हङकङ: नविन सुब्बाद्धारा निर्देशित चलचित्र “गाउँ आएको बाटो” हङकङ एकेडेमी अफ आर्ट अफ पर्फमेन्स फिल्मका विद्यार्थीहरुलाई अध्ययनका लागि बुधधवार प्रदर्शन गरिएको छ ।
विश्वविद्यालयका प्रोफेसरले हङकङको सिनेमा हलमा फिल्म हेर्नुका साथै हङकङका पत्रकारहरुले फिल्मबारे लेखिएको समिक्षा पढेपछि चासो दिएका थिए । त्यसपछि विश्वविद्यालयका फिल्म निर्माणका विद्यार्थीहरु माझ अध्ययनका लागि नेपाली चलचित्र “गाउ आएको बाटो” प्रदर्शन गरिएको निर्माता अमोद राईले जानकारी दिए । यो चलचित्र हङकङको वक्स अफिसमा प्रर्दशन भएको नेपालको पहिलो चलचित्र रहेको समेत निर्माता राईले बताए ।
साथै, गाउँ आएको बाटो विश्वविद्यालयका फिल्म निर्माणका विद्यार्थीहरुलाई अध्ययनका लागि देखाइएको पहिलो विदेशी चलचित्र पनि भएको छ । करिव तीन दर्जन विद्यार्थी र प्रोफेसरले युनिर्भसिटिको आफ्नै थिएटरमा फिल्म हेरेका थिए । फिल्म प्रदर्शन पछि निर्माता राईसंग फिल्म निर्माणका विद्यार्थी र प्रोफेसरहरु बीच चलचित्रबारे अन्तरक्रिया कार्यक्रम पनि भएको थियो ।

करिव एक घण्टा भएको अन्तरक्रियामा चलचित्र “गाउ आएको बाटो” सम्बन्धी डाइरेक्सन, छायांकन, निर्माण, अभिनय, एडिटिङ, ध्वनि लगायतको बिषयमा अन्तरक्रिया गरेका थिए । अन्तरक्रियामा विश्वविद्यालयका प्रोफेसर सिन यीम र वर्न लोले मध्यस्थकर्ताको भुमिका निर्वाह गरेका थिए ।
गाउँमा शहरीकरण हुदै सडक र अन्य सुविधा आउदा त्यसले गाउँको रैथाने मौलिकता, पहिचान र संस्कृति माथि परेको असरबारे चलचित्र “गाउ आएको बाटो” बनेको हो । यो फिल्म हङकङसंगै युके र थाइल्याण्डमा समेत वक्स अफिसमा रिलिज भएको थियो । यसले स्तरिय नेपाली चलचित्र बनाउन सके विदेशी हलहरुमा समेत नेपलाी फिल्महरुलाई व्यवसायीक रुपमा फिल्म चलाउन बाटो खुलेको पनि उनले बताए ।
यो टोरन्टो अन्तराष्ट्रिय फिल्म फेस्टिवल, वुसान साउथ कोरिया, सालपाउलो व्राजिल, गोटनवर्ग स्विडेन, मामि इन्डिया र चाइननाको वेइजिङ अन्तराष्टिय फिल्म फेस्टिवलमा समेत प्रदर्शन भएको थियो ।
नेपालमा सुपरहिट रहेको चलचित्रमा दरिएको “गाउ आएको वाटो” मा कलाकारहरु दयाहाङ राई, पशुपति राई, वाल कलाकार पसन राई र प्रेम सुव्वाको मूख्य भुमिका रहेको छ । चलचित्रको छायांकन अधिकांश भोजपुर जिल्ला र केहि भाग धरानमा गरिएको थियो ।
तस्विरः बिकास चाम्लिङ राई







