धरान: गुरुङ समुदायको चाड तमु ल्होसारको अवसरमा मंगलबार धरान १८ स्थित गुरुङ गुम्बा अगाडि चोकमा बुद्धको मुर्ति राख्न शिलान्यास गरिएको छ ।
नेपाल बौद्ध गुम्बा गुरुङ सेवा समिति तथा गुरुङ आमा समुह धरानले तमु ल्होसारको अवसरमा शुभकामना आदनप्रदान कार्यक्रमसँगै बुद्धको मुर्ति शिलान्यास गरिएको हो । कार्यक्रमका प्रमुख अतिथि एवं धरानका नगर प्रमुख हर्कराज राई (साम्पाङ)ले मुर्तिको शिलान्यास गरेका थिए । शिलान्यास पश्चात नगर प्रमुख राई निर्माणाधिन गुम्बा भित्र प्रवेश गरेर पूजासमेत गरेका थिए ।
आयोजक समितिले बुद्धको मुर्ति शिलान्यास गरिएको चोकलाई गुम्बा चोक राख्न कार्यपालिका बैठकबाट निर्णय गरिदिन आग्रहसमेत गरेको छ । ल्होसारको अवसरमा गुम्बामा विभिन्न कार्यक्रमहरु पनि मनाइएको थियो । गुरुङ समुदायले सर्प वर्गको विदाई गरेर घोडा वर्गमा प्रवेश गरेको मानिन्छ ।
भिडियो:
नगर प्रमुख राईले ल्होसारको शुभकामना दिदै निर्माणाधिन गुम्बामा देश, विदेशमा आर्थिक सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएका थिए । उनले श्रमदानले देश बनाउन सकिन्छ भन्ने उदाहरण धरान भएको पनि बताए ।
आफु निवार्चित भएर आएपछि साँस्कृतिक कार्यक्रम तथा विकासमा धेरै लगानी गरेको दाबी गर्दै मौलिक सँस्कृतिलाई पुस्तान्तरण गर्नुपर्ने पनि बताए । धरान १६ मा बुहभाषिक पाठशाला निर्माण गरेको खुलाउदै उनले जातीय भाषा पठनपाठन गराउने उद्देश्य रहेको पनि बताए ।
भिडियो:
तमु ह्युल छोज धीं गुरुङ राष्ट्रिय परिषद केन्द्रीय समिति सदस्य धिरज गुरुङले निर्माणाधिन गुम्बालाई सम्पन्न गराउने लक्ष्य लिएर सबैले साथ सहयोग गर्नुपर्ने बताए । उपमहानगरपालिका, वडा १८ का अध्यक्ष प्रविण राईसहित सहयोगीहरुलाई धन्यवाद दिदै उनले गुम्बा अगाडि बुद्धको मुर्ति स्थापना हुनु पनि सबैको लागि गौरवको बिषय भएको बताए । गुम्बाका निवर्तमान अध्यक्ष पृथ्वीमान गुरुङले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
















