पश्चिमी क्यानाडाको बृटिश कोलम्बिया राज्यको सरि क्षेत्रमा हिन्दु बुद्धिस्ट फाउण्डेशन छ । फाउण्डेशनको सभाहलमा भरिभराउ उपस्थित बीच नेपाली क्यानेडियन वमन सोसाइटीको अधिवेशन चलिरहेको थियो । माहोल निकै भावुक बनेको थियो । जुन बेला सोसाईटीको अध्यक्ष सुनिता तामाङ बोल्दै थिइन । उनी संस्थामा रहँदा गरिएका संघर्ष र संस्थागत कार्यमा भएका विभिन्न आरोह अवरोह बताउँदैथिइन । कता कता भावुक बन्दै अनुभव बताउँदै थिइन् ।
उनी भावुक मुद्रामा संस्थामार्फत गरिएका विभिन्न गतिविधिको कार्यसम्पादन सुनाउँदै थिइन । आफ्नो कार्यसम्पादन वाचन गर्दै गर्दा सिमसिम भइहालिन, आँखामा संस्थाप्रतिको भावना र प्रेम छचल्किइरहेको थियो । त्यो आँशु संस्थाको कुर्सी छोड्नुको थिएन, थियो त उनले अग्रजहरुले स्थापना गरेर अगाडी बढाएको संस्थासँगको गहिरो सम्बन्ध नै हो । उनी भन्छिन्, ‘मेरो आमा पुस्ताले उठाएर ल्याउनु भएको संस्थामा वहाँहरुको विरासतलाई काँध हाल्नु पाउदा गौरवान्वित बनेकी छुँ ।’
यो संस्थागत उपलब्धि सामान्य प्रयासले सम्भव थिएन । यो त उनको लामो साधनाको प्रतिफल थियो । उनले उतिबेलै सामाजिक कार्यमा पाइला टेकिसकेका थिइन । स्कुले जीवन पनि सामाजिक कार्यको संलग्नता र विभिन्न सामाजिक अभियानमा सहकार्यले उनले आफ्नो पहिचान स्थापित गर्दै आएकी थिइन् । नेपालमै रहँदा सामाजिक संस्थामा आवद्ध भएर सामाजिक कार्यको हिमाल चढ्दै गरेकी सुनितालाई विदेशी भुमीमा पनि समाज र सामाजिक भन्ने शब्दसँग टाढा रहनै सकिनन् ।
बैदेशिक शिक्षा आर्जनको त्यो कठिनपुर्ण घडिमा पनि उनी सामाजिक कार्यमा संलग्नताबाट टाढिन सकेनन् । नेपालको अनुभवको कारण उनलाई यहाँ संस्थामा काम गर्न धेनै नै सहज भयो । उनी नेपालको त्यो पलहरुलाई स्मरण गर्दै भन्छिन्, ‘जानेर या नजानेर सामाजिक कार्यमा मन गढ्यो त्यो पत्तो भएन तर मेरो स्कुलले पनि विभिन्न सामाजिक कार्यमा सहभागीता जनाएर पनि मेरो यो क्षेत्रमा मन गढेको हो ।’
बोम्ताङ देखी क्यानाडा सम्मको यात्रा

नुवाकोटको बोम्ताङमा जन्मिए पनि उनको शैक्षिक जीवन भने काठ्माण्डौमा वितेको थियो । त्यही स्कुलबाट हो सामाजिक कार्यतर्फ उनलाई जागरुक गराएको । उनले बौद्ध उच्च मा.वि.बाट आफ्नो उच्च शिक्षासम्म अध्ययन गरेकी सुनिताले आफ्नो विश्वविद्यालयको शिक्षा पश्चिमी क्यानाडामा अवस्थित फेयरलेग डिकिन्सन विश्वविद्यालयबाट स्नातक सकेर स्नातककोत्तर शैक्षिक यात्राको तयारीमा छिन् । उनले अन्तराष्ट्रिय व्यवसाय प्रशासन संकायबाट स्नातक अध्ययन पुरा गरेकी छिन् । फ्रान्सेली भाषामा पनि राम्रो दखल राखेकी सुनिता साथीहरुलाई फ्रान्सेली भाषा समेत सिकाउने गर्छिन् ।
नेपाली समाजमा १२ कक्षा अध्ययन पश्चात थप शिक्षाको लागि तेश्रो मुलुकलाई गन्तव्य बनाउने मनोविज्ञानबाट सुनिता पनि अछुतो रहन सकिनन् । उनी आफ्नो १२ कक्षाको अध्ययन पश्चात बैदेशिक शिक्षाको लागी फ्रान्सलाई रोजेकी थिइन् । तर साथी संगत र समय परिस्थितीको कारण उनी क्यानाडालाई गन्तव्य बनाएर आफ्नो उच्च शिक्षा अध्ययन गर्न पश्चिमी गोलाद्र्ध प्रस्थान गरेकी थिइन् । उनी आफ्नो स्नातक अध्ययनको लागी सन २०१९ मा क्यानाडा आएकी थिइन् ।
फरक परिवेश नौलो समाज र फरक भुगोलमा एक्लो भएकी सुनिताले आफ्नो संघर्षका जीवनको सुरु गरिन् । हुन त यो जीवन उनैले रोजेको पनि हो । तर परदेशमा पनि उनले आफ्नो समाज नखोजी बस्न सकिनन् । उनी यसरी नै आफ्नो समाज खोज्ने क्रममा नेपाली क्यानेडियन वमन सोसाइटी अफ विसी भेटिन्, र यही संस्थामा उनी संगठित भइन् । उक्त संस्थामा ३ वर्ष जोदाहा योद्धा जसरी काम गरिन् । विभिन्न पदमा रहेर काम गरिन्, एक कार्यकाल अध्यक्षको रुपमा काम कुशलतापुर्वक जिम्मेवारी पुरा गरिन् । उनले अध्यक्ष रहँदा संस्थालाई एउटा मजवुत संस्थाको रुपमा स्थापित गरिन् ।
नेपालबाट नै सामाजिक कार्यमा आवद्ध उनी स्कुले जीवनबाट नै सामाजिक विभिन्न कार्यमा आवद्धता जनाउँदै आएकी थिइन् । उनी स्कुल पढ्दा नै ट्राफिक प्रहरीसँग सहकार्य गर्दै विद्यालयको तर्फबाट विभिन्न कार्यमा सहभागी हुने गर्थिन् । यति मात्र नभएर अव्यवस्थित कुकुरहरुलाई व्यवस्थापन देखि लिएर सडकमा बेवारिसे अवस्थामा रहेको जनावरलाई खाना व्यवस्थापन गर्ने कार्य गर्दा देखि नै उनको मन सामाजिक कार्यमा गढेको थियो ।
यस्तै विद्यालयको विभिन्न सामाजिक कार्यसँगको सामिप्यताले यो क्षेत्रसँग छुट्टै लगाव पर्न थालेको उनले बताईन् । उनी कक्षा १० अध्ययनरत रहदा फ्रान्सेली २ नागरिकसँग भेट भएको थियो । उनीहरु विद्यालयमा शैक्षिक सामग्री सहयोग गर्न आएको समयमा उनीहरुलाई सुनिताले सहजीकरण गरेकी थिइन् । यो उनको लागी सामाजिक कार्यको लागी एउटा गोरेटो भेटे जस्तै भयो । त्यही समयमा उनीहरुले सुनिताको यो सहजीकरणबाट आकर्षित भई उनलाई नेपाली छोरी बनाएका थिए ।

जीवन यात्रामा विभिन्न मोडहरु आउँछन्, ती मोडहरु कुनै मीठा त कुनै तिता हुन्छन् । उनको लागी यो मोड निक्कै उपयोगी बन्न पुग्यो । हो, यही समयबाट सुनिताले उनीहको सहयोगमा आफ्नो माध्यामिक शिक्षाको अध्ययन र आलियन्स फ्रान्सेस काठमाण्डौमा ३ वर्ष फ्रान्सेली भाषा अध्ययन गरिन् । यो उनको जीवनमा धेरै ठुलो सहयोग थियो ।
उनीहरुकै सहयोगमा सुनिताले दया नेपाल संस्था स्थापना गरिन् । २०७२ सालमा उनी एसएलसी सकेर छुट्टी मनाउन फ्रान्स जाने तयारीमा थिइन् । उनको फ्रान्सेली बुवा आमा पनि उनलाई फ्रान्स बोलाउन तयार थिए । तर ७२ सालको विनासकारी महाभुकम्पले उनको यात्रा अन्तै मोडियो । भुकम्पले उनको फ्रान्स यात्रा स्थगित गरायो । विदेश यात्राको लागि उत्साहित भएकी उनी भुकम्पपछि भने उनी आफ्नो जन्म गाउँ नुवाकोट बुम्ताङ पुगिन् ।
गाउँमा आफ्नो बाजेले स्थापना गरेको स्कुलमा ठुलो क्षती पुगेको थियो । आफ्नो बाजेले स्थापना गरेको विद्यालयको अवस्था देखेर उनी असाध्यै दुःखी भइन्, र फ्रान्सको यात्रालाई थाँती राखेर विद्यालय पुननिर्माण गर्ने संकल्प गरिन् ।
गाउँको शैक्षिक अवस्थालाई जुरुक्कै बोकेर उभिएको उक्त विद्यालयको क्षतीले त्यो गाउँको शैक्षिक अवस्था फेरि नेपथ्यमा पुगेको थियो । यही विद्यालयले हो, गाउँको बालबालिकालाई करिब २ घण्टाको पैदल यात्राको कठिन परिस्थितीको अन्त्य गरेको । तर भुकम्पले यो विद्यालयमा क्षती पुर्याएपछि भने त्यस स्थानका बालबालिकाहरुको शैक्षिक जीवनले कठिन यात्रा गर्नुपर्ने थियो ।
बाजेले दुःखले स्थापना भएको विद्यालय पुननिर्माणको लागी फ्रान्सबाट सहयोग हुने भएपछि सहयोग माध्यमको लागी उनले दया नेपाल संस्था स्थापना गरिन् । विद्यालयको भौतिक संरचनाको लागी त्यो उनको संकल्पले भने पुर्णता पाउने भयो । दया नेपाल संस्थामार्फत फ्रान्सबाट सहयोग जुटाएर बाजेको विरासतलाई उनले पुनः उभ्याइन । यो सफलताबाट उनले आफ्नो कार्यप्रति गर्व लागेको बताउँछिन्।
यो कार्यबाट मात्र उनी सन्तुष्ट नबनेपछि उनले सोही संस्थामार्फत महिला शिक्षालाई अझ वृहत्तर बनाउने उद्देश्यले काठमाण्डौ लगायत विभिन्न गाउँहरुमा हालसम्म करिब १०० को हाराहारीमा बालबालिकाहरु शैक्षिक सेवाबाट लाभान्वित छन् । यो सँगै हरेक वर्ष २५ सय भन्दा बढी विद्यार्थी लाभान्वित हुने गरि शैक्षिक सामाग्री यो संस्थाले वितरण गर्ने गरेको छ । यो संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत पर्दछ, सोही कार्यक्रमको लागी हरेक वर्ष फ्रान्सबाट ८ देखी १० जना प्रतिनिधी आउने गरेका छन् । यो वर्ष पनि सोही कार्यको लागी फ्रान्सेली नागारिक सहित उनी नेपाल जाँदैछिन ।
नेपालमा रहँदाको यही कार्यहरुले हो, उनलाई समाजमा अम्बल बनाएको । यसैको लय समाएर हो उनले क्यानाडामा पनि संघसंस्थामा आवद्धता जनाएकी । उनले क्यानाडामा क्यानपाल, एनसिएसविसी, क्यानफ्याक्स, हिन्दु बुद्धिस्ट फाउण्डेशनका साथै अन्य अन्तर्राष्ट्रिय संघसंस्थामा आवद्ध भइन् ।
सांस्कृतिक कार्यमा पनि अब्बल
नेपाली क्यानेडियन वमन सोसाइटी मार्फत विभिन्न सांस्कृतिक कार्यक्रम गरिरहेकी सुनिताले आफ्नो समुदायको नयाँ वर्षमा मनाइने ल्होछार पनि आफ्नो पहलकदमीमा सन् २०२४ बाट आयोजना सुरुवात गरिन् । यो वर्ष ल्होछार तेश्रो संस्करण सम्पन्न गरिसकेकी छिन् । सामान्य विषय माथिको वहसमा ४ जनाको संकल्पले हो ल्होछार आयोजना गर्न सम्भव भएको ।

