धरान: सातौं मिस्टर कोशी प्रदेश स्तरीय खुल्ला शारीरिक सुगठन प्रतियोगिता २०८२ आगामी चैत महिनाको अन्तिम साता हुने भएको छ ।
आयोजक एलाइनेट जिमले मंगलबार धरान १८ स्थित एमसि क्याफेमा पत्रकार सम्मेलन गर्दै चैत २७ र २८ गते प्रतियोगिता आयोजना गर्ने जानकारी दिएको हो । एलाइनेटका अध्यक्ष बिक्रम लिम्बूका अनुसार प्रतियोगिता धरान ८ स्थित सभागृहमा हुनेछ । एलाइनेटको यो २३ औं प्रस्तुती हो भने मिस्टर कोशी सातौं सँस्करण हो । पहिलो दिन प्रि जजिङ र दोस्रो दिन फाइनल च्याम्पियनसिप हुने पनि उनले बताए ।
प्रतियोगितामा ५५ केजी, ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजी तौल समुहमाथिको स्पर्धा हुनेछ । प्रि जजिङबाट प्रत्येक तौल समुहबाट ५ जना खेलाडी छनौट गरि फाइनलमा ३० जना सहभागी हुनेछन् । फाइनलमा प्रत्येक तौल समुहको प्रथम हुने खेलाडीले मात्र ओभरअल राउण्डमा उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् ।
ओभरअल राउण्डमा प्रथम हुने खेलाडीले सातौं मिस्टर कोशीको उपाधि ट्रफीसँगै नगद १ लाख २५ हजार पाउनेछन् भने दोस्रो, तेस्रो, चौथो, पाँचौं र छैटौं हुने खेलाडीले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २५ हजार र २० हजार नगद पुरस्कार पाउनेछन् । यस्तै, बेष्ट पोजर, मस्कुलर मेन, मोस्ट इम्प्रुभ र बेष्ट टिमले जनही ५ हजार नगद पुरस्कार पाउने पनि अध्यक्ष लिम्बुले जानकारी दिए ।

प्रदेश स्तरीय प्रतियोगिता भएपनि सुनसरी, मोरङ र झापाका क्लबहरुबाट खेलाडीहरु सहभागी हुने आयोजकले जनाएको छ । पहाडी जिल्लाहरुमा क्लबहरु भएपनि फिटनेसको लागि मात्र जाने गरेको र खेलतर्फ आकर्षण नभएको पनि आयोजक क्लबका अध्यक्ष लिम्बुले बताए । ‘खेलाडीको संख्या घट्दो छ । यो खेलमा डाइटको लागि नै धेरै खर्च हुन्छ, पुरस्कार राशी कम नै छ,’ उनले भने,‘आर्थिक समस्याले पुरस्कार राशी बढाउन सकेको छैनौं ।’ यद्यपीप्, आयोजकले खेलाडीहरुलाई २ दिनको ६ सय रुपैया भत्ता र बस्ने व्यवस्थाप पनि गरिने उनले बताए ।
प्रतियोगितामा कुल ९ लाख ६० हजार खर्च हुने अनुमान गरिएको छ । धरान उपमहानगरपालिकाबाट सिमित आर्थिक सहयोग पाए पनि बाँकी साथीभाई, कार्यसमितिबाट सहयोग जुटाएर प्रतियोगिता आयोजना गर्नुपरिरहेको पनि उनले बताए । ‘प्रतियोगिता आयोजना गर्नु नै महत्वपुर्ण कुरा हो,’ उनले भने ।
नेपालमा शारीरिक सुगठन प्रतियोगिता धरानबाट नै शुरुवात भएको इतिहास छ । सबैभन्दा पहिला २०२७ सालमा मिस्टर धरान भएको थियो । त्यसैले पनि स्थानीय सरकार र प्रदेश सरकारले यो खेलको विकास, प्रर्वद्धन गर्न ध्यान दिनुपर्ने पनि अध्यक्ष लिम्बुको भनाई छ ।
सल्लाहकार राजेशमान श्रेष्ठले खेलकुदको सहर भनेर चिनिएको धरानमा खेलकुदलाई बचाउन सबै पक्षको सहयोगको खाँचो रहेको बताए । यस्तै, अर्का सल्लाहकार दिपेश शाक्यले धरान उपमहानगरमा खेलकुद विकास समिति गठन हुनुपर्नेमा उनले जोड दिए ।
भिडियो:






