धरान: सातौं कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजिपी रनिङ फुटबल प्रतियोगिताको छै्रटौं दिन आयोजक नेपाल पुलिस स्कुल (रातो) र सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैचा सेमीफाइनल प्रवेश गरेको छ ।
धरान १३ स्थित नेपाल प्रहरी प्रदेश कार्यालयको खेल मैदानमा आज (सोमबार) भएको पहिलो क्वार्टरफाइनल खेलमा आयोजक पुलिस (रातो) ले निधि सेकेण्डरी स्कुल विर्तमोड, झापालाई २-१ गोलअन्तरले हराउदै अन्तिम चारमा स्थान बनाएको हो । प्रतिस्पर्धात्मक खेलमा अग्रता भने निधि स्कुलले लिएको थियो । पहिलो हाफको ९ मिनेटमा निधिका जर्सी नं ७ का आदर्श मेचेले गोल गरेका थिए ।
खेलमा निधिको अग्रता भने धेरै लामो समय टिकेन । पहिलो हाफको २४ औं मिनेटमा पुलिस स्कुलका जर्सी नं ९ का उज्वल थापाले बराबरी गोल गरे भने दोस्रो हाफको ४५ औं मिनेटमा क्याप्टेन जर्सी नम्बर १० का समिर राईले निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच पुलिसकै समिर राई घोषित हुदै नगद १ हजार ५ र मेडल हात पारे । उनलाई प्रमुख अतिथि एवं प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुँयालले पुरस्कार प्रदान गरेका थिए ।

यसैगरि, आजै भएको दोस्रो क्वार्टरफाइनल खेलमा सिद्धार्थ सेकेण्डरी स्कुल सुन्दरहरैँचाले टाइब्रेकरमा धरानको माउण्ट हर्मन एकेडेमीलाई हराउदै सेमीफाइनल यात्रा तय गर्यो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि टाइब्रेकरबाट छिनोफानो भएको थियो । टाइब्रेकरमा सिद्धार्थले ३-२ ले बाजी मार्यो ।
टाइब्रेकरमा सिद्धार्थका जर्सी नं. ९ का अनिस राई, जर्सी नं १६ का निपेश तामाङ र जर्सी नं. ५ का कमल कार्कीले गोल गरेका थिए । जर्सी नम्बर ११ का जेम्स देवान र जर्सी नं. १ का आयुष लिम्बूको प्रहार भने खेर गएको थियो ।
माउण्ट हर्मनबाट जर्सी नं ९ का सुदिन तामाङ र जर्सी नं. १५ का प्रिन्स बिष्टको प्रहार मात्र सफल भएको थियो । जर्सी नं १० का सिकुम लावती, जर्सी नं. ४ का राजदिप तामाङ र जर्सी नं. २१ का सुवर्ण लोहनी गोल गर्न नसकेपछि माउण्ट हर्मनको यात्रा क्वार्टरफाइनलमा टुंगियो ।

खेलको म्यान अफ दि म्याच सिद्धार्थका गोलकिपर आयुष लिम्बू घोषित हुदै नगद १ हजार ५ र मेडल पाए । उनलाई पनि प्रमुख अतिथि एवं एसएसपी ज्ञानेन्द्र प्रसाद फुयालले पुरस्कार प्रदान गरेका थिए । माउण्ट हर्मन एकेडेमीलाई नेपाल पुलिस स्कुलकी प्राचार्य मनिका सुब्बा राईले सहभाथिगताको प्रमाणपत्र प्रदान गरेकी थिइन् ।
मंगलबार (भोली) तेस्रो क्वार्टर फाईनल खेल प्रभात सेकेण्डरी इङ्लिस स्कुल धरान र दिल्ली पब्लिक स्कुल विराटनगर मोरङबीच दिउँसो १ बजे हुनेछ भने चौथो क्वार्टर फाइनल खेल पिनाकल ज्ञान मन्दिर कानेपोखरी र नेपाल पुलिस स्कुल धरान (निलो) बीच दिउँसो २ः३० बजे हुने आयोजकले जानकारी दिएको छ ।









