धरान: फागुन २१ को प्रतिनिधिसभा निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा नेपाली कम्युनिष्ट पार्टीबाट सुर्यबहादुर भट्टराई (मनोज)ले टिकट ल्याएका छन् । 

केही दिनअघि नै नेकपाले उनलाई उम्मेद्वार उठाउने चर्चा भएपनि औपचारिकरुपमा पार्टीबाट पत्र भने पाएका थिएनन् । भट्टराईले उम्मेद्वारको टिकट सोमबार पार्टी नेता सावित्रीकुमार काफ्लेबाट पाएका छन् । उम्मेद्वार हुनकै लागि भट्टराईले धरानको वडा नं. १७ को वडाअध्यक्ष पदबाट आइतबार कार्यवाहक मेयर अइन्द्रबिक्रम बेघालाई राजिनामा बुझाएका थिए । मेयरबाट हर्क साम्पाङले पदबाट राजिनामा दिएलगत्तै भट्टराईले पनि बुझाएका थिए । 

manoj.jpeg

भट्टराई २०७४ को पहिलो र २०७९ को दोस्रो स्थानीय तह निर्वाचनमा तत्कालिन नेकपा माओवादी केन्द्रबाट वडा १७ को अध्यक्षमा निवार्चित भएका थिए । उनले हर्क साम्पाङलाई चुनावमा हराउने घोषणासहित सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वारी दिन लागेका हुन् । श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष साम्पाङ सुनसरी क्षेत्र नं १ बाट उम्मेद्वारी दिदैछन् । 

रास्वपाबाट पुनः सरिन

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट गोमा तामाङ (सरिन)ले पुनः टिकट पाएका छन् । उनले पनि सोमबार पार्टीबाट उम्मेदवारको औपचारिकरुपमा पत्र पाइसकेका छन्। 

sarin

वास्तविक नाम गोमा तामाङ भएपनि उनी सामाजिक सञ्जालमार्फत सरिन भनेर परिचित भएका हुन् । उनी २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि रास्वपाबाट उम्मेद्वार थिए । त्यसबेला एमालेको समर्थन पाएको जसपाका नेता अशोक राईसँग सरिन ४५३ मतान्तरले पराजित भएका थिए । 

अशोक राईले १७ हजार ५९ मत पाएर विजेता हुँदा निकटतम प्रतिद्धन्दी सरिनले १६ हजार ६०६ मत पाएका थिए । तेस्रो भएका माओवादीका मुक्साहाङ मेन्याङ्बोले १३ हजार ८७ मत पाएका थिए ।

सुदन किरातीले हर्क साम्पाङलाई गरे समर्थन

सुनसरी १ र भोजपुरबाट प्रगतिशिल लोकतान्त्रिक पार्टीको सिफारिशमा परेका सुदन किरातीले भने कतैबाट पनि उम्मेद्वारी नदिने भएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत उनले यो निर्वाचनमा उम्मेद्वारी नदिने घोषणा गरेका हुन् । 

sudan copy

नेता किरातीले सुनसरी १ मा हर्क साम्पाङलाई र भोजपुरमा पनि श्रम सँस्कृति पार्टीबाट उम्मेद्वारी दिएका ध्रुव राईलाई सहयोग गर्ने बताएका छन् । किरातीले सुनसरी १ बाट उम्मेदवारी दिन चाहेका थिए । तर, आफ्नो उम्मेद्वारीले नयाँ राजनीतिक शक्तिबीच हुने प्रतिस्पर्धाले दुवै पक्षलाई क्षति हुने र पुराना दलहरुले लाभ पुग्ने सुझावलाई आत्मसात गर्दै उक्त निर्णयमा आफु पुगेको पनि उनले खुलाएका छन् । 

सुनसरी १ मा कांग्रेस र उज्यालो नेपालबाट अझै टुंगो लागेन उम्मेद्वार

बिशेष महाधिवेशनबाट नयाँ नेतृत्व पाएपनि आन्तरिक किचलोमा फसेको नेपाली कांग्रेसले सुनसरी क्षेत्र नं १ मा सोमबार रातीसम्म पनि उम्मेद्वार तय गर्न सकेन। सुनसरी १ बाट उमेश थापा, सुजेन्द्र तामाङ, सुवास राई, सुवास घिसिङलगायत नेताहरुको नाम चर्चामा थियो । 

यसैगरि, उज्यालो नेपाल पार्टीले पनि उम्मेद्वार टुंगो लगाएको छैन । यो पार्टीबाट जेन्टल लावती र अमर इजमको नाम सिफारिश भएको छ । दुईमध्ये लावतीले टिकट पाउने सम्भावना भएपनि अन्य विकल्पमा पनि पार्टीले छलफल गरिरहेको बताएको छ । नेकपा एमालेबाट युवा नेता टिकाराम माङ्लेनले टिकट पाएका छन् ।