हरेक वर्षको ल्होछार कार्यक्रममा उनले आफ्नो संस्कृतिलाई प्रस्तुत गर्दै आएको बताइन् । पहिलो वर्ष सामान्य तामाङ संस्कृतिलाई परिचित गराएका थिए भने दोश्रो वर्षको ल्होछारमा तामाङ संस्कृतिलाई भौतिक रुपमा प्रस्तुत गरिएको थियो । यो वर्ष भने उनले क्यानाडा मै जन्मिएर हुर्किएका दोश्रो पुस्ताका तामाङहरुलाई आफ्नो संस्कृति पुस्तान्तरणलाई विशेष महत्व दिइएको बताइन् । यो वर्षको ल्होछारमा तामाङ संस्कृती अनुसार गरिने मगनीको प्रक्रियालाई नाटक मार्फत प्रस्तुत गरिएको थियो । यो हरेक वर्ष चरणबद्ध ढंगले प्रस्तुत गर्दै लाने उनको योजना छ । गत साल साइनो सोल्टी र सोल्टेनी पर्ने च्याङ्बा र मैच्याङ जुहारी खेलेको र भेटघाटमा माया प्रिति साटेको देखाइएको थियो ।
तामाङ समुदायको सबै भन्दा ठुलो चाडको रुपमा ल्होछार मनाइन्छ । क्यानाडामा विशेष गरेर पश्चिमी क्यानाडामा यो किसिमको सांस्कृतिक चाड मनाउन जनसहभागीता नरहने चुनौतीको बाबजुद सुनीताको अगुवाइमा भएको ४ जनाको संकल्पले पहिलो ल्होछार सम्पन्न भयो । यो ल्होछार आयोजना भइसकेपछि भ्यानकुभर अर्थात बृटिश कोलम्बियामा भएका तामाङ समुदायहरुमा ल्होछार मनाउने परम्पराको विकाश भएको हो ।
तामाङ संस्कृतिमा राम्रै झुकाब राख्ने सुुनिता सांस्कृतिक चेत पुस्तान्तरण गर्नुपर्छ भन्ने मान्यता राख्दै हरेक ल्होछारमा आफ्नो संस्कृतिलाई विशेष प्रस्तुत गर्दै आएको छ । तामाङ संस्कृति अनुसार सामाजिक परम्परामा गरिने संस्कारलाई विशेष महत्वका साथ प्रस्तुत गर्दै आएको छ । विशेष गरेर क्यानाडामै जन्मिएर हुर्किदै गरेका तामाङ समुदायको पछिल्लो पुस्तालाई आफ्नो संस्कृतिलाई सिकाउने मुल उद्देश्यले ल्होछारमा सांस्कृतिक परम्परा देखाउँदै आएका छन ।
स्वदेश फर्किने हुटहुटी
विदेशमा बसोबास गरिसकेपछि कमै नेपालीले देश फर्किने संकल्प गर्दछन् । यस्तै सुनितामा पनि देश फर्कने हुटहुटी र देशमा केही गर्ने संकल्प पनि देखिन्छ । उनले नेपाल फर्किएर पर्यटन र पर्यावरण क्षेत्रलाई व्यवसायिकरण गर्दै देशको आर्थिक विकासमा टेवा पुर्याउने संकल्प गरेकी छन् । उनी आफ्नो जन्मथलोमा नयाँ पर्यटनको गन्तव्यको पहिचान गरि उक्त क्षेत्रमा पर्यटन व्यवसायलाई अगाडी बढाउने सोच भएको बताउछिन् ।
प्रकृति र संस्कृतिलाई पर्यटनसँग जोडेर नेपालको परम्परागत संस्कृति र नेपालको प्रकृतिको वृहत्तर प्रवद्र्धन नै नेपालको प्रमुख आर्थिक आधारशिला खडा गर्नुपर्ने उनको मान्यता छ । तर उनले क्यानाडालाई स्थायीरुपमा छोडेर भने नजाने बताउँछिन् । उनी अहिले पनि पारिवारिक व्यवसायमा उत्पादित ल्हा ला ग्रीन टि नेपालबाट क्यानाडा ल्याएर बजार परिक्षण गर्दैछिन् ।
उनी व्यवसायसँगै आफ्नो समाज सेवालाई पनि निरन्तर चलाइरहने बताउँछिन । उनी आफ्नो परिवारसँग टाढिएर बसेको बर्षौ भएको र आफु अव व्यवसाय गर्दै परिवारसँग बस्ने सोचमा रहेकी छिन् । जेन्जि पुस्ताले यो तहको सोचाइ सायदैले मात्र राख्छ, जुन सोचाई सुनितामा पाइन्छ र सबैले भन्छ जेन्जि पुस्ताका जेनुएन मान्छे वाह सुनिता !







