धरान: उज्यालो नेपाल पार्टीका केन्द्रीय सदस्य जेन्टल लावतीले उक्त पार्टी कुलमान घिसिङकै नेतृत्वमा भएको बताएका छन् । 

बुधबार धरानमा आयोजित १ नम्बर प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै लावतीले घिसिङ र उज्यालो नेपालबारे अहिले धेरै प्रश्न र जिज्ञासा उठिरहेको भन्दै प्रष्ट पारेका थिए । उनले पार्टीको विधानमा भएको व्यवस्थाको कारण पार्टी अध्यक्षमा कुलमान घिसिङ नलेखिएको पनि प्रष्ट पारे । 

‘हाम्रो पार्टीको विधानले अध्यक्षलगायत पदाधिकारीहरु मन्त्री भएको खण्डमा अध्यक्ष, पदाधिकारीमा बस्न नपाउने भन्ने लेखिएको कारण उहाँलाई अहिले अध्यक्ष बनाउन सकेनौं,’ लावतीले भने,‘जब उहाँले मन्त्री छोड्नुहुन्छ, उहाँ पार्टीको अध्यक्षको कुर्सीमा आउनुहुन्छ । यो कुलमान घिसिङकै पार्टी हो भनेर बुझ्दा हुन्छ, यो ३ करोड नेपालीकै पार्टी हो भनेर बुझ्दा हुन्छ ।’

नेता लावतीले मन्त्री घिसिङलाई एमसिसिसँग जोडेर हर्क साम्पाङले लगाइरहेको आरोपप्रति पनि रोष प्रकट गरे । एमसिसि सरकार र सदनले पास गरेको प्रष्ट हुँदा हुदै पनि कर्मचारीलाई दोष थोपरेर लागी गरिरहेको भन्दै उनले त्यसबेला सरकारको नेतृत्व गर्ने देउवा र पास गर्ने सांसदहरुलाई साम्पाङले गाली नगरेर कर्मचारीलाई गरिरहेको भन्दै आक्रोश पनि पोखे ।

ujyalo2

‘सरकार कस्ले नेतृत्व गरेको थियो ? सदनमा को को सभासद थियो ? उहाँहरुप्रति लक्षित नगर्ने, उहाँहरुप्रति नबोल्ने ? हिजो देउवाको सरकारमा एमसिसि पास भएको होइन ?’ उनले भने,‘तर देउवालाई गाली नगर्ने, अनि नयाँ उदाउने शक्तिलाई गाली गर्ने हो भने के पुराना पार्टी, नेतृत्वलाई नै स्थापित गर्न खोजेको हो त ?’

लावतीले नयाँ शक्तिहरु देशलाई नेतृत्व गर्न आएको हो भने मिलेर जानुपर्ने पनि बताए । ‘नयाँ शक्तिहरु मिलेर देशलाई बर्बाद गर्ने पुरानाहरुलाई धुलो चटाउनुपर्छ । त्यो योजना, रणनीति र बुझाई उज्यालो नेपालसँग छ,’ उनले भने, ‘हाम्रो लागी कोही दुश्मन छैन, मिलेर जान चाहन्छौं । मिल्नुपर्छ भन्दा कोही कोही चाहदैन भने उज्यालो नेपाल नै काफी छ ।’ 

देशमा धेरै आन्दोलन, क्रान्तिहरु भएको र पार्टीका नेताहरुले सरकारमा बसेर सत्ता चलाए पनि परिवर्तन नभएपछि उज्यालो नेपाल पार्टी आवश्यक भएको पनि लावतीले बताए । ‘विकास र समृद्धिको कुरा गरेर आउने तर सत्तामा पुगेपछि देश झन् झन् भ्रष्टचारको दलदलमा फस्यो । अन्धकार छायो, त्यसको विरुद्धमा उज्यालो नेपाल पार्टी आवश्यक पर्यो,’ उनको भनाई थियो । 

भिडियो: