धरान: सुनसरी निर्वाचन क्षेत्र नं १ मा नेकपा एमालेको उम्मेद्वार परिवर्तन भएको छ ।
एमाले सचिवालयको बैठकले शनिबार प्रदेश कमिटी सदस्य सुर्य पन्धाकलाई उम्मेद्वार बनाउने निर्णय गरेको थियो । तर, आज (आइतबार) भने उनको नाम हटाएर एमालेले सुनसरी १ मा युवा नेता टिका माङ्लेनलाई उम्मेद्वार बनाउने निर्णंय गरेको छ । विद्यार्थी राजनीतिबाट आएका माङ्लेन एमाले सुनसरी जिल्ला कमिटी सदस्य हुन् ।
एमाले नेता जगदीश कुसियैतले सुनसरी १ मा उम्मेद्वार परिवर्तन भएको पुष्टि गरे । यद्यपी, उनले किन उम्मेद्वार परिवर्तन भएको हो भनेर आफु र प्रदेशका इञ्चार्ज शेरधन राईलाई समेत जानकारी नभएको बताए । उनले भने,‘प्रदेश इञ्चार्ज र म सँगै काठमाण्डौंबाट आयौं, प्लेन ल्याण्ड हुँदा जानकारी भयो । तर, कारण अन्योलमा छौं ।’
नेता कुसियतका अनुसार शनिबारको पदाधिकारी बैठकले उम्मेद्वार संशोधन र बाँकी रहेको क्षेत्रको उम्मेद्वार तोक्ने अधिकार पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सुम्पिएको थियो । सोही अनुसार पार्टी अध्यक्षले निर्णय गरेको हुनसक्ने उनको भनाई छ । ‘पदाधिकारी बैठकले संशोधन गर्ने र होल्ड गरेको ठाउँमा उम्मेद्वार तोक्ने अधिकार अध्यक्षलाई दिएको थियो,’ उनले भने ।







