्पष्ट पारिसकेका छन् । घिसिङले प्रष्टीकरण दिइसकेपनि श्रम सँस्कृति पार्टीका अध्यक्ष साम्पाङले भने संगठन विस्तारको आमसभामा एमसिसिको प्रंसग निकाल्दै घिसिङले राष्ट्रहित विपरीत कार्य गरेको आरोप निरन्तर लगाइरहेका छन् । 

वैकल्पिक शक्तिलाई मिल्न घिसिङको आह्वान, साम्पाङ एक्लै अघि बढ्ने

kulman ghising

धरान आएको बेला मन्त्री घिसिङले नयाँ वैकल्पिक शक्तिहरु एकजुट हुन आह्वान गरेका थिए । उनले नाम नलिएपनि हर्क साम्पाङप्रति लक्षित गर्दै देशले परिवर्तन खोजेको बेला नयाँ वैकल्पिक शक्तिहरु एकजुट हुनुपर्नेमा जोडदिएका थिए । 

‘म सबैलाई आह्वान गर्छु, अब एक भएर देशलाई समृद्धितिर अगाडि बढाउन नयाँ भन्ने र वैकल्पिक शक्तिहरु एकअर्कालाई गाली गर्ने होइन, एकजुट भएर अघि बढ्नुपर्छ,’ उनले साम्पाङतर्फ संकेत गर्दै भनेका थिए,‘धरानमा सामाजिक सञ्जालमा विभिन्न किसिमका कुराहरु देखिरहेको छ, त्यसरी एकआपसमा हिलोछ्याप्ने काम नगरौं, एकतावद्ध भएरु अघि बढौं ।’

उज्यालो नेपाल पार्टी समेत दर्ता गराएका घिसिङले धरान आएर सार्वजनिकरुपमा नै सहकार्यको सन्देश दिएपनि साम्पाङसँग भेट हुन भने सकेन । यता साम्पाङले भने कुलमानको सहकार्य र एकताको प्रस्तावलाई ठाडै अस्वीकार मात्र गरेनन्, आगामी चुनावमा कसैसँग पनि गठबन्धन नगरी पार्टीले एक्लै चुनाव लडेर बहुमत ल्याउने दाबी गरे । आज (बुधबार) चक्रघट्टीमा आयोजित सभामा बोल्दै साम्पाङले भने,‘कसैले मलाई कुलमानसँग मिलिदियोस्, फलनासँग मिलोस् नभन्दिनुस् । अनेकपरिमा मुछिएको मान्छेसँग मिलिदियोस् भन्ने अपेक्षा नगर्नु होला ।’

जनतालाई साथमा लिएर हिड्ने तर दलाल, भ्रष्टहरुसँग कुनै हालतमा पनि नमिल्ने साम्पाङको अडान थियो । ‘हामीलाई जनताको साथ छ, हाम्रो साथ जनतासँग छ, तर दलालसँग मिलिदियोस्, भ्रष्टसँग मिलिदियोस्, एमसिसि मतियारसँग मिलिदियोस्, एमसिसि पास गर्ने दलहरुसँग मिल्दियोस् नभन्नुहोला, हामी मिल्दैनौं,’ उनले भने,‘हामी यो देशको माटोसँग मिल्छौं, ढुंगासँग मिल्छौं, यो देशको माटो र ढुंगा मनराउने स्वदेशी मनभएका मानिसहरुसँग मिल्छौं, तर विदेशी प्रभुलाई हजुर भनेर जिउ पाल्ने मान्छेहरुसँग मिल्नुछैन, देश बेच्नेहरुसँग मिल्नुछैन, हामी मिल्दैनौं ।’

उनले एमसिसिको टिप्पणी उठाउने र हस्ताक्षरसमेत गर्ने मानिस कुलमान घिसिङ भकोले विरोध गरेको बताए । ‘किन विरोध गरेको भन्छन्, देशलाई घात गर्ने मेरै बाउ, आमालाई पनि छोड्दिन,’ उनले भने । 

दुवैको चाहना प्रधानमन्त्री बन्ने !

kulman

कुनै समय सरकारले विद्युत प्राधिकरणको प्रबन्ध निर्देशक पदबाट हटाउदा पुर्नवहालीको माग गर्दै धरानमा साम्पाङले आन्दोलनसमेत गरेका थिए । साम्पाङ घिसिङका शुभेच्छुक नै थिए । 

जेनजी आन्दोलनपछि बनेको सरकारमा घिसिङ तीन वटा मन्त्रालय सम्हाल्ने गरि मन्त्री बनेपछि दुवैको सम्बन्धमा दरार आएको हो । सरकार गठनको कसरत हुँदा साम्पाङ प्रधानमन्त्री र पछि गृहमन्त्री हुने चाहना बोकेर काठमाण्डौं गएका थिए । त्यसक्रममा घिसिङको घरमा दुवैको भेट समेत भएको थियो । त्यतिबेला घिसिङ मन्त्री बनिसकेका थिएनन् । 

जेनजीहरुले पुर्वप्रधानन्यायाधिश शुशिला कार्कीलाई प्रधानमन्त्री बनाएपछि साम्पाङ गृहमन्त्री बन्ने प्रयास गरेका थिए, तर सफल भएनन् । रित्तै धरान फर्किएका साम्पाङलाई घिसिङ मन्त्री बनेको खबर प्रिय थिएन । यो खबर आएदेखि नै साम्पाङले घिसिङबारे सामाजिक सञ्जाल फेसबुकमा टिप्पणी र आलोचन गर्न शुरुवात गरेका थिए । दुवैको भेट हुँदा घिसिङले सरकारमा नजाने भनेको साम्पाङले सार्वजनिकरुपमा नै बताउने गरेका छन् । 

साम्पाङले आफ्नै अध्यक्षतामा श्रम सँस्कृति पार्टी दर्ता गरेर चुनावबाट बहुमत ल्प्रयाएर धानमन्त्री बन्ने लक्ष्य लिएर संगठन विस्तारलाई तीब्रता दिइरहेका छन् । जेन जी आन्दोलनपछि पुराना दल र नेताहरु जनतामाझ जान नसकिरहेको, साथै वैकल्पिक शक्ति बनेर उदाएको रास्वपासमेत आन्तरिक किचलोमा परेको मौकामा साम्पाङको पार्टीले उत्साहजनक समर्थन पाइरहेको छ । 

तर, आफ्नो प्रधानमन्त्री बन्ने यात्रामा तगारो हुनसक्ने अनुमान गरेर साम्पाङले घिसिङलाई निरन्तर निशाना बनाइरहेका छन् । विगतमा उज्यालो नेपाल अभियान चलाइरहेका घिसिङले चुनाव चिह्न विजुलीको बल्भ भएको उज्यालो नेपाल पार्टी समेत दर्ता गराएका छन् । कुनै पदमा नबसे पनि यो पार्टी घिसिङकै पहल र योजना अनुसार दर्ता भएको हो । 

आज (बुधबार) राजधानीमा आयोजित पार्टीको घोषणासभामा घिसिङ प्रमुख अतिथिकोरुपमा उपस्थित भएका थिए । उक्त कार्यक्रममा उनले अब देशकै नेतृत्व गर्नुपर्छं भन्ने लागेको भन्दै आफु पनि प्रधानमन्त्री बन्ने दौडमा रहेको संकेत पनि दिए । घिसिङले मन्त्री पद त्यागेर आगामी चुनावमा उठ्ने चर्चा पनि चलिहेको छ । यसबारे भने उनले प्रतिक्रिया दिएका छैनन् । 

भिडियो:

भिडियो: