धरान: प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि सुनसरी क्षेत्र नं १ मा मनोनयन पत्र दर्ता गराएका उम्मेद्वारहरुको विरोधमा उजुरी नपरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मंगलबार ७ जना स्वतन्त्र गरि कुल २६ जनाले उम्मेद्वारी मनोनयन दर्ता गराएका थिए । उम्मेद्वारी दर्ता गराएका कसैको पनि विरोधमा उजुरी नपरेको निर्वाचन अधिकृत दिव्यराज घिमिरेले जानकारी दिए । उम्मेद्वारको विरोधमा माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उजुरी दिने समय तोकिएको थियो । ‘बुधबार उम्मेद्वारको विरोधमा उजुरी दिने निर्वाचनको कार्यतालिमा थियो, तर कसैको विरोधमा पनि उजुरी परेन,’ उनले भने ।
माघ ८ गते बिहिबार उम्मेदवारको नामावली प्रकाशन गर्ने निर्वाचन कार्यतालिका रहेको छ भने माघ ९ गते उम्मेद्वारको नाम फिर्ता लिने, उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, उम्मेद्वारलाई निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचनको कार्यतालिका रहेको छ ।
सुनसरी १ मा मेयर पदबाट राजिनामा दिएका श्रम सँस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राई, वडाअध्यक्ष पदबाट राजिनामा दिएका नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराई (मनोज), नेकपा एमालेका टिकाराम लिम्बु, नेपाली कांग्रेसका सुजेन्द्र गोले तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीका गोमा तामाङ (सरिन), राप्रपाका उद्धव श्रेष्ठ, उज्यालो नेपाल पार्टीका डम्बर लावती (जेन्टल), नेपाल मजदुर किसान पार्टीका महेश श्रेष्ठलगायतले उम्मेद्वारी दिएका छन् ।








