धरान: फागुन २१ को निर्वाचनका लागि सुनसरी क्षेत्र नं १ मा विभिन्न राजनीतिक दल, स्वतन्त्र उम्मेद्वार गरी कुल २६ जनाहरुले मंगलबार उम्मेद्वारी मनोनयन पत्र दर्ता गराएका छन् ।
धरान ८ सभागृहस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार ७ जना स्वतन्त्रसहित १९ जना राजनीतिक दलबाट उम्मेद्वारी मनोनयन दर्ता भएको हो । उम्मेद्वारी मनोनयन दर्ता गराउन जादा शक्ति प्रर्दशनसहित राजनीतिक दलहरु सभागृह पुगेका थिए । पुराना र ठुला राजनीतिक दलहरुसँगै नयाँ दलहरु पनि र्यालीसहित मनोनयन दर्ता गर्न पुगेका थिए ।
सबैभन्दा पहिला नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार महेश श्रेष्ठ ब्यानर र र्यालीसहित पुगेका थिए । उनीपछि श्रम सँस्कृति पार्टीबाट उम्मेद्वारी दर्ता गराउन केन्द्रीय अध्यक्ष हर्कराज राई (साम्पाङ), नेकपा एमालेका टिकाराम लिम्बु, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेपाली कम्युनिष्ट पार्टीका सुर्यबहादुर भट्टराई (मनोज) पनि र्यालीसहित उम्मेद्वारी मनोनयन पत्र दर्ता गर्न पुगेका थिए ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेद्वार उद्धव श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेद्वार गोमा तामाङ (सरिन), उज्यालो नेपाल पार्टीका उम्मेद्वार डम्बर लावती (जेन्टल), जनता समाजवादी पार्टीका सञ्जय राई, जनता समाजवादी पार्टी नेपालका नगेन्द्र बहादुर लिम्बुले पनि र्यालीसहित उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् ।
यसैगरि, मंगोल नेशनल अर्गानाइजेशनबाट राजेन्द्र गुरुङ, राष्ट्रिय झापा पार्टीबाट भुपी राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट राजकुमार लिम्बु, नेकपा माओवादीबाट दिलकुमार बास्तोला, संयुक्त नागरिक पार्टीबाट नरेश बिक, नेपाल जनमुक्ति पार्टीबाट यामबहादुर लिम्बु, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट रामबहादुर बिष्ट, मितेरी पार्टी नेपालबाट रक्षकुमार राई र नेपाली जनश्रमदान सँस्कृति पार्टीबाट राजकुमार राईले पनि उम्मेद्वारी मनोनयन दर्ता गरेको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका ओमकृष्ण उदास, चेतबहादुर राई, जीवनकला राई, देउमान लिम्बु, शेषप्रसाद रेग्मी, सुवास विश्वकर्मा र सुमित राईले स्वतन्त्र उम्मेद्वारी दर्ता गराएका छन् । सुनसरी निर्वाचन क्षेत्र १ मा कुल १ लाख ५० हजार ३९३ जना मतदाता रहेका छन् । यसअघि २०७९ सालमा भएको निर्वाचनामा यो क्षेत्रबाट एमालेको समर्थनमा जनता समाजवादी पार्टीका नेता अशोक राई निवार्चित भएका थिए ।










