धरान: फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सुनसरी क्षेत्र नम्बर १ मा आफ्ना उमेदवार टिकाराम लिम्बूलाई विजयी गराउन नेकपा (एमाले) ले प्रचार रणनीति बनाएको जनाएको छ । 

सोमबार साँझ प्रचार कमिटीको पहिलो बैठक बसेर कमिटीलाई विस्तार गर्नुका साथै प्रचार रणनीति तयार गरेको नेकपा एमालेले जनाएको हो । तर ती रणनीतिहरु कस्ता छन् भनेर सार्वजनिक भने गरिएको छैन । 

बैठकमा निर्वाचन परिचालन कमिटीका हाइकमाण्ड सदस्य तथा प्रचार तथा प्रकाशन समितिका संयोजक भीमज्वाला राईले फागुन २१ गतेसम्मको कामको सूचि (क्यालेण्डर) नै तयार पारेर सोही अनुसार प्रचारको कामलाई व्यवस्थित गर्ने  गरी रणनीतिक योजना बैठकमा प्रस्तुत गरेको जानकारी दिए । 

बैठकपछि प्रतिकृया दिँदै प्रचार संयोजक राईले भने, 'रणनीति के के रहेको छ भनेर अहिले बताउन मिल्दैन, क्रमशः परिणाममा देखिदै जानेछ ।' उनले आफुहरुको योजनाले एमालेका उमेद्वार टिकाराम लिम्बूको जित सुनिश्चित गर्ने पनि बताए । बैठकमा उमेदवार टिकाराम लिम्बू पनि सहभागी थिए । 

बैठकमा नेकपा (एमाले) केन्द्रीय सदस्य तथा निर्वाचन परिचालन कमिटीका संयोजक मन्जु भण्डारी, कमिटीका हाइकमाण्ड तथा कोशी प्रदेशसभा सदस्यहरु विजयकुमार राई र रमेश बस्नेत लगायतका सहभागी रहेका थिए । प्रचार कमिटीको नाम र सचिवालयसमेत गोप्य राखिएको राईले बताए ।