इटहरी: नेपाली सेनाको गौरवशाली इतिहास, वर्तमान कार्यक्षमता र राष्ट्रिय सेवाका विविध आयामहरूलाई जनमानसमा पुर्‍याउने उद्देश्यले सुनसरीको इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टरमा आगामी फागुन ४ र ५ गते दुई दिने वृहत् फोटो तथा सैन्य सामग्री प्रदर्शनी आयोजना हुने भएको छ। 

प्रदर्शनी कार्यक्रममा नेपाली सेनाले प्रयोग गर्दै आएका अत्याधुनिक हातहतियार, सञ्चार उपकरण, विपद् व्यवस्थापनका सामग्री र ऐतिहासिक तस्बिरहरूलाई प्रदर्शन गरिने पुर्वी पृतना हेडक्वार्टरले जानकारी दिएको छ । सर्वसाधारण, विद्यार्थी, सरकारी कर्मचारी तथा सञ्चारकर्मीहरूलाई सेनाको कार्य र योगदानबारे जानकारी दिन सेनाले यो प्रदर्शनी आयोजना गर्न लागेको हो ।

प्रदर्शनीका मुख्य आकर्षणहरूमा नेपाली सेनाले विभिन्न कालखण्डमा प्रदर्शन गरेको सौर्य झल्काउने तस्बिरहरू, कठिन भूगोलमा गरिने उद्धार कार्यका झलकहरू र शान्ति स्थापनाका लागि संयुक्त राष्ट्रसङ्घीय मिसनहरूमा खेल्दै आएको भूमिका समेटिएका सामग्रीहरू रहने पनि पृतना हेडक्वार्टरले जानकारी दिएको छ । 

भविष्यमा सैन्य सेवामा प्रवेश गर्न चाहने विद्यार्थी वर्गका लागि यो प्रदर्शनी कार्यक्रममा भर्ना छनोट प्रक्रिया र आवश्यक योग्यतासम्बन्धी विशेष जानकारी कक्ष समेत सञ्चालन गरिने जनसम्पर्क तथा सूचना अधिकृत सह सेनानी सुस्मा सुब्बाले जानकारी दिइन् । फागुन ४ र ५ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चल्ने यस प्रदर्शनीले नागरिक र सेनाबिचको सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने अपेक्षा गरिएको पनि उनले बताइन् । 

पूर्वी पृतना हेडक्वार्टरले यस महत्त्वपूर्ण अवसरको अवलोकन गरी लाभ उठाउन सबै सरोकारवाला र इच्छुक सर्वसाधारणहरूमा निमन्त्रणा समेत गरेको सुब्बाले जानकारी दिइन् ।