धरान: बृटिश आर्मीका देउकुमार र क्याप्टेन दिपेन्द्र राई दाजुभाई हुन् । दुवै दाजुभाई ब्रिटिश आर्मी हुनुको संयोगले मात्र होइन, गल्फ खेलप्रतिको मोहले पनि यतिबेला धरान १८ स्थित धरान गल्फ क्लबमा भेटिन्छन् ।
दुवैमा गल्फ खेलप्रतिको लगाव यति छ कि चार दिनअघि दाजुभाई मिलेर ३ लाख रुपैया लगानीमा डि एन डि एमेच्योर ओपन गल्फ प्रतियोगिता नै आयोजना गरिदिए । यो प्रतियोगिता यसकारण पनि बिशेष रह्यो, एमेच्योर गल्फ प्रतियोगितामा नगद पुरस्कार खेलाडीले पाए ।
अहिलेसम्म नेपालमा कुनै पनि एमेच्योर प्रतियोगितामा नगद पुरस्कार पनि वितरण गरिएको यो नै पहिलो भएको नेपाल गल्फ संघका केन्द्रीय उपाध्यक्ष एवं धरानका पुर्वनगरप्रमुख तिलक राईले बताए ।
'हामी गल्फ संघले पनि गर्न नसकेको प्रतियोगिता उहाँहरुले गरिदिनुभयो, बजेटको कारण हामीले त्यता ध्यान दिनसकेनौं, यसको लागि धन्यवाद दिन चाहन्छौं,' उपाध्यक्ष राईले भने, 'यो उहाँहरुको खेल र देश प्रतिको भावना हो । थुप्रै लाहुरे दाजुभाईहरु हुनुहुन्छ, अरुले पनि यसरी नै प्रतियोगिता गर्नसक्नुहुनेछ र अरु प्रतियोगिता थपिन्छ भन्ने लाग्छ ।'

प्रायोजक दाजुभाई देउकुमार र दिपेन्द्रले यो प्रतियोगितालाई पाँच बर्षसम्म निरन्तरता गर्ने पनि प्रतिवद्धता जनाएका छन् । क्याप्टेन दिपेन्द्रले राम्रा गल्फ खेलाडी उत्पादन होस् भन्ने उद्देश्यले दाजु (देउकुमार)सँग मिलेर प्रतियोगिता आयोजना गरेको बताए । 'देशको लागि पनि केही गरौं न भन्ने सोचेर प्रतियोगिता गर्न लगानी गरेका हौ,' उनले भने, 'हामी गल्फ खेल्छौं, त्यसैले देशको लागि राम्रो खेलाडी उत्पादन होस्, यही खेलबाट पैसा पनि कमाउन सक्छन् भनेर आयोजना गरेका हौं ।'
प्रायोजक दाजुभाईले कुल ३ लाख रुपैया धरान गल्फ क्लबलाई उपलब्ध गराएका थिए । त्यसमध्ये एक लाख रुपैयाले गल्फ कोर्ष मर्मतसम्भार, व्यवस्थापनलगायतमा खर्च भएको थियो भने २ लाख रुपैया नगद पुरस्कारमा विनियोजन गरिएको थियो । पहिलो पटक नगद पुरस्कार पाउने र ओपन प्रतियोगिता पनि आयोजना भएकोले नेपालका नम्बर वान एमेच्योर खेलाडी राहुल बिकसहित देशभरबाट सिंगल ह्याण्डीक्याप ३८ जना एमेच्योरहरु सहभागी भएका थिए ।

दुई दिन आयोजना भएको प्रतियोगिता नम्बर वान एमेच्योर राहुल बिक च्याम्पियन हुदै नगद ५० हजार र ट्रफी जिते । दोस्रो भएका प्रकृत तामाङले ३० हजार र तेस्रो भएका धरानका सुन्दर राईले २४ हजार हात पारे । प्रतियोगितामा दशौं स्थानसम्मका खेलाडीहरुले नगद पुरस्कार पाएका थिए ।
अर्को बर्ष नगद पुरस्कार वृद्धि गरेर प्रथम हुने खेलाडीलाई ८० हजार रुपैया दिइने पनि प्रायोजक एवं ब्रिटिश गोर्खा क्याप्टेन दिपेन्द्र राईले बताए । एमेच्योर खेलाडीहरु प्रायः क्याडीहरु खेल्ने गर्छन् । विजेता हुँदा पनि नगद पुरस्कार नपाउदा उनीहरु खेल स्तर राम्रो नभै प्रो टर्न (व्यवसायिक) हुन हतारिने भएकोले एमेच्योर हुँदा नै पनि पैसा कमाउन सकोस् भनेर प्रायोजन गरेको उनको भनाई छ । 'एमेच्योर खेलाडी हुँदा पनि पैसा पाउने भएपछि अलिक लामो समय एमेच्योर नै रहेर खेल्दा क्षमता अझ निखार आउछ,' उनले भने, 'जसले प्रतिभावान खेलाडी जन्माउन मद्दत पुग्छ भन्ने आशा छ ।'







